होटल स्क्वायरको स्विमिङ पुलमा भएको घटना पाँच महिनापछि होटल सञ्चालक पक्राउ

एक जना अझै फरार

36

काठमाडौं । पुल्चोकस्थित स्क्वायर होटलका सञ्चालक पक्राउ परेका छन् । पाँच महिनाअघि ललितपुर मिनभवनका सजिलमान शाक्यको होटलको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा पानीमा करेन्ट प्रवाह भएको घटनाको पाँच महिनापछि प्रहरीले जाहेरी लिएको थियो ।

प्रहरीले सो घटनाको विषयमा जाहेरी लिएसँगै आइतबार होटलका सञ्चालक ललिता देवकोटा भण्डारीलाई पक्राउ गरेको ललितपुरको प्रहरी प्रमुख शेखर खनालले जानकारी दिए ।

१५ भदौमा सो होटलको स्विमिङ पुलमा पौडी खेलिरहेका बेला करेन्ट लागेर ललितपुरका साजिलमान शाक्य गम्भीर घाइते भएका थिए । त्यसयता उनी कोमामा रहेका छन् । उनकी पत्नी रजिना मानन्धरले होटल सञ्चालकलाई कारबाहीको माग गर्दै आए पनि प्रहरीले लामो समय जाहेरी लिन मानेको थिएन । ललितपुर प्रहरी प्रमुख परिसरमा सो घटनाको जाहेरी दर्ता भएको थियो । पीडित मानन्धरले मुलुकी अपराध संहिता, २०७४ को दफो १७८ को उपदफा (१) र (२) र दफा १७७ अनुसारको कसुरअनुसार सजाय माग गरेकी छन् ।

सरकारी वकिलको कार्यालयमार्फत् २९ पुस २९ गते जाहेरी दर्ता भएसँगै अभियुक्तलाई पक्राउ गरेको हो । अर्की होटल सञ्चालक रोमी अर्याल भने फरार रहेकी छन् । उनीविरुद्ध प्रहरीले पक्राउ अनुमति लिइसकेको छ । रोमी र ललिता सासु बुहारी हुन् ।