यो परिवर्तन स्वाभाविक आत्मस्वीकारोक्ति हो? कि चुनावी अवसरका लागि अपनाइएको रणनीति मात्र? प्रश्न गम्भीर छ। समुदायभित्र चासो गहिरो छ।
फागुन २१ को चुनावी माहोलमा भूमिकाको असलियत सतहमा आएको टिप्पणी भइरहेको छ। व्यक्तिगत स्वार्थअनुसार छिनछिनमा पहिचान फेर्ने प्रवृत्ति उजागर भएको आरोप छ। कहिले महिला पहिचान। कहिले तेस्रोलिंगी पहिचान। परिस्थिति अनुसार फरक दाबी।
संविधान सभा सदस्य एवं लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अधिकारकर्मी सुनिल बाबु पन्तले सामाजिक सञ्जालमार्फत स्पष्ट टिप्पणी गरेका छन्।
उनले लेखेका छन्-नेताहरूले आफ्नो धार्मिक पहिचान ‘भोट बैङ्क’ अनुकूल बनाएको त देखिएकै हो। हिजो “हामीलाई महिला मानेन”, “हामीलाई तेस्रोलिङ्गी भन्यो”, “हाम्रो असली पहिचान ‘महिला’ बन्न दिएन” भनेर ट्रान्सफोबिकको आरोप लगाउनेहरू आज चुनावी प्रचारमा “हामी तेस्रोलिङ्गीनै हौँ” भनेर उभिएका छन्।
पत्रकारहरूले “तेस्रोलिङ्गी” शब्द प्रयोग गर्दा हुर्मत लिनेहरू नै अहिले सोही शब्दलाई चुनावी नारामा बदलिरहेका छन्।
पन्तका अनुसार यदि यो आत्मबोध हो भने स्वागतयोग्य छ। ढिलै भए पनि आफ्नो पहिचानप्रतिको इमानदार स्वीकृति सकारात्मक कदम हो। आफ्नो सत्य स्वीकार गर्नु नै परिवर्तनको सुरुआत हो।
समाज परिवर्तनशील छ। आन्दोलन पनि परिवर्तनशील छ। तर आत्मस्वीकृतिबाट सुरु हुनुपर्छ। तर यदि यो केवल चुनावी स्टन्ट हो भने अवस्था गम्भीर छ। त्यो समुदायप्रति आपत्तिजनक हुन्छ।
पहिचान कुनै रणनीतिक नारा होइन। पहिचान कुनै चुनावी कार्ड होइन। यो जीवनको अनुभव हो। सङ्घर्षको इतिहास हो। आँसु र राजनीतिक लडाइँबाट बनेको उपलब्धि हो।
पन्तले फेसबुकमा लेखेका छन्-पहिचानलाई स्वार्थअनुसार अस्वीकार गर्ने। फाइदा देखिए मात्र स्वीकार गर्ने। चुनावी लाभका लागि प्रयोग गर्ने। यस्तो प्रवृत्तिले समुदायलाई पुनः भ्रममा पार्छ। कमजोर बनाउँछ।
तथापि, बहसका बीच अर्को महत्त्वपूर्ण सत्य पनि छ। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरू चुनावमा उठ्नु आफैँमा ऐतिहासिक कदम हो।
प्रत्यक्ष होस् वा समानुपातिक-राजनीतिक सहभागिता नै नीतिगत परिवर्तनको आधार हो।
पन्तले लेखेका छन्-जुनसुकै दलबाट किन नहोस्, समुदायबाट उम्मेदवार बन्ने सबैलाई शुभकामना। तर सही पहिचानसहित उभिनुहोस्।
स्पष्ट राजनीतिक दृष्टिकोणसहित अघि बढ्नुहोस्। समुदायप्रतिको उत्तरदायित्व नबिर्सनुहोस्।
क्षणिक रणनीति होइन। दीर्घकालीन प्रतिबद्धता बनाऔँ। राजनीतिलाई अवसर होइन—रूपान्तरणको माध्यम बनाऔँ।
पन्तले फेसबुकमा लेखेको स्ट्याटस :
यो चुनावले धेरै असलियतहरू सतहमा ल्याएको छ।









































