अकबरे खुर्सानी खेती विस्तारमा भिरकोट नगरपालिका, १ लाखभन्दा बढी बिरुवा वितरण

1

स्याङ्जा । कृषिमा आत्मनिर्भरता हासिल गर्दै ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउने उद्देश्यसहित भिरकोट नगरपालिकाले अकबरे खुर्सानी खेती प्रवर्द्धन कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरेको छ।

नगरपालिकाले नौ वटै वडामा २६ वटा सामूहिक नर्सरी स्थापना गरी करिब एक लाख चार सय अकबरे खुर्सानीका बिरुवा उत्पादन गरेको छ। उत्पादन गरिएका बिरुवा २७० जना कृषकलाई वितरण गरिएपछि करिब १२५ रोपनी क्षेत्रफलमा अकबरे खुर्सानी खेती विस्तार भएको नगरपालिकाले जनाएको छ।

व्यावसायिक कृषि प्रवर्द्धन गर्ने लक्ष्यसहित सञ्चालन गरिएको कार्यक्रमले स्थानीय किसानमा उत्साह थपेको छ। परम्परागत खेती प्रणालीका कारण उत्पादनशील जमिन बाँझो रहने, जंगली जनावरको समस्या बढ्दै जाने तथा रासायनिक मल र विषादीको अत्यधिक प्रयोग हुने अवस्थालाई न्यूनीकरण गर्न यो अभियान प्रभावकारी बन्ने विश्वास गरिएको छ।

प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्सालका अनुसार कार्यक्रमअन्तर्गत कृषकलाई अभिमुखीकरण, समूह गठन, बीउ खरिद तथा वितरण, प्राविधिक सहजीकरण, रोग तथा किराको व्यवस्थापन, झोलमल तथा जैविक विषादी निर्माणसम्बन्धी तालिम प्रदान गरिएको छ।

त्यसैगरी, हेफर प्रोजेक्ट नेपाल परियोजना अनुगमन तथा समन्वय समितिको निर्णयअनुसार एक रोपनीभन्दा बढी क्षेत्रफलमा अकबरे खुर्सानी खेती गर्ने कृषकलाई मल्चिङ प्लास्टिकसमेत उपलब्ध गराइएको छ।

स्थानीय तह, विकास साझेदार संस्था तथा कृषकबीचको सहकार्यले कृषि क्षेत्रका चुनौतीलाई अवसरमा रूपान्तरण गर्न मद्दत पुग्ने स्थानीयवासीको विश्वास छ। भिरकोट नगरपालिका कार्यपालिका सदस्य तारा प्रसाद अर्यालले बाँझो जमिनको उपयोग, रोजगारी सिर्जना तथा किसानको आयआर्जन वृद्धि गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

नगरपालिकाले आगामी दिनमा पनि व्यावसायिक कृषि उत्पादन बढाउने तथा कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।