काठमाडौँ – पुनर्निर्माणपछि गत मङ्सिर ९ गतेदेखि आम सर्वसाधारणका लागि पुनः सञ्चालनमा ल्याइएको ऐतिहासिक धरहराबाट सात महिनामा चार करोड ८३ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरिएको छ।
धरहराको अन्तरिम सञ्चालन तथा व्यवस्थापन एकाइ, सुन्धाराका प्रमुख महेश राईका अनुसार यही असार २४ गतेसम्ममा धरहराबाट रु. ४,८३,६५,५०० संकलन गरिएको हो। उक्त अवधिमा कूल दुई लाख ६२ हजार ५५५ जनाले धरहराको अवलोकन गरेका छन्, जसमा एक हजार ५४९ जना विदेशी पर्यटक रहेका छन्।
धरहरा सप्ताहको एक दिन, बुधबार बन्द हुने भए पनि अन्य दिनहरूमा औसतमा दैनिक १,२०० जनाले धरहरा चढ्ने गरेका छन्। प्रमुख राईका अनुसार समयको सीमा विस्तार गर्न सकिएमा दैनिक १,५०० भन्दा बढी आगन्तुकले धरहरा चढ्ने अनुमान गरिएको छ। “बिहान १०:३० देखि साँझ ५ बजेसम्म मात्र धरहरा खुल्ने हुँदा सबै इच्छुक आगन्तुकलाई सेवा दिन चुनौती भइरहेको छ,” उहाँले बताउनुभयो।
धरहरा चढ्नका लागि नेपाली नागरिकका लागि प्रतिव्यक्ति शुल्क रु. २०० तोकिएको छ। विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटमा प्रवेश पाउँछन्। सार्क मुलुकका पर्यटकले रु. ५०० र अन्य विदेशी पर्यटकले रु. १,००० शुल्क तिर्नुपर्ने व्यवस्था छ।
धरहराको प्रवेश शुल्क बाहेक परिसरभित्र पार्किङ सुविधा पनि उपलब्ध छ। चारपाङ्ग्रे सवारीका लागि प्रतिघण्टा रु. २० र दुईपाङ्ग्रे सवारीका लागि रु. १० शुल्क लाग्नेछ। धरहरा परिसरमा प्रवेश गर्न रु. ५० तोकिएको छ भने स्तम्भमा विज्ञापन गर्न प्रतिघण्टा रु. ५,००० लाग्नेछ। यस्तै, व्यावसायिक भिडियो छायाङ्कनका लागि प्रतिघण्टा रु. ५,००० र फोटोग्राफीका लागि प्रतिघण्टा रु. १,००० शुल्क निर्धारण गरिएको छ।
धरहरा सञ्चालनको लागि विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ अनुसार मङ्सिर ९ गतेदेखि राजस्व संकलनसहित औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो। त्यसअघि मङ्सिर ६ गते बसेको मन्त्रिपरिषद् बैठकले धरहरा चढ्ने शुल्कको स्वीकृति दिएको थियो।








































