काठमाडौं । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न जनचेतनामूलक तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रमका साथ मनाइँदैछ । यस वर्ष ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नारासहित सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको छ ।
दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा विशेष समारोह आयोजना गरेको छ । उक्त कार्यक्रममा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ । कार्यक्रममा विभिन्न सरकारी निकाय, विकास साझेदार संस्था, वातावरणविद् तथा सरोकारवालाहरूको सहभागिता रहने विभागले जनाएको छ ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौतीहरूको सामना तथा प्रकृतिमैत्री विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्ष विश्व वातावरण दिवसलाई विशेष प्राथमिकताका साथ मनाउन लागिएको हो ।
विभागले दिवसको अवसरमा देशभर वृक्षरोपण, सरसफाइ अभियान, अन्तरक्रिया, जनचेतनामूलक कार्यक्रम तथा वातावरण संरक्षणसम्बन्धी विविध गतिविधि सञ्चालन गरिने जनाएको छ ।
विश्व वातावरण दिवसले वातावरणीय संरक्षणप्रति नागरिक, समुदाय तथा सरोकारवालाबीच साझा जिम्मेवारी र सचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।










































