रक्तसञ्चार सेवा रेडक्रस केन्द्रीय कार्यालयको नयाँ भवनबाट शुरु

303

ललितपुर । बालकुमारीबाट सञ्चालन हुँदै आएको नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाका सम्पूर्ण सेवा गतिविधिहरु आजबाट सोसाइटीको कालीमाटी, रेडक्रमार्गस्थित केन्द्रीय कार्यालय परिसरमा बनेको नयाँ भवनबाट सञ्चालन शुरु भएको छ ।
सो भवनको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाले सर्वपक्षीय सहयोग र विश्वासबाट नै रक्त सञ्चार सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्न रेडक्रस सक्षम भएको बताउनुभयो । उहाँले सम्पूर्ण स्वयंसेवी रक्तदाता, रक्तदाताहरुको संगठन र सरकारलगाएत विभिन्न सरोकारवाला व्यक्ति र निकायहरुलाई धन्यवाद व्यक्त गर्दै निरन्तर सहयोगका लागि आव्हान गर्नुभयो ।
सोहि अवसरमा केन्द्रीय रक्तसञ्चार व्यवस्थापन समितिका सभापति डाक्टर युवाराज शर्माले गुणस्तरीय र सुरक्षित रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी प्रतिवद्ध रहेको बताउनुभयो ।
सो अवसरमा सोसाइटीका महामन्त्री देवरत्न धाख्वा र उपमहामन्त्री हरिप्रसाद न्यौपानेले नयाँ भवनबाट विरामी र विरामीका आफन्तहरुलाई रक्तसञ्चार सेवा लिन अझ सहज हुने बताउनुभयो ।
सोहि अवसरमा नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश प्रसाद ढकालले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
२०७२ सालको भूकम्पबाट भृकुटीमण्डपस्थित केन्द्रीय रक्तसञ्चार सेवाको भवनमा क्षति पुगेपछि तत्कालका लागि आपत्कालीन सेवा केन्द्र बालकुमारीबाट सेवा सञ्चालन हुँदै आएको थियो । सो स्थानबाट सेवा दिने क्रममा स्थान अभाव भई साँगुरो भएको र धेरै सेवाग्राहीलाई यातायात सेवाको दृष्टिले अपायक परेको गुनासो आइरहेकोले थाइ रेडक्रसको सहायोगमा निर्माण भएको नयाँ भवनमा धेरै सेवाग्राहीलाई पायक पर्ने र सेवा दिन सहज हुने छ ।