मानव अंगका निर्देशक विरुद्ध डाक्टर, नर्ससहित ९१ कर्मचारी आन्दोलनमा

1557

भक्तपुर । मानव अंग प्रत्यारोपण केन्द्रमा प्रशासनको ज्यादति विरुद्ध त्यहाँ कार्यरत डाक्टर, नर्स र कर्मचारी आन्दोलित भएका छन् । अस्पतालको स्थापना कालदेखि सेवा गर्दै आएका नर्सहरु त्रजिना जति, सजना देउला, कृति श्रेष्ठका साथै केही कर्मचारीलाई निष्कासन गरिएपछि उनीहरु आन्दोलनमा उत्रेका हुन् ।

अस्पतालका निर्देशक पुकारचन्द्र श्रेष्ठ र नर्सिङ निर्देशक इन्दिरा प्रधानले अस्पतालमा कर्मचारी नियुक्तिदेखि बर्खास्तीसम्म मनलाग्दी गरिरहेको उनीहरुले आरोप लगाएका छन् । अस्पतालमा भइरहेको अनियमितता विरुद्ध बोलेको भन्दै पछिल्लो समय नर्स त्रजिना जति निष्कासनमा परेकी थिइन् ।

अस्पताल प्रशासनले नर्स त्रजिनालाई गलत भन्ने आशयको लिखतमा कर्मचारीहरुलाई जबर्जस्ती हस्ताक्षर गराउन खोजेपछि डाक्टर, नर्स र कर्मचारीहरुले त्रजिनाको पक्षमा हस्ताक्षर गरेका छन् ।

अस्पतालका ९१ डाक्टर, नर्स र कर्मचारीले अस्पतालका निर्देशक र प्रशासन विरुद्ध स्वास्थ्य मन्त्रालयमा उजुरी दिएका छन् । आन्दोलनमा उत्रेकामध्ये केहीले आइतबार बिहानदेखि अस्पतालमा धर्ना दिएका छन् भने केहीले मन्त्रालय पुगेर न्यायका लागि गुहारेका हुन् ।

उनीहरुलाई अस्पतालमा डायलाइसिसका लागि आइरहने र उपचार गराइरहेका झन्डै १ सय ५० जना बिरामीले साथ दिएका छन् । बिरामीहरुले आफूहरुको उपचारमा अस्पताल प्रशासनले मनोमानी गरेको भन्दै आन्दोलनमा साथ दिएका हुन् ।

आन्दोलनमा उत्रेका डाक्टर र नर्सहरुले अस्पतालका निर्देशक डा श्रेष्ठ र नर्सिङ निर्देशक प्रधानको मिलेमतोमा कर्मचारीमाथि ज्यादति हुनुका साथै अनियमितता समेत भएको आरोप लगाएका छन् ।

आन्दोलनमा अस्पतालका धेरै विशेषज्ञ चिकित्सकको पनि समर्थन रहेको एक डाक्टरले बताए । ‘बिरामीको उपचारमा अवरोध नहोस् भनेर केही साथीहरु उपचारमा सक्रिय हुनुहुन्छ । तर, हाम्रा माग स्वास्थ्य मन्त्रालयले सम्बोधन नगरे जुनसुकै हदसम्म जान तयार छौं,’ उनले भने ।

कर्मचारी भर्नामा मनपरी भइरहेको, भोलिन्टियर, सेसन वेसिस भन्दै श्रम शोषण गरेको, एउटै काममा कार्यरत कर्मचारीको पारिश्रमिकमा ठूलो विभेद रहेको, टेन्डरमा मनलाग्दी भइरहेको र लामो समयदेखि सेवामा रहेका कर्मचारीलाई उचित सुविधा नदिएको लगायतका विषय उनीहरुले उठाएका छन् ।

अस्पतालमा भइरहेका यस्ता गलत कार्य विरुद्ध औंला उठाएकै कारण नर्स त्रजिना जतिलाई निकालिएकाले आफूहरु आन्दोलनमा उत्रिनुपरेकोे ती डाक्टरले बताए। निर्देशक डा श्रेष्ठको माथिल्ला निकायसम्म पहुँच भएकाले नियामक निकायले माग तत्काल सम्बोधन गर्नेमा केहीले शंका व्यक्त गरेका छन्।

स्रोतका अनुसार, नर्स त्रजिनाले आफू निकालिएको कारण माग्दै स्वास्थ्यखबर डटकममार्फत स्वास्थ्य मन्त्रीलाई खुलापत्र लेखेकै दिन निर्देशक श्रेष्ठले स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेललाई भेटिसकेका छन् । निर्देशक श्रेष्ठले मन्त्रीमाथि प्रभाव जमाउन खोजे पनि स्वास्थ्य क्षेत्र सुधारमा लागिपरेका मन्त्री पोखरेलले निष्पक्ष छानबिन गरेर न्याय दिलाउने आशा नर्स त्रजिनाको छ। उनी भन्छिन्, ‘हामीले आज मन्त्रालयमा औपचारिक रुपमा उजुरी दर्ता गराएका छौं । स्वास्थ्य मन्त्री न्यायप्रेमी भएकाले सत्य–तथ्य छानबिन गरी न्याय दिलाउने आशा छ।’

आन्दोलनमा नेपाल नर्सिङ संघले समेत समर्थन गरेको नर्सहरुले बताएका छन् । आन्दोलनरत कर्मचारीहरुले आफू आवद्ध विभिन्न संघ–संस्थालाई समेत आन्दोलनमा ऐक्यबद्धता जनाउन आग्रह गरेका छन्।