भक्तपुर । नेपालमा भूकम्प आउदा राजाको समेत मृत्यु भएको थियो। बिबिसी नेपाली सेवाले प्रकाशित गरेको रिपोर्टका अनुसार, गोपाल राजवंशावली अनुसार वि.सं. १३१२ को भैँचालोमा त्यसबेलाका राजा अभय मल्लको मृत्यु भएको उल्लेख छ। त्यस भैँचालोले देवल र घरहरू धेरै भत्किएको र तीन भागको एक भाग प्रजाहरूको मृत्यु भएको भन्ने विवरण त्यसमा देखिन्छ। त्यसबेला चार महिनासम्म जमिन हल्लिरहेको वंशावलीमा उल्लेख भएकाले उसबेला पनि अहिले जस्तै परकम्पहरू आएका रहेछन् भन्ने बुझिन्छ। भैँचालोकै कारण १५ दिन देखि एक महिनासम्न देश छाडेर बाहिर जानुपरेको विवरण ऐतिहासिक दस्ताबेजहरूमा पाइन्छ।
राजा अरि मल्लको पालामा भक्तपुर शासनको केन्द्र थियो। वि.सं. १४०१ मा गएको भैँचालोलाई चाहिँ ठूलो भैँचालो भनेर गोपालराजवंशावलीमा लेखिएको छ। त्यो भैँचालो दशैँको फूलपातीका दिन गएको रहेछ। त्यसको भोलिपल्ट महाष्टमीका दिन राजा अरि मल्लको मृत्यु भएको ऐतिहासिक विवरणहरू भेटिएका छन्। त्यसबेला भक्तपुर शासनको केन्द्र थियो। तर, अरि मल्लको मृत्यु भने देवपाटन (पशुपतिक्षेत्र) मा भएको उल्लेख छ।
त्यसबेला राजाहरूले देवपाटनमा नै राज्याभिषेक गर्ने चलन थियो। मृत्यु हुन लागेकाहरूलाई पशुपतिक्षेत्र लाने चलनअनुसार अरि मल्ललाई पनि त्यसबेला देवपाटन लगिएको हुन सक्छ। वि.सं. १२८० देखि वि.सं. १९९० सम्ममा ४८ वटा भूकम्प गएको विवरणहरू तथ्यसहित भेटिएका छन्। त्यस यता २०४५ सालमा मझौला खालको र २०७२ सालमा ठूलो भैँचालो गएका हुन्। झन्डै आठ सय वर्ष (७९५ वर्ष)को नेपालको इतिहासमा २०४५ सालको भूकम्पलाई पनि सामेल गर्दा कुल ५० वटा ठूला भूकम्प गएको देखिन्छ। कतिपय ऐतिहासिक विवरणहरूमा ती भैँचालाहरूले देशमा ठूलो क्षति पुगेको थियो।








































