२० जोडी दृष्टि वीहिन पति पत्निलाई निःशुल्क यौन तथा प्रजनन उपचार सेवा

85

काठमाण्डौ । आफ्ना आन्तरिक रोगबारे अस्पतालमा उपचारको लागि जाँदाँ आँखा नदेख्नेले किन यौन सम्पर्क गर्नुपर्यो ?’ ‘किन बच्चा पाउनु पर्यो?’ भनेर स्वास्थ्यकर्मीका तिखा वचन सहेर रोग गुम्स्याउन वाध्य २० जोडी अल्पदृष्टिवीहिन र पुर्णदृष्टिवीहिन जोडीलाई शनिबार दिनभरी लगाएर निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

साङ्गव्यक्ति सरह शारिरीक तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको पनि सरल र सुलभ रुपमा स्वास्थ्य सेवामा पहुँच मात्रै नभई उनीहरुको पनि यौन तथा प्रजनन अधिकार उत्तिकै हुन्छ भन्ने कुरा धेरै स्वास्थ्यकर्मीलाई थाहा नभएका कारण अपाङ्गता भएका व्यक्तिहरुले अस्पतालहरुमा नमिठो व्यवहार र तिखो वचन सुन्न वाध्य थिए ।

यस्तो अवस्थामा विगत पाँच वर्ष देखि दृष्टि वीहिनका साथै शारिरीक र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको समग्र स्वास्थ्य, यौन तथा प्रजनन अधिकारको बारेमा सेवा र ज्ञान दिँदै आएको नेपाल परिवार नियोजन संघ काठमाण्डौ उपत्यका शाखाले कार्यालय बन्द हुने शनिबारको दिनमा पनि त्यस्ता २० जोडीलाई खोजेर ल्याई निःशुल्क स्वास्थ्य उपचार सेवा दिएको छ ।

दृष्टिवीहिन जोडीलाई स्वास्थ्य संस्थाले नीजिखर्चमा खोजेर ल्याई खाजा पानीको समेत व्यवस्थागर्दै निःशुल्क स्वास्थ्य उपचार सेवा दिएको संभवत्ः यो नै नेपालको पहिलो घटना होला ।

अपाङ्गता मैत्री सेवा केन्द्रको रुपमा रहेको उपत्यका शाखामा यस अघि शारिरीक अपाङ्गता भएका र दृष्टिवीहिनहरु एक्ला एक्लै स्वास्थ्य उपचारको लागि आउने गरेता पनि दृष्टि वीहिन पति पत्निलाई खोजेर ल्याई पहिलोपल्ट संगै उपचार दिईएको हो ।


शाखामा आवद्ध दृष्टि वीहिन साथी शिक्षक मार्फत उपत्यका शाखा कार्यालयमा ल्याएर उनीहरुको समग्र स्वास्थ्य तथा यौन रोग, महिलाहरुको हकमा बाँझोपन, गर्भवती परिक्षण, महिनावारी गडबडी र स्तन तथा पाठेघरको मुखको क्यान्सर लगायतको निःशुल्क परिक्षण गरि आवश्यकता अनुसार उनीहरुलाई प्रयोगशाला सेवा पनि दिइएको शाखाका प्रवन्धक शरद कुमार अर्यालले बताए ।

उनीहरुको निःशुल्क स्वास्थ्य परिक्षण गर्नु अघि विभिन्न रोगबारे प्रशिक्षण दिनुका साथै उनीहरुको समग्र स्वास्थ्यर यौन तथा प्रजनन स्वास्थ्य समस्या बारे छलफल गरिएको थियो ।

पहिलोपल्ट यस प्रकारको सेवा पाएकोमा अल्प दृष्टिवीहिन र पुर्ण दृष्टिवीहिन जोडी दंग देखिएका थिए ।


उपत्यका शाखाका वरिष्ठ मेडिकल अधिकृत डा.कृपा क्षेत्री, वरिष्ठ स्टाफ नर्स द्वय शशिकला पण्डित र सत्या भण्डारीको टोलीले ती २० जोडी दृष्टि वीहिन पति पत्निलाई निःशुल्क स्वास्थ्य सेवा दिएका थिए भने उनीहरुलाई शाखाका साथी शिक्षक द्वय सन्जिया श्रेष्ठ र सुनिता दुवालले खोजेर ल्याउने सहजीकरण गरेका थिए ।

पहिचान गरिएको रोग अनुसार उनीहरुलाई निःशुल्क औषधि पनि वितरण गरिएको शाखा प्रवन्धक अर्यालले बताए । (प्यासी)