भक्तपुर । भोटेकोशी बाढी तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा हराइरहेकाहरूको सकुशल फिर्ताको कामना गर्दै भक्तपुरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
शहीद राधेश्याम जोन्छे प्रतिष्ठानको आयोजनामा भक्तपुरको गहिटीस्थित लक्ष्मी नरसिंह मन्दिर अगाडि दीप प्रज्वलन कार्यक्रम गरिएको हो।
कार्यक्रममा प्रतिष्ठानका कार्यवाहक अध्यक्ष बाबुराजा जोशी, नेपाली काँग्रेस भक्तपुर जिल्ला कमिटीका सभापति दुर्लभ थापा, नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थलगायत विभिन्न क्षेत्रका महानुभावहरूको उपस्थिति रहेको थियो।
दीप प्रज्वलनमार्फत भोटेकोशी बाढी तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाउनेहरूको आत्माको चिरशान्तिको कामना गरिएको थियो। साथै, विपद्मा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभ तथा सम्पर्कविहीन एवं हराइरहेकाहरूको सकुशल फिर्ताको कामना गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले प्राकृतिक विपद्का कारण ज्यान गुमाएका व्यक्तिका परिवारप्रति समवेदना व्यक्त गर्दै विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएका थिए।
दीप प्रज्वलन कार्यक्रममार्फत विपद्मा ज्यान गुमाउनेहरूप्रति सम्मान व्यक्त गर्नुका साथै पीडित परिवारप्रति ऐक्यबद्धता र मानवीय संवेदना प्रकट गरिएको आयोजकले जनाएको छ।
विपद्मा परी ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली ।
शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना ।
घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताहरूको सकुशल फिर्ताको कामना ।








































