स्थानीय तहमा न्यायपालिका, कसरी छिन्छन् गाउँले न्यायाधीशले मुद्दा ?

321

पञ्चकन्या गाउँपालिका, नुवाकोट –
एकातिर नेपाली कङ्ग्रेसका स्थानीय कार्यकर्ता । अर्कोतिर माओवादी केन्द्रका कार्यकर्ता । बीचमा पञ्चकन्या गाउँपालिकाकी उपप्रमुख सीता खड्का । दुवै एकअर्कालाई हात ठड्याएर आरोप लगाइरहेका । आरोप÷प्रत्यारोपबीच सीता भने सहजीकरण गरिरहेकी ।

माघे सङ्क्रान्तिका अवसरमा नुवाकोटका विभिन्न ठाउँमा गोरु जुधाएर रमाइलो गरिने प्रचलन छ । यसै क्रममा पञ्चकन्या गापाको घले गाउँमा पनि गोरु जुधाउने कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि बोलाइएका थिए स्थानीय कङ्ग्रेस नेता । तर माओवादीले भने गाउँपालिकाका अध्यक्ष बोलाउनुपर्ने माग गरेका थिए । कार्यक्रम भएकै वडाका माओवादी अध्यक्षलाई नबोलाइएपछि कङ्ग्रेस र माओवादीबीच बढ्दै गएको विवाद झडपसम्म पुगेको थियो । यही विवाद गाउँपालिका प्रवेश गरेपछि मिलाउने भूमिका निर्वाह गर्दै थिइन् सीता ।

कानुनले स्थानीय तहका उपप्रमुखलाई न्यायिक समितिको संयोजन गर्ने अधिकार दिएको छ । जसअन्तर्गत उनी यो झगडा मिलाउन मध्यस्थता गरिरहेकी थिइन् । यो तेस्रो पटकको बसाइ थियो यही विवादअन्तर्गतको । दुईपटकको बसाइमा पनि समाधान हुन नसकेपछि यो दिनचाहिँ निर्णय नै गर्नुपर्ला भन्ने लागेको थियो उनलाई । त्यसैले आरोप÷प्रत्यारोप चलिरहेकै बेला उनले भनिन्– तपाईँहरू आज पनि मिल्नु हुन्न भने यो मुद्दा माथिल्लो निकायमा पठाउँछु जहाँ तपाईँहरूले धेरै झन्झट बेहोर्नुपर्नेछ ।

माथिल्लो निकायमा जाँदा झेल्नुपर्ने झन्झट, लाग्ने समय, हुने खर्च आदि सबै बताइदिइन् उनले । र सुझाइन् कि आयोजक अर्थात कङ्ग्रेस कार्यकर्ताले आइन्दा यस्तो गल्ती नगर्ने भन्दै माफी मागेर कागज गर्ने अनि माओवादी पक्षले यसलाई स्वीकार्दै चूप लाग्नु नै सबैभन्दा राम्रो निर्णय हुन सक्छ । नभन्दै यसमा सबै सहमत भए र तेस्रो पटकमा विवाद सुल्झ्यो ।
यो त पछिल्लो घटनामात्र हो उनले मिलाएको । यसअघि पनि भद्रुटारमा पानीको विषयमा विवाद आयो । आफ्नो धान खेत सुक्छ भनेर मुहान नजिकका बासिन्दाले पिउने पानी लैजान दिएनन् । गाउँपालिका भित्रिएको यो विवादमा सीताले निर्णय दिइन् कि मुहानको पानी पिउने, सिँचाइका लागि खोलाको पानी प्रयोग गर्ने । दुवै पक्ष सहमत भएपछि विवाद टुङ्गियो ।
भद्रुटारकै अर्को विवाद पनि आइपुग्यो सीताको टेबुलमा । विवाद थियो– एउटा आफ्नो घर बनाउने क्रममा सामान लैजान जसरी पनि बाटो लैजान्छु भन्ने अर्कोचाहिँ मेरो जग्गाबाट मरिगए बाटै दिन्न भन्ने । अन्तिममा अर्काको निजी जग्गाबाट गाडीवाला बाटो लैजान नमिल्ने तर सनिसर्पन फुकाउन गोरेटोचाहिँ छाडिदिनुपर्ने निर्णय सुनाएपछि बाटो लैजान पाउँ भनेर निवेदन दिन तिबहादुर तिवारी र जग्गावाला दुवै सहमत भए । ७ वटा विवाद त अझै छलफलकै क्रममा छन् जसलाई पनि चाँडै टुङ्ग्याउने सोचमा छिन् ।

हुन त उनको न्यायिक समितिका अन्य दुई सदस्य पनि उत्तिकै तगडा छन् । आफू कङ्ग्रेसबाट जितेको भए पनि उनले काम गर्न सहज होस् भनेर एकजना एमाले र एकजना माओवादी वडाध्यक्ष छानेकी छिन् । जबकि उनले जसलाई पनि राख्न सक्थिन् । माओवादीबाट राखिएका रामबाबु पराजुली वकिल नै हुन् भने एमालेबाट राखिएका ध्रुव मिश्र पशु प्राविधिक अर्थात गाउँलेसँग भिजेका । यी दुवैको दमदार सक्रियताले पनि आफूलाई यस्ता मुद्दा÷मामिला छिनोफानो गर्न निकै सघाउ पुगेको सीताको भनाइ छ ।

आफूलाई गाउँपालिकामा स्थानीय न्यायाधीशको भूमिका निर्वाह गर्न सक्ने बनाउनमात्र हैन, गाउँपालिका उपप्रमुखमै जिताउन पनि यसअघि कार्यरत सामाजिक परिचालिकाको मुख्य भूमिका रहेको बताउन भुल्दिनन् उनी । ककनी सामुदायिक विकास केन्द्रकी सामाजिक परिचालिकाका रूपमा कार्यरत उनी चुनावमा उठ्ने निश्चित भएपछिमात्र त्यसबाट अलग भएकी थिइन् । यो भूमिकामा रहेर उनले गाउँ–गाउँ, घर–घर पु¥याएको सेवा नै जित्ने प्रमुख आधार बनेको प्रमाण यसरी दिन्छिन्– भोट माग्न साविकको थप्रेक गाविस–९ गएकी थिएँ । मीनकुमारी पण्डित बूढीआमैले अङ्गालै मारेर ‘हामीलाई बाख्रा पालनमा सहयोग पु¥याउने नानीलाई भोट नदिएर हुन्थ्यो’ भनेर आशीर्वादसमेत दिइन् ।

यही संस्थामा कार्यरत रहँदा भूकम्पपीडित परिवारलाई राहतदेखि आवास निर्माणमा समेत सहजीकरण गरेको, सरसफाइ अभिमुखीकरणमा सघाएको, शौचालय बनाउन मद्दत गरेको, विपद्सम्बन्धी चेतना र सामग्री दिलाएको, नगदका लागि काममार्फत सिँचाइ, बाटोघाटो निर्माणमा सरिक भएको जस्ता धेरै कारण छन् जसले उनलाई उपप्रमुख बनाउन सघाए । उनले थपिन्– भद्रुटारको भेडाबारी स्कुललाई कसरी राम्रो बनाउने भन्नेबारे छलफलमा गएकी थिएँ । कार्यक्रम सकिएपछि एक वृद्ध आमाले ‘नचिनी भोट दिइयो, आज चिन्ने अवसर पाइयो, आज मेरै घरमा बस्नैपर्छ’ भनेर छाड्दै छाडिनन् । निकै माया र श्रद्धा गरिन् उनले ।

सामाजिक परिचालिकाको भूमिकाले उपप्रमुख बन्न सघायो भने त्यसपछिको काम गराइमा चाहिँ उनी काम गर्ने संस्थाको साझेदार अक्सफामले दिएको तालिमले सघायो रे उनलाई । समुदायका मानिससँग बोल्ने शैली, समस्यालाई प्राथमिकता दिनुपर्ने, द्वन्द्व समाधानको तरिका, मध्यस्थकर्ताका रूपमा अपनाउनुपर्ने सावधानी र सेवाग्राहीलाई दिनुपर्ने महत्व जानेकै कारण आज आफूलाई न्याय सम्पादन गर्न सहजता मिलेको उनको भनाइ छ ।

शिक्षा विषयमा स्नातक गरेकी यी २७ वर्षीया सीता अहिले आफ्नो यही बुझाइ, परिपक्वता र सक्रियताकै कारण कङ्ग्रेसबाट जिते पनि सबै दलका लागि रुचिकर बनेकी छिन् । उनले अन्य सदस्यको सहयोगमा गर्ने विवाद समाधानको शैली र हक्कीपनकै कारण उनलाई ‘गाउँले न्यायाधीश’ उपमासमेत मिलेको छ अहिले । जसबाट आफू खुसी नै रहेको प्रतिक्रिया छ उनको पनि ।merosarkar.com