काठमाडौँ -राजधानीको त्रिपुरेश्वरस्थित एक मोटरसाइकल वर्कशपमा बिहिबार साँझ भीषण आगलागी भएको छ ।
आगलागीमा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
आगलागीमा परी मृत्यु हुनेमा मुलायम मिया भएको महानगरीय प्रहरी बृत्त कालिमाटीले जनाएको छ ।
उनको शब पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
त्रिपुरेश्वरस्थित जयन्ती आयल स्टोरसँगै रहेको मोटरसाइकल वर्कशपमा आगलागी भएको हो । दमकल, प्रहरी तथा स्थानीयको सक्रियतामा आगलागी नियन्त्रणमा लिइएको छ ।
वारुणयन्त्र लगायत आगलागी नियन्त्रण दस्ताले समयमै काम आगलागी नियन्त्रणमा लिन सक्दा ठूलो दुर्घटना टरेको छ ।
नजिकै रहेको पेट्रोल पम्पमा आगो फैलिन नदिन निकै सम्यमता अपनाइएको थियो । बाक्लो घर बस्ती भएको स्थान नजिकै आगलागी हुँदा सो क्षेत्रका बासिन्दा त्रसित बनेका थिए ।
आगलागी विद्युत सर्ट भएर सुरु भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।







































