आइतबारदेखि लागु हुने गरी ट्याक्सी भाडामा वृद्धि

459

काठमाडौं– सरकारले असोज ७ आइतबारदेखि लागु हुने गरी ट्याक्सी भाडामा वृद्धि गरेको छ। शनिबार यातायात व्यवसायी र सरकारबीच भएको सहमतिअनुसार यातायात व्यवस्था विभागले ट्याक्सी भाडा बढाउने निर्णय गरेको हो। 

विभागले हालको भाडामा १० प्रतिशत बढाएर भाडादर सार्वजनिक गरेको छ। विभागका अनुसार हाल प्रतिकिलोमिटर यात्रामा लाग्ने ३५ रुपैयाँ भाडालाई बढाएर ३९ रुपैयाँ पुर्‍याएको छ। भाडा वृद्धि भएसँगै ट्याक्सी चढ्ने यात्रुले अब एक किलोमिटर यात्रामा ५३ रुपैयाँ तिनुपर्ने भएको छ।

ट्याक्सी चढ्दा मिटरमा सुरुमै १४ रुपैयाँ देखाएको हुन्छ। यसलाई ‘फ्ल्याक डाउन’ रकम भनिन्छ। यही रकममा प्रति २ सय मिटर ७ रुपैयाँ ८० पैसा थप हुँदै जान्छ। यसअघि प्रति २ सय मिटर ७ रुपैयाँ मात्रै थियो। 

यसैगरी राति ट्याक्सी चढ्दा भने प्रतिकिलोमिटर ५८ रुपैयाँ ५० पैसा लाग्ने भएको छ। यसअघि ५२ रुपैयाँ ५० पैसा मात्रै थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने पर्यटक ट्याक्सीको हकमा ५ किलोमिटरसम्म साविकको ४ सय ८१ रुपैयाँबाट बढाएर ५ सय २९ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ। ५ किलोमिटरपछि प्रति किलोमिटर माथिका रुटहरुमा ६८ रुपैयाँका दरले लिन पाउनेमा १० प्रतिशतले बढाई ७४ रुपैयाँ ८० पैसा बनाएको छ। 

अधिकतम दुरीमा साविकको १ हजार ५२ रुपैयाँमा १० प्रतिशत बढाई १ हजार १ सय ५७ रुपैयाँ २० पैसा कायम गरिएको विभागले स्पष्ट पारेको छ।

Source link