संगठित सुन तस्करी र सनम शाक्य हत्या आरोपमा पक्राउ परेकामध्ये तीन प्रहरीसहित सातजना तारेखमा छुटेका छन् । जिल्ला अदालतबाट छुटेका दुईजनालाई भने उच्च अदालतले थुनामा पठाएको छ ।

उच्च अदालतमा पुनरावेदन गर्नेमध्ये २० जनाको सुनुवाइ हुन बाँकी नै छ । जिल्ला अदालतबाट पाँच र उच्च अदालतबाट चारजना तारेखमा बसेर पुर्पक्ष गर्न पाउने गरी छुटेका छन् । उच्च अदालतले मंगलबार एसपी विकासराज खनाललाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ । न्यायाधीश नगेन्द्रलाल कर्ण र थिरबहादुर कार्कीको इजलासले उनलाई तारेखमा छाड्ने आदेश दिएको हो ।
यसअघि उच्च अदालतको आदेशमा तारेखमा छुट्नेमा एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी छन् । सबै प्रहरी साधारण तारेखमा छुटेका हुन् । अभियुक्त रामकुमार तिवारी भने पाँच लाख धरौटीमा छुटेका छन् ।
जिल्ला अदालतबाट तारेखमा छुट्नेमा मनीचेन्जर सञ्चालक झापाका विनोद अधिकारी र दोलखाका मोतीराम श्रेष्ठ छन् । मोरङ उर्लाबारीका सुनपसल सञ्चालक रेवन्त आचार्य पनि धरौटीमा छुटेका छन् ।
एसपी श्याम खत्रीका चालक विष्णुबहादुर खड्का र बडीगार्ड अम्मरबहादुर थापालाई जिल्ला अदालतले तारेखमा छाड्न गरेको फैसला उच्च अदालतले उल्टाएको छ । प्रमाण नष्ट गर्न सक्ने भन्दै उच्च अदालतले दुवैलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको छ । तर, दुवै जना फरार छन् ।
उच्च अदालतले टेकराज मल्ल (ठकुरी), राजनकुमार, महावीर गोल्यान, सम्बिरप्रसाद तोलांगे, तुलाराम थारू, लाक्पा शेर्पा, पुण्यप्रसाद लामा, हेमन्त गौतम, राजन थापाको हकमा भने जिल्ला अदालतकै आदेश सदर गरेको छ । उनीहरू मुद्दा किनार नलागेसम्म थुनामै रहनेछन् ।
थुनामा रहेकालाई तत्काल झुम्का कारागार नपठाइने
सुनकाण्डका अधिकांश अभियुक्तले झुम्का कारागार सरुवा हुन निवेदन दिएपछि मोरङ कारागार प्रशासनले कडाइ गरेको छ । बाँकी बन्दीका हकमा परिस्थितिको ठोस विश्लेषण नगरी मोरङ कारागारले झुम्का कारागार नपठाउने भएको हो ।
परिस्थितिको ठोस विश्लेषण गरेर सर्नुपर्ने विशेष कारण देखिए मात्र झुम्का कारगार पठाउने मोरङ कारागारका जेलर भीमराज पोखरेलले बताए । सुनकाण्डमा पक्राउ परेकामध्ये अहिले १८ जना झुम्का कारागार छन् । मोरङ कारागारमा रहेका पाँचजनाले सरुवाको निवेदन दिएका छन् ।
पछिल्लोपटक झुम्का सरुवा माग्नेमा विमल पोद्दार, सञ्जय खेतान भनिने प्रभात अग्रवाल, आरडी राजु भनिने राजकुमार दारुका, डब्बु भनिने इम्तियाज उद्दिन र सलमान खान भनिने सैयदअकबर साह छन् । मोरङ कारागार अढाइ सय कैदीबन्दी क्षमताको छ । तर, यो कारागारमा अहिले सात सय कैदीबन्दी छन् ।
सुनकाण्डका अभियुक्त धमाधम झुम्का कारागार पठाइएपछि मोरङ कारागारका अन्य कैदीबन्दीले आफूहरूमाथि विभेद भएको गुनासो गरेका छन् । महिनौँअघि झुम्का सरुवा मागेर निवेदन दिएकाको सुनुवाइ नभएको अरू कैदीबन्दीको गुनासो छ ।
The post सुनकाण्डका सात आरोपी तारेखमा छुटे appeared first on Naya Patrika.





































