इनरुवा । सुनसरी प्रहरीले पर्वको नाम संस्कृति नबिगार्न तथा सम्भ माहोलमा होली मनाउन सर्वसाधारण लाई आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले होली पर्वमा अप्रिय तथा अमर्यादित गतिविधि रोक्न जिल्लाभर विशेष सुरक्षा योजना लागु गर्ने जनाएको छ । सदरमुकाम इनरुवामा सोमबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले शान्तिपूर्ण वातावरणमा होली मनाउन सर्वसाधारण लाई आग्रह गरेका छन् । सुनसरी प्रहरीले होलीमा अमर्यादित गतिविधि गर्ने, जबरजस्ती रङ दल्ने, मापसे गरेर मोटरसाइकल कुदाउने, तथा होहल्ला गरी शान्ति सुरक्षामा खलल पुर्याउने जो कोहि लाई समेत कार्वाही गरिने जनाएको छ ।
होलीमा विकृति रोक्न सुनसरी प्रहरीले विशेष अप्रेसन चलाइने जनाएको छ । गाँजा, भाङ तथा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, मापसे गरी सवारी चलाउने, हेलमेट लगायत आवश्यक कागजात नबोक्ने सवारी चालकदेखि शंकास्पद गतिविधी गर्ने र जबरजस्ती अबिर तथा रङ दल्ने उपर नियन्त्रणमा लिई नियम बमोजिम कार्वाही चलाउने प्रहरी प्रमुख अधिकारीले बताए ।
ट्राफिक सहित जनपथ प्रहरीको चेकपोइन्टका अलावा बजार तथा चोकहरुमा प्रहरीको उपस्थिती बढाइने सुनसरी प्रहरीले जनाएको छ । सम्भावित भीडभाड र झैझगडा हुने स्थानहरुलाई निगरानीमा राखिने प्रहरीले जनाएको छ । सोही शुभकामना आदानप्रदान कार्यक्रममा आफ्ना भनाइ राख्दै इनरुवा नगरपालिकाका मेयर राजन मेहता, कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारी तथा हरिनगर गाउँपालीकाका अध्यक्ष गफार अन्सारीले संस्कृति लाई विकृतिको रूपमा नभई शान्त माहोलमा पर्व मनाउन सबैमा आग्रह गरेका छन् ।
Purbeli TV












































