स्वास्थ्य बीमा दाबी रियल टाइम प्रणालीबाटै गर्न बोर्डको निर्देशन

5

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतका दाबीहरू पुनरावलोकन समितिमार्फत प्रक्रिया अघि बढाउन सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।

बोर्डका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. पवनकुमार साहले सेवा प्रदायक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै दाबी माग गर्दा अनिवार्य रूपमा रियल टाइम प्रणालीमार्फत विवरण प्रविष्ट गर्न निर्देशन दिनुभएको हो ।

स्वास्थ्य बीमामा रियल टाइम दाबी गर्ने सम्बन्धी कार्यविधि, २०८० अनुसार दाबी तथा मूल्याङ्कन प्रक्रियालाई थप सहज बनाउने र सेवा प्रदायक स्वास्थ्य संस्थाबाट आउने दाबीमध्ये अस्वीकृत दर घटाउने उद्देश्यले बोर्डले स्वास्थ्य संस्थाकै प्रतिनिधि समावेश रहने गरी पुनरावलोकन समिति गठन गरेको जनाएको छ ।

समितिले दाबी उपर प्रारम्भिक पुनरावलोकन तथा रुजु गरेपछि मात्र बोर्डको मापदण्ड बमोजिम आवश्यक कागजातसहित दाबी प्रणालीमा प्रविष्ट गर्न अनुरोध गरिएको छ ।

निर्धारित मापदण्डअनुसार प्राप्त नभएका दाबीको भुक्तानी गर्न स्वास्थ्य बीमा बोर्ड बाध्य नहुने कुरा बोर्डले पत्रमार्फत स्पष्ट पारेको छ ।