सम्झनका लागि मात्र सम्झिए बासुकला

1230

 ताथली । नेपाल मजदुर किसान पार्टीका असल कार्यकर्ता एवं समाजसेवी जयराम बासुकलालाई क्रमशः ताथली र भक्तपुरवासीले बिर्संदै गएका छन् ।

हालको चाँगुनारयण नगरपालिका वडा नं. ९ साबिक ताथली गाविसका पूर्वअध्यक्ष जयराम बासुकलाको योगदानलाई विर्संदा साउन २४ गते गर्नुपर्ने स्मृति सभा भदौ ३ गतेमात्र हुन पुग्यो ।

२००९ साल असार ३ गते ताथली सौडोलमा जन्मिएका बासुकलाको निधन २०६२ साल साउन २४ मा भएको थियो । सोही दिन गर्नुपर्ने स्मृति कार्यक्रम दश दिनपछि मात्र गरिएको हो ।

नेपाल मजदुर किसान पार्टीका इमान्दार कार्यकर्ता एवं समाजसेवीका रुपमा परिचित बासुकलाको १२ औं वार्षिकीका क्रममा शनिबार जयराम स्मृति अक्षय कोषले कार्यक्रम गरे पनि औपचारिकतामा सीमित भएकोमा धेरैको चिन्ता थियो ।

‘जयराम दाईको असामयिक निधनले गर्दा उहाँले पूरा गर्न नसकेका अभिभाराहरू हामीले पूरा गर्न सके मात्र स्मृति सभाको सार्थकता हुनेछ । संघर्ष लामो हुने भएकाले नयाँ पुस्ताले पार्टीका अग्रज नेता–कार्यकर्ताहरूबाट सिक्न आवश्यक छ ।’ भन्दै कार्यक्रममा सहभागी भएका नेमकिपा भक्तपुर जिल्ला समितिका उपाध्यक्ष सुरेन्द्रराज गोसाईले जयराम बासुकलाको योगदानबारे नयाँ पुस्तालाई जानकारी दिने काम नगरेकोमा चिन्ता व्यक्त गरे ।

उनले ताथलीको हरेक विकासमा जयराम बासुकलाको योगदान भए पनि उक्त योगदानलाई सम्झेर पार्टीका प्रत्येक व्यक्ति तथा जयराम बासुकलाको अगुवाईमा भएका प्रत्येक कामको नेतृत्वमा पुगेका संघसंस्थाका प्रतिनीधिले बासुकललाई सम्झिने काम गर्न पार्टी कार्यकर्तालाई निर्देशन पनि दिए । उनले जयराम बासुकलाको स्मृति गर्ने दिन साउन २४ गते कुनै काम नहुँदा जयराम बासुकलालाई बिर्संदै गएको भान सबैतिरबाट हुन थालेकोले पार्टीको आलोचना भएको पनि बताए ।
‘जयराम बासुकलाको योगदानलाई सम्झेन भन्ने कुरालाई आलोचनात्मक रुपले लिनुपर्छ, योगदानलाई भुल्दै जानेलाई पार्टीका सबै समर्थक, शुचचिन्तकले चेतावनी दिनुपर्छ ।’ उनले भने ।

पार्टी जिल्ला उपाध्यक्ष गोसाईले पार्टी कार्यकर्ताहरूले सिद्धान्त र विचारलाई परिस्कृत बनाउन पार्टी प्रकाशनहरू नियमित अध्ययन गर्नुपर्ने र संगठनको लागि समय दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा चाँगुनारायण नपा वडा नं ९ का अध्यक्ष नारायणभक्त न्हेमाफुकीले जयराम बासुकलाको योगदानलाई सम्झेको तर साउन २४ गते भने गाईजात्रा भएकोले उक्त दिन कार्यक्रम हुन नसक्दा पार्टी आलोचित बनेको बताए । ‘२४ गते विशेष कारणले कार्यक्रम गर्न सकेनौं, २८ गते गर्ने भनेका थियौं तर प्राविधिक कारणले हुन सकेन फेरि पछि सर्न पुग्यो’, उनले भने, ‘हामीले जयराम बासुकलाको योगदान बिर्सेका छैनौं, योपटक ढिला चाहिँ भएको हो ।’

चाँगुनारायण नपा वडा नं ९ का वडाध्यक्ष गणेश त्यातले जयराम बासुकलाको स्मरण गरेका थिए । कोषका अध्यक्ष रामचन्द्र बासीको सभापतित्वमा भएको कार्यक्रममा चन्द्रबहादुर थुयाजू र घनश्याम खड्काले पनि कार्यक्रम ढिला हुन गएको कारणबारे जानकारी दिँदै बासुकलाको योगदानबारेमा बोलेका थिए ।