मेयर सोम मिश्रलाई नेकपा एमाले जिल्ला सचिवालय सदस्य कमरेड मदन महर्जनको प्रश्न : हिजो जसरी छिरेको हो, त्यसरी नै बाहिरिने आँट छ ?

1032

चाँगुनारायण   : आफ्नो नगरपालिकाका जनप्रतिनिधीलाई तपाँईके भन्न चाहनुहुन्छ भन्ने प्रश्नमा नेकपा एमाले जिल्ला सचिवालय सदस्य कमरेड मदन महर्जन यसो भन्नुहुन्छ

जनप्रतिनीधि भए पनि जनताका दैनिकीका समस्या तत्कालै समाधान गर्नतिर अग्रसर बन्नुपर्छ । त्यही दिशातिर मेयर, उपमेयर, वडाध्यक्षहरू लाग्नुपर्छ ।

नगरपालिकालाई भ्रष्टाचार मुक्त बनाएको हेर्न चाहने म चाँगुनारायण नगरपालिका दुवाकोटवासी मदन महर्जन । म अहिले पार्टीकै काममा व्यस्त छु । चुनावको क्रममा जित हासिल गर्न जुन एजेण्डा लिएर पदमा पुगे, यदि त्यो एजेण्डा विर्से भने पार्टी, मतदाताले चित्त दुखाउँछन्, जनताको चित्त दुखाउने काम कुनैले पनि गरेको खण्डमा त्यो क्षम्य हुनेछैन ।


वडा नं. १ देखि ९ सम्मका सबै न्यायप्रेमी जनताको आवश्यकता र अपेक्षाको उचित मूल्यांकन सहित दलीय स्वार्थभन्दा मानवीय मूल्य र मान्यतामा ती जनतालाई स्थापित गराउने काम गर्न सक्नुपर्छ । जनतालाई रोजगारी दिने, उद्यमी बनाउने, शैक्षिक र स्वास्थ्यका दृष्टिले सुविधा दिने काम गर्नुपर्छ ।

महिलाहरू माथि हुने गरेका विभिन्न घरेलु हिंसा, यौनजन्य हिंसाको अन्त्य गराउने ठोस नीति बनाउनुपर्छ । पदमा पुगिहाँले अब मलाई जनता चाहिएन भनेर काम गर्ने मन राख्नुभएको भए, त्यो अभिशाप हुन्छ ।


विश्वको चिनारीको रुपमा रहेको ऐतिहासिक चाँगुनारायण र नगरकोटको प्रवद्र्धन गरी नगरपालिकालाई विश्वसामु परिचित गराउने काममा अग्रसरता देखाउन सक्नुभएन भने तपाँइहरूको नेतृत्व बेकम्मा सावित हुन्छ । तपाइँ बेकम्मा बन्ने कि सफल बन्ने त्यो तपाइँकै हातमा छ । यतिमात्र होइन, नगरपालिकाहरू बद्नाम भएको भनेको त्यहाँ कार्यरत कर्मचारीहरूको घूस खाने सोचले हो ।

त्यसैले नगरपालिकालाई कसरी भ्रष्टाचारमुक्त बनाउने भन्नेतर्फ ध्यान दिनु आवश्यक छ । मेरो त मेयर, उपमेयरलाई सुझाव छ कि, हिजो जसरी छिरेको हो, त्यसरी नै बाहिरिने आँट गर्नुपर्छ । सेतो लुगा लगाएर पदमा पुगेकाहरू सेतै लुगामा फर्किनु पर्छ । नगरपालिकाभित्र मौलाएका भ्रष्टाचार कम्तीमा ३० दिनभित्र निमिट्यान्न पारेँ भन्ने खबर हामी सुन्न चाहन्छौं । त्यो भएन भने जनताले त्यसको बदला लिनेछ ।