काठमाडौं । निर्माण व्यवसायी शरदकुमार गौचनको हत्या गर्नुका पछाडि २० करोड लगानी मुख्य कारण रहेको हत्याका मुख्य योजनाकार समिरमानसिंह बस्नेतले खुलासा गरेका छन । गौचनको कम्पनी डाँफे कन्स्ट्रक्सनमार्फत लगानी भएको २० करोडमध्येको कमिसन आफूलाई नदिएपछि हत्या गरेको वयान समिरमानले प्रहरी समक्ष दिएका छन् । भारतबाट पक्रेर नेपाल ल्याएपछि वस्नेतलाई आइतबार सार्वजनिक गर्दै प्रहरीले यस्तो जानकारी दिएको हो ।
आफ्नो एक करोड रुपैयाँको सेयर रहेको र सोही रकम फिर्ता नदिएपछि हत्या गरेको प्रहरीसमक्ष समिरले बताएका छन्।
गौचन हत्यामा पहिले नै मारिएका कुमार घैंटेको सम्बन्ध पनि जोडिएको पत्ता लागेको छ । गौचनले आफ्नो डाँफे कन्स्ट्रक्सनमा शेयर दिने भनेर गजुरमुखी कन्स्ट्रक्सनका मुख्य लगानीकर्ता कुमार घैंटेमार्फत साढे २ करोड लिएका थिए । जसमध्ये एक करोड आफ्नो रहेको दावी समिरमानले गर्दै त्यसलगानीवापनको कमिसन माग्दै आएका थिए । कुमार घैंटे प्रहरी कारवाहीमा २०७२ भदौ ३ मारिएका थिए।
गौचनको कम्पनीमा रहेको एक करोड सेयर वापतको रकम र विभिन्न ठेक्काको २० करोडको दुई प्रतिशत कमिसन नदिएपछि हत्या गरेको समिरमाले वयान दिएको प्रहरीले जानकारी दिएको छ ।
गौचनसँग उक्त रकम दिन पटकपटक आग्रह गरे पनि रकम नदिएपछि हत्या गर्न लगाएको वस्नेतले बताएका छन् ।
गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित प्रयागचोकमा गोली हानी हत्या भएको थियो। मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गाडीमा रहेका गौचनमाथि गोली प्रहार गरेका थिए।
वस्नेतलाई प्रहरीको विशेष अनुसन्धान व्युरोले भारतबाट पक्राउ गरेको थियो ।







































