भारत र अष्ट्रेलियाबीचको एकदिवसीय क्रिकेट सिरिजको नागपुरमा भएको दोस्रो खेलमा भारत ८ रनले विजयी भएको छ। कप्तान विराट कोहलीको ऐतिहासिक शतकसँगै भारतले जित हासिल गरेको हो।
यो जितसँगै पाँच खेलको सिरिजमा भारत २-०ले अष्ट्रेलियाभन्दा अगाडि बढेको छ। यो खेल भारतका लागि महत्वपूर्ण रह्यो। भारतका कप्तान विराट कोहलीले एकदिवसीयमा ४०औँ शतक प्रहार गरे भने अर्कोतिर अन्तर्राष्ट्रिय वानडे म्याचमा भारतको यो ५००औँ जित पनि हासिल भयो।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले २५० रनको लक्ष्य अष्ट्रेलियसामू प्रस्तुत गरेको थियो। भारतका लागि म्यान अफ द म्याच भएका कप्तान विराट कोहिलीले ११६ रन, विजयशंकरले ४६, शिखर धवन र रवीन्द्र जडेजाले समान २१-२१ रन बनाउनुका अलवा अन्य खेलाडीले राम्रो रन जोड्न सकेनन्।
भारतलाई २५० रनको स्कोरमा रोक्ने क्रममा अष्ट्रेलियाका पेट कमिन्सले चार विकेट लिएका थिए। अष्ट्रेलियाका एडम जम्पाले दुई विकेट लिए भने ग्लेन म्याक्सवेल, नाथन कुल्टर नाइल र नाथन लियोनले समान १-१ विकेट लिएका थिए। अष्ट्रेलियाको कसिलो बलिङसामू एक समय भारत १७१ रनमा ६ विकेट गुमाएको थियो।
भारतले दिएको २५१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाका लागि मार्कस स्टोइनिङ, पीटर ह्यान्सकोम्बले ४८, उसमान ख्वाजाले ३८ र आरोन फिन्चले ३७ रन जोडे। एलेक्स क्रेइले २२ रन जोडे। अष्ट्रेलियालाई अन्तिम ओभरमा जितका लागि ११ रन चाहिएको थियो। तर, अन्तिम ओभरमा अष्ट्रेलियाका ब्याट्सम्यानले तीन रनमात्र जोड्न सके र ४९.३ ओभरमा २४२ रन बनाएर अलआउट भयो।







































