विराटनगर : भ्रष्टाचारविरोधी कर्मचारीको रुपमा चिनिएका उपसचिव प्रेमप्रसाद संजेलले पुनः श्रम कार्यालय विराटनगर प्रमुखको कार्यभार सम्हालेका छन्। संजेल बुधबार बिहान ९ः४५ बजे कार्यालय पुगेका थिए।
गत असोज ११ गते उक्त कार्यालयमा प्रमुखको रुपमा हाजिर भएका संजेललाई ७० दिनमै सरुवा गरिएको थियो। उक्त सरुवाको विरोधमा संजेलले सर्वोच्च अदालतमा अन्तरिम आदेशको माग गर्दै मुद्दा दायर गरेका थिए। सर्वोच्चले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव सञ्जेलको सरुवा गर्ने निर्णय कार्यान्वयन नगर्न गत शुक्रबार अन्तरिम आदेश जारी गरेको थियो।
कार्यालयमा हाजिर हुँदै संजेलले तीन कामलाई प्राथमिकता तोकेका छन्। उनले श्रम कार्यालयमा सर्वसाधरणले हालेका मुद्दा छिन्ने, आफू कार्यालय प्रमुख हुँदा निरीक्षण गरेका उद्योग अनुगमन र त्यसपछि दिएका निर्देशन कार्यान्वयन गरे/नगरेको अनुगमन गर्ने र पुनः श्रम स्वीकृतिका लागि काम हुँदा हुने ढिलासुस्ती, घुसखोरी र अतिरिक्त शुल्क लिने काम रोक्ने तथा गरेको थाहा पाए कारबाही गर्ने प्रतिवद्धता गरे।
संजेलले आफू मातहतको कार्यालयमा आएका सेवाग्राहीको काम प्राथमिकता दिने बताउँदै बुधबार दुई वटा मुद्दाको पेशी तोक्ने र खुला इजलासबाट मुद्दा फैसला गर्ने उद्घोष गरे। पुनः श्रम स्वीकृति लिन आउनेहरुलाई श्रम कार्यालयबाहिर सटर खोलेर काम गरिरहेकाहरुले काम छिटो गरिदिन्छु भनी गैरकानुनी काम गरे अख्तियारलगाएर जेल हाल्ने चेनावनी दिए। ‘हामीले हाम्रो कार्यालयअगाडि पैसा उठाउने एजेन्ट राखेका होइनौं,’ संजेलले भने, ‘त्यस्तो काम गरेको पाइए अख्तियारलाई बुझाइदिन्छौं।’








































