सप्तरी— सप्तरीस्थित कारागार कार्यालयमा क्षमताभन्दा झण्डै तीन गुणा बढी कैदीबन्दी राख्नुपरेपछि आवास, स्वास्थ्य, सरसफाइ तथा दैनिक व्यवस्थापनमा गम्भीर चुनौती उत्पन्न भएको छ। अत्यधिक भीडका कारण कैदीबन्दीहरूले न्यूनतम मानवीय सुविधासमेत सहज रूपमा पाउन नसकेको जनाइएको छ।
कारागार कार्यालय सप्तरीका कारागार प्रशासक (प्रमुख) रूपक मण्डल का अनुसार कारागारको क्षमता महिला १० र पुरुष ११५ गरी जम्मा १२५ जना कैदीबन्दी राख्ने मात्र हो। तर हाल कारागारमा ३४२ पुरुष र २५ महिला गरी कुल ३६७ जना कैदीबन्दी रहेका छन्।
यसअनुसार कारागारमा क्षमताभन्दा २४२ जना बढी कैदीबन्दी राखिएको छ, जसले व्यवस्थापनलाई थप जटिल बनाएको छ।
एक महिनामै २३ नयाँ कैदीबन्दी थपिए
कारागारको तथ्याङ्कअनुसार गत जेठ महिनाको सुरुआतमा ३७० जना कैदीबन्दी रहेका थिए। जेठ महिनाभर २३ जना नयाँ कैदीबन्दी थपिएका थिए भने २७ जना रिहा भएका छन्।
चालु असार महिनाको विवरणअनुसार स्वदेशी कैदीतर्फ पुरुष २०५ र महिला ७ जना तथा बन्दीतर्फ पुरुष १२५ र महिला १७ जना गरी कुल ३५४ जना रहेका छन्।
त्यसैगरी विदेशी कैदीबन्दीतर्फ चार पुरुष कैदी र छ बन्दी गरी १० जना रहेका छन्। कारागारमा आश्रितका रूपमा दुई बालक र एक बालिका समेत रहेका छन्।
गम्भीर प्रकृतिका मुद्दाका कैदीबन्दी बढी
कारागारमा रहेका अधिकांश कैदीबन्दी कर्तव्य ज्यान, जबरजस्ती करणी, लागुऔषध, चोरी, सवारी ज्यान तथा अन्य फौजदारी मुद्दा सम्बन्धी सजाय भोगिरहेका वा पुर्पक्षका लागि थुनामा रहेका व्यक्तिहरू हुन्।
आवास र सरसफाइमा बढ्दो दबाब
कारागार ब्लक ‘ए’ का मुख्य नायक कामेश्वर यादव का अनुसार क्षमताभन्दा अत्यधिक कैदीबन्दी भएपछि उनीहरूको बसोबास, स्वास्थ्य सेवा, सरसफाइ तथा दैनिक व्यवस्थापनमा ठूलो दबाब परेको छ।
“कैदीबन्दीको सङ्ख्या निरन्तर बढ्दै जाँदा पर्याप्त सुत्ने ठाउँ, सरसफाइ तथा आधारभूत सुविधा व्यवस्थापन गर्न कठिन भइरहेको छ,” यादवले बताउनुभयो।
कारागार प्रशासनले बढ्दो चाप व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ। मानव अधिकार तथा कारागार सुधारसँग सम्बन्धित सरोकारवालाहरूले पनि कैदीबन्दीको चाप घटाउने दीर्घकालीन उपाय आवश्यक रहेको बताएका छन्।








































