लिभरपुल च्याम्पियन्स लिगको समूह चरणको लागि छनोट

412

काठमाडौं । इंग्लिश क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको समूह चरणको लागि छनोट भएको छ । च्याम्पियन्स लिग छनोट अन्तर्गत प्ले अफको दोस्रो लेगमा बुधबार राती जर्मन क्लब होफनहाइमलाई ४ – २ ले पराजित गर्दै लिभरपुल च्याम्पियन्स लिगको लागि छनोट भएको हो ।

घरेलु मैदानमा भएको दोस्रो लेगको जितसँगै लिभरपुलले समग्रमा ६ – ३ को जितसहित च्याम्पियन्स लिगमा स्थान बनाएको हो । पहिलो लेगमा लिभरपुलले उसैको मैदानमा होफनहाइमलाई २–१ ले पराजित गरेको थियो । दोस्रो लेगमा लिभरपुललाई जित दिलाउन इम्रे कैनले दुई तथा मोहमद सलाह र रोबर्टो फिर्मिनोले समान एक एक गोल गरे ।

होफनहाइमको लागि मार्क उथ र सान्ड्रो वाग्नरले  एक एक गोल फर्काए ।

एनफिल्डमा भएको खेलमा लिभरपुलले होफनहाइमबिरुद्ध पहिलो हाफमै ३ – १ को अग्रता बनाएको थियो । खेलको १० औं मिनेटमा कैनले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए । खेलको १८ औं मिनेटमा सलाहले लिभरपुलको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको २८ औं मिनेटमा कैनले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलको अग्रता ३ – ० को बनाए । तर, खेलको २८ औं मिनेटमा होफनहाइमका मार्कले एक गोल फर्काएपछि पहिलो हाफमा लिभरपुल ३ – १ ले अघि रह्यो ।

दोस्रो हाफमा दुवै टोलीले एक एक गोल गरे । खेलको ६३ औं मिनेटमा फिर्मिनोले गोल गर्दै लिभरपुलको अग्रता थप फराकिलो बनाए । तर, खेलको ७९ औं मिनेटमा होफनहाइमका सान्ड्रोले एक गोल गरेपछि खेल ४ – २ को अवस्थामा पुग्यो । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन र खेल लिभरपुलले आफ्नो बनायो ।