‘९० प्रतिशत बलात्कारीलार्ई कारवाही गर्न प्रहरी सफल भएको छ’

272

 

बलराम प्यासी

काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डिआइजि) शैलेश थापाले ‘प्रहरीको जागीर भनेकै गाली खाने जागीर भएको’ गुनासो गर्नुभएको छ ।

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरको आयोजनामा बुधबार नयाँबानेश्वरमा आयोजित समुदाय—प्रहरी साझेदारी अवधारणा अन्तर्गतको प्रशिक्षण र अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै डिआइजि थापाले सो गुनासो गर्नुभएको हो ।

नेपाल प्रहरीमा हालसम्म दर्ता भएका १ हजार ४८० वटा वलात्कार र यौनजन्य अपराधका मुद्धामध्ये १ हजार ३६६ अर्थात ९० प्रतिशतभन्दा बढी दोषिलाई कारवाही गर्न प्रहरी सफल भएता पनि कञ्चनपुरकी निर्मला पन्तकोे एउटा मुद्धामा प्रहरीले विगत ४ महिनादेखि गाली खाइराख्नुपरेको पनि डिआइजि थापाले गुनासो गर्नुभयो ।

यति धेरै संख्याका वलात्कारका दोषिहरुलाई सजाय दिन प्रहरी सफल भयोे भनेर कसैले भन्दैन, तर भेटिन नसकेको आरोपिलाई देखाएर प्रहरीलाई गालीमात्रै आउँछ, उहाँको भनाई थियो । ‘कुनैपनि परिक्षामा भएको भए ९० प्रतिशत भनेको उच्च अंक अर्थात ए प्लस हो ।’ डिआइजि थापाले भन्नुभयो ।

सामुदायीक सेवा केन्द्र तथा सामुदायीक प्रहरी सेवा, वडा नं १०, ३१ र ३२ को संयुक्त सहयोगमा आयोजित सो कार्यक्रममा बोल्दै निर्मला पन्तको मुद्धाका कारण ९० प्रतिशत सफल कामको कतै मुल्यांकन नभई १० प्रतिशतको कारण सिंगो प्रहरी संगठनले गाली खानुपरेको उहाँले दुःखद अनुभूति सुनाउनुभयो ।

‘प्रहरीले गरेका राम्रा कामको प्रशंसा नभई उनीहरुले गरेका सानातिना गल्तीका कारण उनीहरुको मुल्यांकन हुने गरेको छ’—उहाँले दुखेसो पोख्नुभयो । ‘निर्मला पन्तलाई अहिलेसम्म न्याय दिन नसक्दा सिंगो प्रहरी संगठन जति लाचार देखिएको छ, त्यति अरु कोही छैन भन्दै उहाँले ढिलो चाँडो यसको मुद्धा किनारा लाग्ने र अपराधिहरु खोरमा हुने विश्वास व्यक्त गर्नुभयो ।

मौकाको फाइदा उठाउन खोज्ने अपराध प्रवृत्तिका व्यक्तिको गलत मनशायलाई कहिल्यैपनि कार्यान्वयन हुन नदिने गरि प्रहरीले काम गर्दै आएको डिआइजि थापाले बताउनुभयो ।

उहाँले अपहरण र वलात्कारमा पर्नबाट वालवालिका, किशोरी, युवती र महिलाहरुलाई जोगिने र वच्ने उपाय सिकाउँदै विभिन्न जुक्ति लगाएर यी दुवै घटनाबाट बच्न र अरुलाई पनि बचाउन सकिने बताउनुभयो ।

लागुपदार्थ दुव्र्यसन र आत्महत्या उस्तैउस्तै भएको बताउँदै डिआइजि थापाले यसलाई रोकथाम गर्नुपनि प्रहरी र समुदायको बराबरी जिम्मेवारी भएको बताउनुभयो । पछिल्लो समयमा साइबर क्राइमले गर्दा धेरै अपराध बढीरहेको पनि उहाँले गुनासो गर्दै यसबारे विद्याथर््ी आफैं, शिक्षक, विद्यालय र अभिभावक उत्तिकै चनाखो हुनुपर्ने पनि बताउनुभयो ।

कार्यक्रममा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेले पछिल्लो समयमा गृह मन्त्रालयले शुरु गरेको प्रहरी समुदाय कार्यक्रम निकै प्रभावकारी हुँदै गएको बताउनुभयो ।

कार्यक्रमकी सभापति रत्नराज्य मावि मध्य वानेश्वरकी प्रधानाध्यापक डा.गीता खरेल तथा सनसाइन स्कुलका प्रिन्सिपल तेजप्रकाश श्रेष्ठले पनि कार्यक्रमबारे आआफ्नो विचार राख्नुभयो ।

कार्यक्रममा डिआइजि थापा तथा डिएसपि काफ्लेलाई उपहार प्रदान गरि सम्मान गरिएको थियो भने सहभागी विद्यार्थीहरुले वलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको दोषि खोज्न प्रहरी चुकेको विषयमा आआफ्नो विचार र जिज्ञाशा राखेका थिए ।

सो प्रशिक्षण कार्यक्रममा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर अन्तर्गत पर्ने काठमाडौं महानगरपालिकाको वडा नं १०, ३१ र ३२ का विभिन्न विद्यालय, टोल तथा वडा समितिका पदाधिकारी, सामुदायीक प्रहरी तथा शिक्षक र विद्यार्थी गरी करीव ६०० जनाको सहभागिता रहेको थियो ।