एकदर्जन ‘रिटार्यड आमा’ को भोट

363

बलराम प्यासी
काठमाडौं । दोस्रोचरणको निर्वाचनअन्तर्गत विहीबार सम्पन्न ४५ जिल्लाका प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा मलामीदेखि किरीयापुत्रीसम्म, अपांगदेखि दृष्टिवीहिनसम्मले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

यसैवीच उमेर छउञ्जेल एसओएस वालग्राम सानोठिमीका अलगअलग घरका दर्जनौं छोराछोरी हुर्काएर ‘सेवानिवृत्त भएका’ एकदर्जन आमाले पनि आफ्नो मताधिकार प्रयोग गरेका छन् । उनीहरुले वालग्राम नजिकैको आदर्श माद्यमिक विद्यालय (डिएमपिएस) सानोठिमी मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका हुन ।

यसरी आफ्नो मतदाधिकार प्रयोग गरेका सेवानिवृत्त आमाहरुमा पद्मा अधिकारी, दुर्गादेवी भट्टराई, सीमा बस्नेत, विमला आचार्य, चन्दा श्रेष्ठ, सुर्या केसी, नानीछोरी श्रेष्ठ, विन्दु मिश्र, सावित्री सापकोटा, कान्छु रेग्मी र शारदा गुरुंग छन ।

सेवानिवृत्त आमाहरुमात्रै नभई वालग्रामका १६ घरमा हाल कार्यरत रहेका १६ आमा र ८ काकी तथा वालग्राममा हुर्केर समाजमा पुर्नःस्थापित भइसकेका छोराछोरीले मत खसालेको एसओएस वालग्राम सानोठिमीका आयोजना निर्देशक खगेन्द्रकुमार नेपालले बताए ।

निर्देशक नेपालका अनुसार वालग्राममा हुर्केर हाल कोटेश्वरस्थित एसओएस युवाग्राममा बसेका छोराहरु र बुद्धनगरस्थित छात्रावासमा रहेका छोरीहरुले पनि विहीबार सानोठिमी मतदान केन्द्रबाट मतदान गरेका छन ।

सानोठिमी वालग्राममा रहेका १६ वटा घरमा रहेका छोराछोरी हुर्काएर ६० वर्ष पुरा गरेका आमा र काकीहरुलाई वालग्राम हाताभित्रै तीनवटा अलग मदर्स रिटार्यड होम अर्थात सेवानिवृत्त आमाका लागि घरको व्यवस्था गरेको छ । आमाको पदबाट सेवानिवृत्त भएदेखि नै वालग्रामले उनीहरुलाई सम्पुर्ण सुविधा उपलब्ध गराएको छ । उनीहरुलाई बाँचुञ्जेल त्यहाँ बस्ने अधिकार छ ।

वालग्रामको एउटा घरकी एकजना आमाले एकपटकमा (१० कक्षासम्म) १० जना छोराछोरी स्याहार्नु, हुर्काउनु, बढाउनु, पढाउनु र समाजमा पुर्नस्थापनाको लागि योग्य बनाउनुपर्ने जिम्मेवारी हुन्छ ।