स्याटलाइट शहर र बाहिरी चक्रपथ अन्त्य होइन सुरुवात हो विस्थापनको
काठमाडौ, नेपालको राजधानी
हाल काठमाडौँ उपत्यका भनेर चलिएको, पहिले नेपाल खाल्डो(नेपाः गाः) भनेर परिचित नेपाः उपत्यका, राजधानी यस्तो छ। यस्तो हुनुपर्छ। विकास यो हो, त्यो हो, भन्ने आम जनमासमा एउटा मानसिकता नै छ।
विकास के हो त भनेर आम जनमानसलाई प्रश्न गर्दा उनीहरूको मन मस्तिष्कमा अग्ला अग्ला गगन चुम्बी भवन र फराकिलो चिल्ला सडकहरूकै परिकल्पना गर्छौँ। कारण किन भने, हाम्रो मानसिकतामा विकास भनेको यही हो भनेर घुसाइसकेको छ।
तर वास्तवमा विचार गरेर हेर्नुस, के विकास भनेको फराकिलो सडक मात्र हो? के विकास भनेको गगनचुम्बी भवन मात्र हो? पक्कै पनि होइन। अहिले नेपाल उपत्यका विकास गर्छु भनेर लागि परेकाहरूमा कसैले पनि विकास भनेको के हो, यस्को सीमा के हो, र यो कसरी गर्ने भनेर राम्ररी अनुसन्धान नगरेको हुनाले काठमाडौँ उपत्यका विकास होइन विनाश तर्फ लम्कँदै छ। हालसालै चर्चामा आएको बाहिरी चक्रपथ निर्माण र स्याटलाइट शहरको परिकल्पना पनि विकाश भन्दा विनास निम्त्याउने तर्फको हो भन्ने कारणहरू पेश गर्छु।
- उच्च जनसङ्ख्या वृद्दि
- केन्द्रित विकास
- स्रोत साधानमा असर(उर्वरा भूमिको नष्ट र खाद्यन्नमा प्रभाव, जलस्रोतको समस्या)
- प्रदुषण र वातावरण
- स्थानीय रैथाने जनता फेरी मर्कामा(स्याटलाइट शहर र बाहिरी चक्रपथ अन्त्य होइन सुरुवात हो विस्थापन; मुआब्जा: भरोसा गर्ने कि नगर्ने; स्थानीय जनताको आफ्नो भूमीबाट सम्बन्ध विच्छेद)
- सम्पदाको नाश
- नेवार बस्तीको सौन्दर्य र मौलिकता जोखिममा
उच्च जनसङ्ख्या वृद्धि

सन २०११ को जनगणना अनुसार येँदे(काठमाडौँ जिल्ला)मा स्थायी बसोबास गर्नेको सङ्ख्या १,७४०,९७७ रहेको छ भने यलदे(ललितपुर जिल्ला)मा ४६६,७८४ र ख्वपदे(भक्तपुर जिल्ला)मा ३०३,०२७ व्यक्तिहरूले बसोबास गर्ने आँकडा देखाएको छ। यसलाई एकमुष्ट भन्नु पर्दा पूरै नेपाल उपत्यकामा २,५१०,७८८ को सङ्ख्यामा मानिसहरू बसोबास गर्छन। यो हिसाबले हेर्दा पूअरि उपत्यकामा एक वर्ग किलोमिटरमा ८९९ व्यकि बस्छन भने येँदे(काठमाडौँ)मा ३८५, यलदे(ललितपुर)मा ३८५ र ख्वपदे(भक्तपुर)मा ११९ जनघनत्व रहेको छ।
यही जनसङ्ख्या हेर्ने हो भने नेपाल उपत्यकाको क्षेत्रफल मात्र ५७० वर्ग किलोमिटर छ। नेपालको पूर्ण जनसङ्ख्या हेर्यो भने झन्डै ३ करोडको हाराहारीमा छ। यो ३ करोडको हाराहारीमा रहेको जनसङ्ख्यामा ५०% भन्दा बढी यही सानो क्षेत्रफलमा कोचेर बसेका छन। अनुमानका आधारमा दिनहुँ थक्वाः(थानकोट)बाट लाखौँ मानिसहरू भित्र बाहिर गर्छन र यो जनचाप बाहिरिनु भन्दा बढी भित्रिएको पाइन्छ। नेपाल उपत्यका अहिलेको अवस्थामै उच्च जनघनत्व भैसक्यो। यो कुरामा धेरै भनिरहनु पर्दैन। माहानगर क्षेत्र, असं जमःको त्य साना गल्लिहरूमा मानवीय घुइँचोले यी कुरा पुष्टि गर्छ।
प्रस्तावित स्याटलाइट शहर उपत्यकाको १ कुनामा १ लाख रोपनी जग्गामा फैलने छ। यसमा २ आन जग्गामा न्युनतम ४ जना व्यक्तिहरू बस्ने आँकडाको हिसाबले, नेपाल उपत्यकाको यस जनसङ्ख्यामा अझ २० लाख जनसङ्ख्या थप्ने छ। के यो सानो उपत्यकाले फेरी यो ठूलो जनसङ्ख्या धान्न सक्छ? हामी अहिलेको अवस्थामा नै नेपाल उपत्यकामा निसासिसक्यौँ। यो अतालिनुको आभास कुनै उपत्यकावासीले महसुस गर्न सकिन्छ। तीव्र जनसङ्ख्या वृद्धि पश्चात अन्य प्रकारका धेरै समस्याहरू उत्पन्न हुने पक्ष पनि हेरिनुपर्छ। प्रस्न यो छ।


नेपाः उपत्यकाले देशको ०.४% भूभाग मात्र ओगट्छ, जब आज स्थायी बासिन्दाहका रूपमा ११.८% प्रतिशत जनसङ्ख्या यो ०.४% भूभागमा छन।
केन्द्रित विकास
अहिले हाम्रो देश संघियतामा गएको देश हो। अधिकारका मामिलाहरूमा भन्छन सिङ्घ दरबार गाउँ गाउँमा पुग्यो। तर विकास निर्माणका कार्यहरू गाउँ गाउँमा नपुग्नुको कारणले गर्दा अझै पनि नेपाल उपत्यकामा केन्द्रित अझ त येँदे(काठमाडौँ) केन्द्रित विकास निर्माण भैरहेको छ। यसका कारण पनि विभिन्न जिल्लाहरूबाट नेपाल उपत्यकामा बसाइँ सर्न बाध्य छ। केन्दित विकास नै नेपाः उपत्यका, त्यसमा पनि विशेष गरी येँदे(काठमाडौँ)मा बसाइँ सर्न बाध्य हुने प्रमुख कारण हो।

उक्त प्रस्तुत तस्वीर धेरै ताढाको होइन। यही नेपाः उपत्यका सँग जोडिएको जिल्ला धादिङको हो। यहाँ एउटा पुल नभएर स्कुले बालबालिकाहरू आफ्नो ज्यान जोखिममा राखेर पढ्न जान बाध्य छ।
यो त मात्र एउटा उदाहरण हो। नेपालमा यस्ता धेरै स्थानहरू छ जहाँ अझै पनि पहुँच पुगेकै छैन। अहिले प्रस्तावित बाहिरी चक्रपथले बस्ती जोड्ने कार्य गर्ने भनेको छ। तर यी बस्ती जोड्न बाहिरी चक्रपथको होइन, एउटा राम्रो पुल र २ लेनको पक्की सडक भए पुग्छ। मानिसलाई खास चाहेको चिल्ला सडक र बाटो होइन! मानिसलाइ चाहेको हो “पहुँच”(accessibility)। यसको आपूर्ती ८ लेनको सडकले मात्र गर्छ भन्ने होइन। त्यसैले सोचनीय कुरा हो। हामीलाई सडकको आवश्यकता र शहर निर्माणको आवश्यकता कुन स्थानमा छ।
स्रोत साधन
उर्वरा जमिनको नष्ट, र खाद्यान्न

हामी सबैले पढ्दै आएको, सुन्दै आएको र देख्दै आएको कुराको नेपाः उपत्यकाको जमिनको उर्वरा शक्ति। यस बारे धेरै चर्चा गरिरहनुपर्दैन होला। किनभने जति मलजल नेपाः उपत्यका बाहिरका पाहाडी र तराइका खेतहरूमा गर्नुपर्छ, त्यती यहाँ गर्नुपर्दैन। नेपाः उपत्यकाको उब्जनी, परमपरागत खेतीले नै यहाँका जनतालाई खादाँ खाँदै नसकिने अवस्थामा थियो कुनै दिन। यसै गरी अझै पनि बुङ्ग, ख्वना, थसि, आदिका मानिसहरू आफ्नो खेतको एकपटक उबजानीबाट वर्ष भरी खान सक्छन।
उक्त प्रस्तुत तस्वीरले यो मापाङ्कन गर्छ कि उपत्यकाको कुन भूभागमा धेरै उब्जानी हुन्छ। वास्त्वमा भन्नु पर्दा नेपाः उपत्यकाको पुराना टाउन प्लानिङ यही जमिनको विशेषतालाई मध्यनजरमा राखेर गरिन्थ्यो। मल्ल कालमा नेपाः उपत्यकाका नेवाःहरूले बस्ती जहिल्यै माथिल्लो परेको भूभागमा बसाउँथे भने खेती गर्ने जमिन तल्लो भेगमा हुन्थ्यो। यसै गरी उपत्यकाका भित्री भेगमा सिँचाइ व्यवस्थाको लागि “तिक्व”(पानी बग्ने ढल) बनाउने छलन थियो। विभिन्न नदी खोलाबाट “तिक्व” मार्फत पानी लगेर सिँचाइ गर्थ्यो र वर्षेनी २/३ पटक उब्जनी हुन्थ्यो। यति मात्र नभएर, नेपाः उपत्यकालाई खाद्यान्न बढी भएर पाहाडी क्षेत्रमा बेच्न पनि जान्थे।
एउटा उपर्युक्त नीतिको अभावले गर्दा भूमाफिया, हाउजिङ कम्पनि र प्लटिङ व्यवसायले नराम्रो फाइदा उठाउँदै छ र साथै नेपाः उपत्यकाको अनियन्त्रित शहरीकरण र अस्तव्यस्तता थप्न काम गर्दैछ। परिणाम स्वरूप नेपाः उपत्यका झन झन कुरुप र अधोगतिमा लाग्दै छ र तत्काल यसका बारे केही गरिएन भने नेपाः उपत्यकाको लागि खतरामूलक नै हुनेछ। स्वस्थ माटो र जमिन, मानवको पोषण र स्वास्थ्यका लागि पनि महत्वपूर्ण देखिन्छ। उर्वरा जमिन र खेतले मात्र खाद्यान्न सुरक्षा हेर्दैन तर वातावरण सन्तुलन, पानी रिचार्ज हुने स्थान, अनि अन्य धेरै कारणका लागि महत्वपूर्ण हुन्छ।

कृषि विकास मत्रालयको सन २०१२-१३को मापाङ्कनमा नेपालले त्यस वर्षमा ९९।३४ अर्ब रूपियाँको खाद्यान्न आयात गरेको थियो। यस अगाडी २०११-१२ को मापाङ्कन भन्दा ३०।६३% प्रतिशतले बढेको मन्त्रालयको भनाइ छ। नेपाल खाद्यान्नको मामिलामा घाटा खाँदै आएको देश हो। यही खाद्यान्न आयात बढ्दै गएको क्रममा यदी नेपाः उपत्यकाका बाकी उर्वरा र अत्ति उर्वरा जमिनमा विभिन्न तरिकाले खाद्यान्न उत्पादन गर्न सकिँदैन भने, हामी खाद्यान्नमा पूर्ण रूपले तराईमा मात्र होइन, भारत सँग निर्भर हुनुपर्ने स्थिति आउँछ।
हामीले यही अत्ति उर्वरा भूमी बुङ्गमा रोपेको साग, २० मिनेटको दूरीमा यल आइपुग्दा त्यस सागको गुणस्तर र त्यही यलमा धादिङबाट २/३ घण्टा गाडीमा राखेर ल्याएको सागको गुणस्तर र स्वस्थतामा धेरै फरक हुन्छ। उर्वरा जमिनको नाशले सिधै खाद्यान्न सुरक्षालाई असर पार्छ त पार्छ, तर सँग सँगै अन्य विभिन्न तत्वहरूमा पनि हानी पुर्याउँछ। बाहिरी चक्रपथ निर्माण र स्याटलाइट शहरका कारण १३ लाख रोपनी जग्गाको नाश हुनेछ।
कुनै पनि योजना नबनाइकन विकास निर्माणका कार्य भनेर उर्वरा भूमीलाई नष्ट गर्नु देशको खाद्यान्न सुरक्षाका लागि घातक हुन सक्नेछ। हामी सबैलाई अहिलेको नेपाः उपत्यका र यहाँको खाद्यान्न सुरक्षाको अभाव बारे अवगतै छ। यदि परम्परागत खेतीलाई छोडेर आधुनिक कृषि, अर्गानिक खेती गर्ने हो भने खेत बारी भएकाहरूले यसबाट सुलभ आर्थिक लाभ प्राप्त गर्न सकिन्छ, र यो खाद्यान्नको दृष्टिकोणले पनि सही छ। यसैले यी अत्ति उर्वरा जमिनलाई समय रह्ँदै नमासिकन, संरक्षण गर्ने नीति नियम ल्याउनु पर्छ। यसै गरी यी उर्वरा भूमीका जग्गा धनीहरूलाई आर्थिक लाभ हुने गरी कृषि मन्त्रालय र सम्बन्धित निकायले ध्यान दिनुपर्छ।
भू-उपयोग वर्गिकरणको सशक्त नीति ल्याउन अत्यावश्यक छ
जलस्रोत

पानीको अभाव कसरी?
नेपाः उपत्यकाको कुल जनसङ्ख्या २०१६मा ३० लाख बढी नाघ्ने अनुमान गरिएको थियो र क्रम बढ्दो छ। बाहिरी चक्रपथ निर्माण पछि र स्याटलाइट शहर बनाइसकेपछि जलस्रोत आपूर्ती कसरी हुन्छ त? यस प्रश्नमा विशेष गरी एउटै उत्तर आउँछ कि त डीप बोरिङ कि त कुवा खन्नु। हाल सरकारले ल्याएको मेलम्चीको पानीले के ३० लाख बढी जनसङ्ख्यालाई पुग्छ र?
MDPI को एउटा मापन अनुसार नेपाः उपत्यकामा ४ करोड लिटर पानी एकै दिनमा आवश्यक पर्दै आएको छ। जनसङ्ख्या ४ गुणाले बढ्दा यो आवश्यकता पनि उत्तिकै बढ्ने देखिन्छ।

उक्त तस्वीरमा सोही संस्थाको मापाङ्कन हो। शायदै बाहिरी चक्रपथ वा स्याटलाइट सहर बन्ने प्रस्ताव अगाडी गरिएको अनुमान हो, त्यसैले आंकडा यस प्रकारले छ भने ती परियोजना बनिसकेपछिको अवस्था अझै डर्दनाख हुनेछ।

माथी दीएको यस तस्वीरलाई नचिन्ने धेरै छैनन होला। ल्वहं हिति, ढुङाले बनेको प्राकृतिक पानीको धार २४ घण्टा बगिरहने धारा र जमिन सतहबाट निकै तल खनेर बनाइएका गाःहिति। कुनै दिन यस्तो पनि थियो जब यस्ता हितिहरूबाट १ मिनेटमा २० लिटरको पानी भरिन्थ्यो। गर्मी याममा चीसो पानी आउने र जाडो याममा तातो पानी आउने यी हितिहरू अब इतिहासमै परिणत हुने संकेतमा छ।
प्रदुषण र वातावरण
विकास निर्माणका कार्य र प्रदुषणको तादाम्य सम्बन्ध हुन्छ। जन निर्माणका कार्य हुन्छ, वातावरणलाई कही न कहीबाट हानी हुन्छ। तर यसको अर्थ यो होइन कि विकास निर्माण हुनुहुँदैन। तर निर्माण गर्ने क्रममा वातावरणलाई पूर्ण रूपले नजर अन्दाज गरेर क्षति हुने हिसाबले गर्दा विकास भन्नु मिल्दैन।
नेपाः उपत्यका यत्तिकै विभिन्न दृष्टिकोणबाट प्रदुषित भैसकेको स्थान हो। विशेष गरी अहिलेका शहरी इलाकामा प्रदुषण उच्च स्तरमा छ भने अर्ध शहरी क्षेत्रमा केही हद सम्म कम। तर बाहिरी चक्रपथका कारण पुनः नेपाः उपत्यका भरीको वातावरणमा हानी पुर्याउने देखिन्छ।
कङ्क्रिट घर बढ्नु र तापक्रम पनि बढ्नु

नेपाः उपत्यका, विशेष गरी येँ(काठमाडौँ) माहानगरमा बस्ने ७० वर्ष कटेका एक व्यक्तिलाई सोधेर हेर्नुस यहाँको मौसम परिवर्तन बारे। कङ्क्रिट घर ह्वात्तै बढ्नाको नतिजाले गर्दा नेपाः उपत्यकाको तापक्रम पनि बड्दै छ। किनभने कङ्क्रिटका घरहरूले तापलाई सोख्छ। य्सका कारण अब येँ(काठमाडौँ)मा जाडो मौसममा पनि कुहिरो परेको कमै देख्न पाइन्छ।
बाहिरी चक्रपथ निर्माणले यसमा कतिको असर गर्छ। के ठीक्कको मौसममा बस्दै आएका उपत्यकावासीहरूले तीव्र तापक्रम वृद्दिमा आफूलाई ढल्न सक्छ?
कङ्क्रिटको शहर र जमिन भासिने डर

नेपाः उपत्यकाको जमिनमुनि पानीको सतह हरेक वर्ष घट्दै गएको छ। जनघनत्व बढ्दै जाँदा जमिनमुनिबाट अत्यधिक पानी निकाल्न थालिएकाले उपत्यकाको जमिन भासिने खतरा भएको विज्ञहरूले बताएका छन्। आकाशबाट पर्ने पानी जमिनमुनि जति रिचार्ज हुन्छ, त्योभन्दा धेरै गुणा बढी निकालिएको छ। रिचार्ज हुने पानीको मात्राभन्दा अत्यधिक पानी तानिएकाले सन्तुलन मिलेको छैन, यसबाट भयाभह अवस्था आउन सक्ने सम्भावना छ।
उक्त तस्वीरमा हामी देख्न सक्छौँ, इँटा बिच्छ्याइएको सडक। इँटा बिच्छ्याइएको स्थानमा पानी पर्ने क्रममा पानी जमिन मुनी पुग्छ र पानी रिचार्ज हुन्छ। तर कङ्क्रिटले पानी तल पस्न दिँदैन। भूमिगत जलस्रोत विकास समितिका अनुसार किपू(कीर्तिपुर)मा ०५८ सालमा जमिनभन्दा आठ मिटरमुनि पानी भेटिन्थ्यो, तर ०७१ वर्षपछि ११ मिटरमुनि मात्रै पानी भेटिएको छ। यलदे(ललितपुर)को लुभुमा ०५८ सालमा पानीको सतह ३० मिटर मुनी थियो भने ०७१ सालमा ४० मिटर मुनि पुगेको देखिएको छ। मुलपानीमा ०५८ सालमा ३१ मिटर मुनि पानीको समत थियो, ०७१ सालसम्म पुग्दा ३४ मिटर मुनि पुगेको छ। त्यस्तै, पुलां सिनामङ्गलमा ०६५ सालमा ३० मिटर मुनी पानी भेटिन्थ्यो भने ०७१ सालमा ३८ मिटर मुनी पुगेको छ। यी क्षेत्रको नमुना परीक्षणका आधारमा विज्ञले उपत्यकाको सतह भासिन सक्ने विश्लेषण गरेका छन्।
नेपाः उपत्यकाको जमिन बालुवा र गेग्रानले बनेको कमजोर भु–बनावट भएकाले भासिने खतरा रहेको हुन्छ। जमिनमुनीबाट पानी निकाल्ने तर, पानी जाने अवस्था नभएमा स्वातह खाली भएको भाग भासिन सक्छ र नेपाः उपत्यकाको अहिलेको अवस्था यही हो। यसमा अझै पनी कङ्क्रिट जङ्ललाई बढाउने हो भने यस उपत्यकाको भविष्य कस्तो होला त? भौगोलिक भूवनावट अनुसार जमिनमुनी पानी रिर्चाज हुन्छ। नेपाः उपत्यकामा सबैभन्दा धेरै पानी रिचार्ज हुने क्षेत्रमा अत्याधिक घरहरु बनेपछि समस्या बढेको हो, अझै त्यस्ता बाकी स्थानहरूमा पनि बाहिरी चक्रपथ र स्याटलाइट शहर बन्दै छ। पछिल्ला बर्षहरुमा बर्षा कम भएकाले जमिनमुनी पानी थोरै मात्र रिचार्ज हुने गरेको छ। तर, पानी तान्ने क्रम बढिरहेको छ र नयाँ शहर आएपछि यो क्रम तीव्र हुनेछ।

विज्ञहरुका अनुसार बाःमति खुसि(बाग्मती नदि)को दायाँबायाँ क्षेत्रमा धेरै आकाशे पानी रिचार्ज हुन्छ। सबैभन्दा धेरै रिचार्ज हुने क्षेत्रमा त्वखा(टोखा), भुइजःसि(बुढानिल्कण्ठ), सुन्दरीजल, गोकर्ण, बासबारी, हिजाःखुसि(धोविखोला) क्षेत्र, सक्व(साँखु), च्वबहाः(चोभार) र फम्पि(फर्पिङ) हुन्। यी क्षेत्रमा पनि अहिले जनघनत्व बढेको छ भने धेरै घर बनाइएको छ भने यिनै क्षेत्रमा बाहिरी चक्रपथ र स्याटलाइट शहर प्रस्तावित छन।
प्रदुषण बढ्नु र स्वास्थ्य एवम् मानव जीवनमा असर

नेपाः उपत्यका, विशेष गरी अनियन्त्रित शहरीकरणको चपेटमा परिसकेको स्थानहरू कतिको द्रुषित र प्रदुषित छ, यसमा कुनै व्याख्या विष्लेशणको आवश्यकता छैन होला। हामी सबैलाई थहाछ काठमाडौँ शहर विश्वकै तेस्रो प्रदुषित शहर हो भनेर। यो भन्दैमा धेरै व्याख्या आवश्यक नै छैन।
वायु प्रदूषण भनेको हावाको गुणस्तरमा कमी आउनु हो । अर्थात् श्वासप्रश्वास प्रक्रिया अन्तर्गत हामीले सासभित्र लिने र बाहिर फ्याँक्ने गर्छाैं । यो शरीरका लागि अनिवार्य अक्सिजन परिपूर्ति गर्ने प्रक्रिया हो । तर, हावामा स्वास्थ्यका लागि नभई नहुने अक्सिजन मात्र होइन, धेरै मात्रामा हानी गर्ने तत्वहरु मिसिएका छन् भने त्यसलाई प्रदूषणका रुपमा बुझ्नुपर्छ । हावासँगै विभिन्न कणहरु उडिरहेका हुन्छन् । ती हामीले सास फेर्दा सँगै शरीर भित्र जान्छन् । तीमध्य कतिपय कणलाई हाम्रो श्वासप्रश्वास प्रक्रियाले पचाउँछ वा बाहिर निस्कासन गर्छ । कतिपय कणलाई भने केही गर्न सक्दैन र ती फोक्सोमा गएर बस्छन् । रक्तसञ्चार प्रणालीका माध्यमबाट शरीरका अन्य भागमा पुग्छन् र समग्र स्वास्थ्यस्थिति बिगार्छन् ।
धुलोधुवाँमा विभिन्न हानिकारक तत्व हुन्छन् । दाउरा, फोहोर, कोइला र गाडीको धुवाँधुलोका कारण कार्बन्डाइअक्साइड, कार्बनमोनोअक्साइड निस्किन्छ । ढुंगा, बालुवा, सिमेन्टजस्ता तत्व मिसिएका सडक, घर आदि भौतिक संरचना भत्काउँदा निस्किएको धुलो नै काठमाडौँको आकासमा फैलिएको धुलोको प्रमुख स्रोत हो । यसमा सल्फेडाइअक्साइड, नाइट्रेटअक्साइड, सिलिका, ग्रेनाइट जस्ता रसायनिक तत्व नहोला भन्न सकिन्न । यसको असर तुरुन्तै नदेखिन सक्छ । अबको चार–पाँच वर्षपछि देखिएला । भविष्यमा काठमाडौँबासीलाई फोक्सो सम्बन्धी विभिन्न रोगसँगै ढुंगा फोड्ने र घर भत्काउने मजदुरलाई बढी देखिने एस्कोसिस, सिलिकोसिस जस्ता समस्या आउने सम्भावना प्रवल छ । सिमेन्ट वा ढुंगामा प्रचुर मात्रामा सिलिका हुन्छ । सिलिका श्वाप्रश्वासको माध्यमबाट फोक्सोमा गयो भने त्यसलाई रक्त कोषिकाले तान्छ । यसलाई पचाउन वा फुटाउनन नसकिने हुनाले फोक्सोमा बसिरहन्छ । विस्तारै सास फेर्ने क्षेत्रमा खराबी आउँछ । पछि खत बस्छ र फाइब्रोसिस हुन्छ । सिलिका जस्ता हानिकारक तत्वहरु फोक्सोमा गएपछि क्षयरोग र फोक्सोको क्यान्सर हुने सम्भावना पनि उत्तिकै रहन्छ ।
वायु प्रदूषणकै कारण मुटु सम्बन्धी रोग लाग्न सक्छ । श्वासप्रश्वासको माध्यमबाट छिरेका हानीकारक कणहरु कार्डियो भास्कुलर प्रणालीमै पुगेपछि शरीरको जताततै असर पुग्छ । ती त साना कणले पार्ने असर हुन् । ठूला कणले पनि विभिन्न समस्या ल्याउँछन् । काठमाडौँको धुवाँधुलोले नाक र घाँटी सम्बन्धी विभिन्न समस्या निम्त्याएका छन् । धुलोमा रहेका ठूला कण शरीरका यिनै अंगमा अड्किन्छन् । सामान्य हिसाबले बाहिर निस्किएनन् भने शरीरले आफ्नो प्रणालीको प्रयोग गरेर यी कणलाई बाहिर निकाल्छ । जसका कारण एलर्जिक राइनोसाइनोसाइटिस र फेनेन्जाटाइटिस बढिरहेको छ ।

उक्त तस्वीरले नेपाः उपत्यकाको वायु संचालनलाई देखाइएको छ। नेपाः उपत्यका कचौराको आकारमा भएको उपत्यका हुनाले यहाँको वायु बाहिरिँदैन, अर्थात यहाँको हावा यही उपत्यकामा नै घुमिरहन्छ र यहाँबाट बाहिरिँदैन। त्यसैले यहाँ हुने हरेक धुवाँ धुलो आदि इत्यादी यहीँको आकाशमा तुँवालो सरह बसिरहन्छ र त्यही प्रदुषित हावा यही उपत्यकाको वायुमण्डलमा घुमिरहन्छ। आजकै अवस्थामा “यो उपत्यका बस्न अयोग्य भैसक्यो” भनेर दाबी गरिसकेको स्थानमा नयाँ बस्ती र नयाँ शहर विस्तार गर्नु आत्महत्या हुँदैन र? किनभने मानव जीवनका हरेक कृयाकलापमा यी वातावरण प्रदुषणका तत्वहरू जोडिएको हुन्छ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार २ दशमलब ५ पिएमबाट मापन गर्दा हावामा बढीमा ४० सम्म धुलोधुवाँका कणहरु हुनुलाई स्वस्थ मानिन्छ । तर, अहिले काठमाडौँमा २ दशमलब ५ पिएम एक सय ९० सम्म पुगेको एउटा तथ्यांकले देखाएको छ । जसलाई हानिकारक हावा मानिन्छ । प्रदुषणका कारण यो नेपाः उपत्यका अहिले नै बस्न अयोग्य हुँदै गएको खण्डमा विकासको प्राथमिकता के हुनुपर्छ?
वातावरण क्षति मापाङ्कन
कुनै पनि निर्माणका परियोजनाले वातावरणमा असर गर्नु स्वभाविक हो। यसको अर्थ यो होइन कि निर्माण गरिनु हुँदैन। तर फेरी वातावरणलाई पूर्ण बेवास्ता गरेर निर्माण गराइनुहुँदैन। असर न्यून भए मात्र गरिनुपर्छ, तर वातावरण नै धरापमा पर्ने गरी निर्माण गरिएमा त्यो विकास होइन।
स्थानीय रैथाने जनता फेरी मर्कामा

फेसबुकका यस निकै मार्मिक तस्वीर सँग निकै भावनात्मक पोष्ट भएको थियो।
सडकले घर मिच्यो कि घरले सडक मिच्यो ? मेरो पुर्खाले यहाँ घर बनाँउदा न त यहाँ सडक थियो न त पेटी , पछी सडक बन्यो , सडकलाई पेटी आबश्यक भएकोले मेरो घरको घाम ताप्ने , बालबालिका खेल्ने , धान सुकाउने आँगन पेटीमा परिणत भयो , चुपचाप बसें । पछी शहरमा बाहिरको मानिसहरुको चाप बढ्यो , सडक साँघुरो भयो रे , उनिहरुको सुबिधाको लागी सडक फराकिलो गर्नु पर्ने भयो रे । सरकारले मेरो घर नै पर्ने गरी सडक मापदण्ड तोकिदियो , अब मैले सडक मिचेर घर बनाँए रे । अब भन्नुस सडक बन्नु भन्दा अगाडी बनेको घरले सडक मिच्यो कि पछी बनेको सडकले मेरो घर र आँगन मिच्यो ? तैपनी म सहेर बसें । अब हुँदा हुंदा सर्वच्च अदालतमा बिचारधीन रहेको र सरकारको नाममा रोकादेश भएको मुद्दामा सरकारले बर्दिधारिहरु तैनाथ गरी दिनडाहाडै मेरो घरमा दोजर लगाँउदा हामी निरिही जनता पिडित भयौं कि भएनौ ? यो कानुनी राज्यको उपहास हो कि हैन ?
स्याटलाइट शहर र बाहिरी चक्रपथ अन्त्य होइन सुरुवात हो विस्थापनको
अहिले नेपाः उपत्यकामा जति पनि सडक विस्तारका मुद्दा उठेका छन सबैको कारण एउटै हो: जन चाप बढ्नु र बस्ती बढ्नु। बस्ती बढ्नु र जनसङ्ख्या बढ्नु निकै स्वभाविक र प्राकृतिक कुरा हो र हुँदै पनि आएको छ। तर नेपाः उपत्यकामा बढेको जनसङ्ख्याको कारण यो होइन। यहाँ जनसङ्ख्या बढ्नुको कारण माथि नै स्पष्ट उल्लेख गरिएको छ।
जति जति बस्ती बढ्दै जान्छ त्यती नै सडक साँघुरिदै। अनि के यो विकास हो र? हालको जनसङ्ख्याले नै बाटो साँघुरो बनाइसक्यो। यसमा अझै २० लाख बढी स्थायी बसोबास गर्ने मानिसहरू थप्दा के फेरी बाटो बढाउनु नपर्ला? यस्तै तालले बढ्दै गए त नेपाः उपत्यकामा कहिल्यै बाटो पनि पुग्दैन, र यो केवल बाटै बाटोको सहर बन्ने छ।
विशेष गरी भित्री शहरमा सरकारले सडक विस्तार गर्न सकेको छैन। किनभने यसबाट रैथानी स्थानीयलाई हानी हुन्छ। बाहिरी चक्रपथ र नयाँ शहर बन्नासाथ सरकारलाई भित्री बस्ती(देसे दुने)मा सडक बढाउँछु भन्न केही बेर लाग्दैन। यसले स्थानीय जनतालाई मर्कामा पार्ने छ।
मुआब्जा: भरोसा गर्ने कि नगर्ने?
कुनै पनि विकास निर्माणका कार्य हुँदा मर्कामा परेका र विस्थापनमा परेका पीडितहरूले मुआब्जा पाउनुपर्ने हुन्छ र यो उनीहरूको अधिकार हो। न्यायिक क्षतिपूर्ती बिना कसैलाई उठीबास गराउने वा कसैको जग्गा सरकारले अधिग्रहण गर्न पाउँदैन। तर के नेपालको सन्दर्भमा यस्तो कहिल्यै भएको छ? के हामी भूतका अनुभवले बताएको नीयत हेर्ने कि आशा गर्ने सरकारको?
आज सम्मको अनुभवमा नेपाः उपत्यकामा जोड दिँदा यस्तो थोरै मात्र उदाहरण छ जहाँ पीडितले न्यायोचित मुआब्जा पाएका छन। अर्थात धेरै जस्ता विकास निर्माणको चपेटमा विस्थापनमा परेकाहरूले न्यायिक मुआब्जा नै पाएका छैनन। कतिले पाउँदै पाएनन, कतिले पाए पनि अपुग र अन्यायिक ढङ्गले पायो। यही चरित्र रहँदै आएको छ राज्यको, उपत्यकावासी प्रति। अझै पनि कथा सुनाउँछन पहिलो चक्रपथ बनाउँदा जग्गा परेका पीडितहरू, हामीले न्यायोचित मुआब्जा र सरकारले गरेको वाचा पूरा पाएनौँ। पहिलो चक्रपथ बन्दा आदामा चिरिएको ग्वल बस्ती(पशुपतीको पुरानो बस्ती)का विस्थापित मानिसहरूलाई सोधे पुछ। माइतीघर मण्डला बनाउँदा पाएको मुआब्जाले एउटा अर्को घर पनि किन्न पाएन भनेका उठीबास भएका पीडितहरूलाई सोध्दा हुन्छ।
के अब यी परियोजनाबाट हामीले के आशा राख्नु?
स्थानीय जनताको आफ्नो भूमीबाट सम्बन्ध विच्छेद
यी दुबै परियोजनाले स्थानीय जनता रैथाने नागरिकको स्वामित्वमा रहेको जग्गा जमिनलाई आफूबाट विच्छेद गराउने काम गराइन्छ। स्थानीय जनताको सहभागिता बिना कुनै विकास निर्माणका कार्य गरिनुहुँदैन। विकास निर्माणका कार्यमा स्थानीय जनता पूर्ण सुसोचित हुनुपर्छ। स्थानीय जनतालाई यी परियोजनाको सबै अनुसन्धान पत्र, यसका फाइदा बेफाइदा बारे सुचित नगरे सम्म यो कार्य गरिएको हुँदैन।
सम्पदाको नाश

उक्त तस्वीर खास्ति चैत्यको हो। खास्ति चैत्यलाई बौद्द पनि भन्ने गरिन्छ। नभन्दैमा केही दशक अगाडी यति सुन्दर यो सम्पदा क्षेत्र आज एकै चोटी विकासका नाममा कुरुप र अस्तव्यस्त बन्न पुगेको छ। शायदै खास्ति चैत्यको एरियामा भद्रगोल र दामाडोल यति बढेको छ कि त्यस क्षेत्र अस्त व्यस्तता बयान गर्न सकिँदैन। आज ठुल ठूला भवनहरूले चैत्यलाई होच्याइसकेको अवस्था छ।


मौलिक नेवाः बस्ती(सम्पदा बस्ती)

नेपाः उपत्यका भनेको नेवाः सभ्यताको उद्गभ भूमी हो। यही ठाउँ हो जहाँ नेवाः सभ्यताको विकास भएको थियो। नेवाः सभ्यताले विकासका क्रममा मल्ल कालीन अवस्था सम्म आर्थिक, सामाजिक, सांस्कृतिक र अन्य धेरै आधारमा समपन्न भैसकेको सभ्यता हो। दुखदवस त्यो सुसम्पन्नता शाहहरूको हातमा परेपछि आज सम्म आउँदा नाजुक अवस्थामा छ।
नेपाः उपत्यका भनेको नेवाः सभ्यता विकास भएको थातथलो हो। नेपाः उपत्यका आसपासका क्षेत्रमा फिजिएको भूभाग जसलाई नेपाल मण्डल भनिन्छ, यसलाई नेवाः सभ्यताको उषा भूमी मानिछ। बस्ती विकासका क्रममा नेवारहरूको तत्कालीन परिस्थितिमा जीवनस्तर उच्च बनाउन लायक र हरेक दृष्टिकोणले सुहाउँदो घर ढाँचा र बस्ती सैली बनाएकाले यो विश्वमै भिन्न बस्ती हो। विश्वया यो भिन्न बस्तीहरू नेपाल मण्डल क्षेत्रमा बाहेक अरु कतै पाइँदैन। यसमा पनि नेपाः उपत्यकामै ५३ वटा नेवाः बस्तीहरू छन। मौलिकताको हिसाबले यो नेवाःहरूको मात्र नभएर देशकै धरोहर हो। तर दुःख लाग्दो कुरा के हो भने ख्वप, पन्ति, र केही स्थानहरूमा बाहेक यसको संरक्षण भएकै छैन।
हुन त नेवाः शैलीको घरै सर्वोकृष्ट हो भनेर चाही अति घमण्डी पनि गर्नु हुँदैन। यसमा पनि कमि कमजोरी नभएका होइनन्। तर यी कमिकमजोरीलाई समयको माग अनुसार परिणत गर्दै लैजाने हो भने नेपाः उपत्यका विश्वकै भिन्न शहर बन्थ्यो। पहिले नयाँ बस्ती थिएन, र पो सबै घरहरू नेवाः शैलीका थिए। अब नयाँ बस्ती बढ्नाले, पुरानो बस्तीमा पनि नीति र सोचको अभावले यो मौलिकता नाश हुँदछ।
नेवाः बस्तीको विशेषता थुप्रै छन। यसको व्याख्या गर्दै गएमा विषयवस्तु अनति मोडिने हुनाले अङ्ग्रेजी भाषामा लिखित एक लेखको लिङ्क हालेको छु जसमा नेवाः बस्ती, यसको विशेषता, महत्व र दीर्घकालीन विकास सँग सम्बन्ध देखाउँछ।
एक पटक पढ्नै पर्ने लिङ्क:The Relevance of Ancient Newa Urban Settlement Patterns to the Global Sustainability Crisis:
नेवार बस्तीहरूमा कला, कौशल्यता र शीपको ज्वलन्त प्रदर्शनी हुन्छ, त्यसैले यसलाई सम्पदा बस्ती पनि भनिने गरिन्छ। हिन्दु धर्मावलम्बी र बौद्ध मार्गी दुबैको संगम भरपूर अनुभव गरिन सकिन्छ भने कति त नेवाः मुस्लिम हरूको पनि उपस्थिति छ। अहिलेको काठमाडौँ, काठमाडौँ जस्तो देखिँदैन। हुन त काठमाडौँ राजधानी मात्र पनि होइन, यो संस्कृतिको राजधानी हो। हाम्रा विशेष सम्पदाहरू यही नेवाः सभ्यताकै पराकाष्ठा हुन।
हामीले नयाँ बस्तीहरू बनाएका छौँ। तर कसरी भन्दा खेतका जमिनमा प्लटिङ गरेर प्लटिङ व्यवसायीको जथाभावी ढङ्गको आधारमा। यदि हामीले पहिले जस्तै उचित योजना लगाएर गरेका थियौँ भने आज उपत्यका बिग्रने नै थिएन। घर पुरानै नेवाः शैलीमा बनाउने सकिन्छ, तर भित्रबाट उत्तिकै अत्याधुनिक पनि। किन नयाँ बस्तीमा गःलि हुनु हुँदैन? नयाँ बस्तीमा पनि बहाः, लाछि, ननि, चुक बनाऔँ न? नयाँ बस्तीमा कलात्मक घरहरू बनाउँदा केही बिग्रन्छ र? किन नयाँ बस्तीमा फल्चा दबू बनाइनु हुन्न र?
हामी नेवाः टाउन प्लानिङमै बस्ती बसाल्न सक्थ्यौँ तर हामीले वास्ता गरेनौँ। किनभने हामीलाई थाहा नै छैन यसको महत्व र विशेषता बारे। नेवाः बस्तीमा गरिएको स्पेस व्यवस्थापन, कला कृति र जीवनशैलीको हिसाबले दीर्घकालीन विकास सँग मेल खान्छ।

यो तस्वीर हो जापानको राजधानी टोक्यो शहर। यहाँ विकास यसरी भएको छ। पहिले जापानको राजधानी क्योटो थियो जुन एउटा सांस्कृतिक शहर हो। त्यसको पहिचान जोग्याउन राजधानी सारेर टोक्योमा ल्याएको थियो।
यो हो त्यही देश जापानको क्योटो शहर। यहाँ विकास यसरी भएको छ। गुगल खोजी गर्दा भेटाउनु हुनेछ, यस शहरमा बिजुलीको खम्बा राख्नाले सहर कुरुप भयो भन्दै पोल निकालेर बिजुली लाने अर्कै विकल्प अपनाए। चाह्यो भने विकास र पहिचान सँग सँगै लग्न सकिन्छ।
बचाउने भन्दा पनि बिगार्ने
के साँचै नै बाहिरी चक्रपथ नै आवश्यकता हो?
के साँचै सही हिसाबले स्याटलाइट शहर बन्न सक्छ?
नेपाः उपत्यकामा मात्र समस्या हुने होइन
अन्त्यमा
धेरै जसो व्यक्तिहरूले यो पढ्न बित्तिकै मलाई विकास विरोधी ठान्लान। तर म विकास विरोधी होइन, विनाश विरोधी हुँ। विकास भनेको संरचना होइन। विकास भनेको बाटो होइन। वास्तवमा कसैलाइ संरचनाको आवश्यकता भएको होइन। आफ्नो सुखद जीवन आवश्यकता हो, जीवन स्तर बढाउने आवश्यकता हो, त्यस कारणले संरचना निर्माण गरेको हो। तर यदि त्यही निर्मित संरचनाले जीवनका धेरै पाटोमा हानी गर्छ भने त्यो विकास होइन।
त्यसैले नेपाल सरकारले नेपाः उपत्यकामा उर्वरा भूमी संरक्षण एवम् कृषि पेशामा आर्थिक लाभ; भएका बस्तीहरूको स्तरोन्नती र सुदृढिकरण लगायत भएका बाटोहरूको विकास गर्दै; स्थानीय जन्ता बाहेक अरुलाई जग्गा बेचबिखनमा रोक लगाइ, स्थानको खोजी रहेको स्थानीय जनतालाई भने नयाँ बस्ती हाम्रै मौलिक ढाँचामा एकदम योजनाबद्द रूपले बनाइनुपर्छ; विकास निर्माण र नयाँ शहर निर्माणका कार्य देशको कुनै अन्य कुन्नामा लगेर गर्दा देश र जनताको लागि लाभदायक हुन्छ।rukshananewa.wordpress.com











































