क्षितिज विक्रम खनाल,अबुधावी युएई।
संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले पछिल्लो समय युएईमा देखिएको भिसा कडाइ, रोजगारीका नाममा भइरहेको ठगी, र दूतावासका सुधारात्मक प्रयासबारे कुराकानी गर्दै दूतावासको धारणा राख्नुभएको छ।
राजदूत क्षेत्रीका अनुसार, युएईले हाल नेपाली नागरिकका लागि भिजिट, कामदार, र विद्यार्थी भिसामा कडाइ गरेको कारणहरूमध्ये नेपालमा जेन्जी आन्दोलन पश्चात् उत्पन्न राजनीतिक जटिल परिस्थिति पनि हो। उहाँले भन्नुभयो, “युएई आफैँमा अत्यन्त शान्त, सुरक्षित तथा विकास, प्रगति र आर्थिक समृद्धिमा अगाडी बढिरहेको देश हो। नेपालमा जेन्जी आन्दोलनपछि जेलमा रहेका धेरै कैदी बन्दी तथा अपराधी बाहिरिएका छन्। जतिसक्दो छिटो हामी ती कैदीहरूलाई पुनः नियन्त्रणमा ल्याउँदैनौँ, तबसम्म युएईजस्ता देशहरूले भिसामा कडाइ हुन सक्ने देखिन्छ।”
क्षेत्रीका अनुसार, युएई सरकारले भिसा कडाइ गरेको विषयमा कुनै औपचारिक जानकारी दूतावासले प्राप्त नभएको तथा देशको सुरक्षाको दृष्टिले यस किसिमका उपाय तथा सावधानीहरू अपनाउन लिइएको कदम हुनसक्छ । उहाँले विश्वास व्यक्त गर्नुभयो कि नेपालमा छिट्टै शान्ति र अमनचैन तथा स्थिरता र विश्वसनीय वातावरण हुनासाथ भिसा नीतिमा फेरि सहजता हुनेछ। युएईमा रहेका नेपालीहरू मेहनती, ईमान्दारी, लगनशील, सरल,शिष्ट तथा बफादार भएकाले पनि नेपालीहरूलाई युएई सरकार र जनताले रोजगारीमा प्राथमिकतामा राखेको बताउनुभयो।
युएईमा रोजगारीका नाममा नेपालीले नेपालीलाई गर्ने ठगी र मानव बेचबिखनका घटनाबारे उहाँले गम्भीर चिन्ता व्यक्त गर्नुभयो। भिजिट भिसा लिएर काम दिलाइदिने नाममा केही दलालहरूले नेपालीहरूबाट ठगी गर्ने क्रम बढेको उहाँको भनाइ छ। “हाम्रो दूतावासमा यस्ता घटनाबारे धेरै उजुरी आएका छन्। यस्ता अपराध गम्भीर प्रकृतिका हुन् र नेपालकै कानुन अनुसार कडाभन्दा कडा सजाय हुनुपर्छ। प्रमाणसहित उजुरी आए अनुसन्धान र कारबाही तुरुन्त अघि बढाइन्छ,” उहाँले भन्नुभयो।
क्षेत्रीले नेपाली नागरिकहरूलाई सचेत गराउँदै भन्नुभयो, “युएई रोजगारीमा आउँदा सरकारबाट मान्यताप्राप्त एजेन्सीबाट मात्र आउनु र सरकारले तोकेको रकम मात्र बैङ्क भौचर वा ट्रान्सफरको प्रमाण राख्नुपर्छ। यसले कानुनी प्रक्रिया अघि बढाउन सजिलो हुन्छ।” उहाँले थप सुझाव दिँदै भने कि युएईमा नेपालीहरूको सङ्ख्या ७ लाख भन्दा बढी भएकाले विभिन्न ठगी मानव बेचबिखन तथा आपराधिक घटनाहरू तीव्र रूपमा बढ्दै गएको सन्दर्भमा अन्य देशले अपनाएका सुरक्षा प्रणाली जस्तै दूतावास मातहतमा यस्ता ठगी र आपराधिक गतिविधिमा संलग्नलाई आवश्यक कारबाही तथा नियन्त्रण गर्न मद्दत पुर्याउने संयन्त्र आवश्यक देखिएको उहाँको बताउनुभयो।
दूतावासका सेवा सुधारबारे कुरा गर्दै राजदूत क्षेत्रीले राहदानी, भिसा, NOC, र अन्य कन्सुलर सम्बन्धी कामलाई छिटो, छरितो तथा प्रभावकारी सेवा प्रवाह प्रदान गर्न अधिकतम प्रयास भइरहेको जानकारी दिनुभयो। “आपत्कालीन अवस्थाहरू—जस्तै मृत्यु, दुर्घटना वा अस्पताल उपचारत बिरामीलाई तत्काल राहत, उद्धार तथा सहयोग तथा सहजीकरण गर्न दूतावासले गैर आवासीय नेपाली सङ्घ तथा अन्य नेपाली सङ्घ संस्थाहरू सँग सहकार्य गर्ने प्रणाली बनाएका छौँ,” उहाँले स्पष्ट पार्नुभयो।
उहाँका अनुसार, युएईका विभिन्न सहरहरूमा मोबाइल राहदानी, कन्सुलर तथा श्रमिक सचेतना शिविर सञ्चालन गरिएको तथा थप स्थानहरूमा गर्ने तयारी पनि भइरहेको छ, जसले नेपाली समुदायलाई दूतावासका सेवामा सजिलो पहुँच दिलाउनेछ। साथै, नेपालीबिच एकता, सांस्कृतिक पहिचान र सहकार्य सुदृढ गर्न नियमित अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने योजना पनि अघि बढाइँदै छ।
द्विपक्षीय सम्बन्धका विषयमा राजदूत क्षेत्रीले भन्नुभयो, “नेपाल–युएई सम्बन्धलाई अझ प्रगाढ बनाउन व्यापार, पर्यटन, श्रम, शिक्षा र लगानीका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। हामी चाहन्छौँ कि नेपालीहरू सुरक्षित र कानुनी माध्यमबाट यहाँ रोजगारमा आउन्।” उहाँका अनुसार, ओ भरस्टे वा कानुनी समस्यामा परेका नेपालीका हकहितमा दूतावासले निरन्तर सक्दो सहयोग गर्दै आएको छ।
हालै लागू गरिएको Visa Regulation Framework 2025 बारे उहाँले स्पष्ट पार्दै भन्नुभयो, “यो नीतिले सीप भएका वैध रोजगार र शिक्षाका लागि आएका नेपालीहरूलाई सहजता दिनेछ, तर अवैध माध्यमबाट आउनेहरू तथा सीप नभएका अध्यक्षका हकमा यो प्रणाली अझ कडाइपूर्ण हुनेछ।”
राजदूत क्षेत्रीले नेपाल र युएईबिचको प्रगाढ सम्बन्धलाई आगामी दिनमा अझ थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “यदि नेपालले आफ्नो आन्तरिक स्थिरता, शान्ति र कानुनी विश्वसनीयता पुनः स्थापित गर्न सक्यो भने युएईले भिसा कडाइ चाँडै सरल सहज र खुकुलो बनाउने विश्वास व्यक्त गर्नुभयो।” यसमा दूतावासले पनि आवश्यक पहल गरिरहेको जानकारी दिनुभयो । उहाँले सबै नेपालीहरूलाई युएईको कानुन, मूल्य, मान्यता अक्षरशः पालना गर्न, मादक पदार्थ सेवन नगर्नु हुन तथा ठग र दलालबाट सावधान रहन, र कुनै पनि समस्या आइपरेमा सिधै आबुधावी स्थित दूतावास तथा दुबईस्थित कन्सुलेटमा सम्पर्क गर्न आग्रह गर्नुभयो।











































