स्कुलको आफ्नै खेत नभएपछि के गर्नु त ? (असार १५ फोटो फिचर)

178

काठमाडौँ । पछिल्लो समयमा धेरै विद्यालयहरू आफ्ना विद्यार्थीलाई पढाइको साथै कृषि, पशुपालन लगायत अन्य व्यवसायीका ज्ञान व्यवहारिक रूपमै सिकाउन चाहन्छन् । तर त्यसको लागि ऊनीहरूसँग आवश्यक पर्ने यथेष्ट जग्गा जमिन रसाधन हुँदैन ।

आफ्नै जमिन नभए तापनि ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भने झैँ राजधानीको सुविधानगरस्थित ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलले विद्यालयको सिमेन्ट ढलान गरेको प्राङ्गणमा माटो विच्छयाएर कृत्रिम खेत बनाई साना विद्यार्थीलाई धान रोप्न सिकाएर नौलो उदाहरण दिएको छ ।

यसको लागि विद्यालय प्रशासनले विद्यालयमा भएका काम नलाग्ने पुराना होर्डिङ बोर्ड तथा फ्लेक्स विच्छयाएर त्यसमाथि किनेर ल्याएको माटो राखी पानी हालेर सानो कक्षाका विद्यार्थीलाई पालैपालो धान रोप्न लगाएको थियो । रोप्न मिल्ने धानको बोट भने विद्यालयले किसानसँग किनेर ल्याएको थियो ।

असार १५ अर्थात् राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको अवसर पारेर विद्यालयले विद्यालय प्राङ्गणमै धान रोप्ने व्यवस्था मिलाएको हो ।

साना कक्षाका विद्यार्थीलाई धान रोप्नको लागि टाढा खेतमा लैजाँदा कठिनाइ हुने र विद्यालय हातामै त्यस्तो अवसर दिँदा अरू कक्षाका सबै विद्यार्थीले पनि देखेर व्यवहारिक रूपमा सिक्ने अवसर पाउने विद्यालयका निर्देशक ममता शाह बताउँछिन् ।

विद्यालयको प्रिस्कुलदेखि ३ कक्षासम्मका विद्याथीले विद्यालय प्राङ्गणमा बनाएको कृत्रिम खेतमा पालैपालो धान रोपेका थिए भने ४, ५ र ८, ९ र १० का विद्यार्थीले धान रोपेको हेरेका थिए ।

यसै बिच राष्ट्रिय धान दिवसकै अवसरमा विद्यालयले कक्षा ६ र ७ का ४८ जना विद्यार्थीलाई सहभागी गराई राजधानीको बुढानीलकण्ठ नगरपालिका १३ स्थित हिल स्टेसन फार्म तथा होम स्टेमा लगेर २ दिने व्यवहारिक ज्ञान सिकाएको छ ।

होम स्टेमा रहेको खेतमा विद्यार्थीहरू आफैँले बाउसे गरी पालैपालो धान रोपको थिए भने उनीहरूलाई त्यहाँ पालिएका घरपालुवा जनावर सँग घुलमिल हुने अवसरदेखि नजिकैको डाँडासम्म पैदल यात्रा गराई पूर्ण प्राङ्गारिक उत्पादनबाट तयार गरिएका खानेकुरा खुवाइएको थियो ।

विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शिव गैह्रेको नेतृत्वमा शिक्षिका समीक्षा नहर्की र सुवर्ण धौगोडा सहभागी थिए ।