इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनको दोस्रो खेलमा नै आर्सनललाई धक्का लागेको छ । शनिबार राति भएको खेलमा आर्सनल स्टोक सिटीसँग १–० ले पराजित भयो ।घरेलु मैदानमा भएको खेलमा स्टोक सिटीलाई जिताउन जेसी रोड्रिग्वेजले ४७ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । रियल मड्रिडका पूर्व खेलाडी जेसीले स्टोकका लागि गरेको यो पहिलो गोल हो । आर्सनलका प्रशिक्षक आर्सेन वेङगरले भने आफ्नो टिमले गरेको एउटा गोललाई मान्यता नदिइएको र एउटा पेनाल्टी पाउने ठाउँमा पनि नदिइएको भन्दै गुनासो गरेका छन् । पहिलो हाफमा हेक्टर बेलरिनलाई स्टोकका मामी बिरामडिओउफले लडाएकाले आफ्नो टिमले पेनाल्टी पाउनु पर्ने वेङ्गरको तर्क थियो । यस्तै आर्सनलका एलेक्जे०डर लाकाजेट्टीले गरेको गोल रेफ्रीले अफसाइड भन्दै मान्यता दिएनन् । दुई खेलमा एकमा मात्रै जित निकालेको आर्सनलको तीन अंक मात्रै छ ।