रुपन्देही। रुपन्देहीका स्थानीय तहहरूले यस वर्ष डेङ्गु नियन्त्रणका लागि सञ्चालन गरिने ‘खोज र नष्ट गर’ अभियान सुरु गर्न ढिलाइ गर्दा सङ्क्रमणको जोखिम बढ्ने देखिएको छ। विगतका वर्षहरूमा बर्खायाम सुरु भएसँगै अभियान सञ्चालन हुँदै आएको भए पनि यस वर्ष असारको अन्तिम सातासम्म पनि अधिकांश पालिकाले अभियान सुरु गरेका छैनन्।
रुपन्देहीमा स्थानीय तह र जिल्ला स्वास्थ्य कार्यालयले संयुक्त तथा छुट्टाछुट्टै रूपमा डेङ्गु नियन्त्रणका कार्यक्रम सञ्चालन गर्दै आएका छन्। गत वर्ष बुटवल उपमहानगरपालिकाले असार २० गतेदेखि अभियान सुरु गरेको थियो। तर यस वर्ष भने हालसम्म अभियानबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले यस वर्ष पनि डेङ्गु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिने जानकारी दिनुभयो। अभियानअन्तर्गत नगर क्षेत्रका फोहोर थुप्रिने स्थान, ग्यारेज, पुराना टायर, गमला, नाली तथा कुलोको सरसफाइ गरिने, साथै लामखुट्टे नियन्त्रणका लागि आवश्यक स्थानमा कीटनाशक विषादी छर्किने तयारी गरिएको उहाँले बताउनुभयो।
कञ्चन गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, सैनामैना नगरपालिका, गैडहवा गाउँपालिका, देवदह नगरपालिका लगायतका स्थानीय तहले पनि प्रत्येक वर्ष डेङ्गु नियन्त्रणका लागि अभियान सञ्चालन गर्दै आएका छन्। अभियानअन्तर्गत पानी जम्ने स्थानको सरसफाइ, झाडी फँडानी तथा आवश्यक स्थानमा कीटनाशक विषादी छर्किने कार्य गरिँदै आएको छ।
कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले गत वर्ष सञ्चालन गरिएको डेङ्गु नियन्त्रण अभियान यस वर्ष पनि निरन्तरता दिइने बताउनुभयो।
स्वास्थ्यकर्मीका अनुसार स्थानीय तह र जिल्ला स्वास्थ्य कार्यालयले नियमित रूपमा सञ्चालन गर्ने ‘खोज र नष्ट गर’ अभियानकै कारण पछिल्ला वर्षहरूमा रुपन्देहीमा डेङ्गु सङ्क्रमण नियन्त्रणमा सहयोग पुगेको छ। बर्खायाममा एडिस जातका लामखुट्टेको प्रजनन तीव्र हुने भएकाले जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले स्थानीय तहसँगको सहकार्यमा डेङ्गु नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ।






































