काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिका-युरोप र चीनबीच शितयुद्धको गम्भीर अवस्था आएको बताएका छन।
प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै नयाँ शक्ति नेपालका संयोजकसमेत रहेका डा. भट्टराईले युरोप-अमेरिका र चीनबीच शितयुद्धको गम्भीर अवस्था रहेको बताए। उनले चीनको छिमेकी रहेको नेपालले यो अवस्थालाई नेपालले गम्भीर रूपमा लिनुपर्ने बताए।
गत असोज र भदौमा युरोप तथा अमेरिकाको अध्ययन भ्रमणमा गएका डा. भट्टराईले नेपालले विदेश नीतिमा सचेत भएर अगाडि बढ्नुपर्ने बताए।
चीनको उदयले पश्चिमा राष्ट्र तर्सिएको डा. भट्टराईको भनाइ थियो। ‘अमेरिका र युरोपबाट हेर्दा अमेरिका-युरोप र चीनको बीचमा शितयुद्ध पुतपुताउँदै गएको गम्भीर ढंगले देखिन्छ’, डा. भट्टराईले भने, ‘राज्य पक्षले के भन्छ भन्ने होइन। त्यहाँका नीति निर्माता र चिन्तकहरूसँग छलफल गर्दा चीनको जुन ढंगले उदय भइरहेको छ त्यसबाट पश्चिमा तर्सिएको पाइन्छ।’
चीनको छिमेकी रहेको नेपाललाई यो शितयुद्धले कसरी प्रभाव पार्छ भनेर नेपालले सचेत भएर अगाडि बढ्नुपर्ने उनको धारणा थियो। उनले थपे, ‘यसलाई नेपालले गम्भीर ढंगले लिनुपर्ने देखिन्छ।’
डा. भट्टराईले विश्व नयाँ युगमा प्रवेश गरेको भए पनि नेपाल भने अझै धेरै पछाडि रहेको धारणा राखे। नेपालको मध्यपहाडी र पश्चिमा राष्ट्रहरूको अध्ययन भ्रमणको तुलना गर्दै उनले नेपालले विकासमा धेरै काम गर्न बाँकी रहेको बताए।







































