चाँगुनारायणमा मजदुर बोकेको ट्र्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, १० घाइते

10

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ कलामसीस्थित मञ्जुश्री गुम्बानजिक मजदुर बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार मिति २०८३ जेठ २० गते साँझ ७ः२५ बजे नगरकोटबाट जीतपुरतर्फ आउँदै गरेको ना.५ त २८४७ नम्बरको ढलान गर्ने मिक्स्चर जडित ट्याक्टर अनियन्त्रित भई सडकमा पल्टिएको थियो । दुर्घटनाका बेला ट्याक्टरमा चालकसहित १३ जना सवार रहेका थिए ।

दुर्घटनामा घाइते भएका १२ जनामध्ये दुई जनाको भक्तपुर अस्पताल दुधपाटीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सिन्धुली भिमान नगरपालिका–१० घर भई हाल काठमाडौं सिनामंगल बस्दै आएका २६ वर्षीय हेमबहादुर नेपाली रहेका छन् । उनको राति ८ः१२ बजे उपचारकै क्रममा मृत्यु भएको थियो । त्यसैगरी भोजपुरको दिम्ला नगरपालिका–२ घर भई हाल काठमाडौं सिनामंगल बस्दै आएका ३२ वर्षीय विजय राईको राति ८ः२६ बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेहरूमा काभ्रेको पाँचखाल नगरपालिका–२ घर भई हाल काठमाडौं टोखा बस्ने २८ वर्षीय राजन श्रेष्ठ, रामेछाप खाँडादेवी गाउँपालिका–२ घर भई हाल काठमाडौं जडिबुटी बस्ने ३२ वर्षीया सन्तोषी दर्लामी, सप्तरी खडक नगरपालिका–१० घर भई हाल सिनामंगल बस्ने २२ वर्षीय संजीव सरदार, सप्तरी घर भई हाल सिनामंगल बस्ने २६ वर्षीय दिलकुमार पासवान, सुनसरी इटहरी नगरपालिका–१० घर भई हाल जडिबुटी बस्ने ३५ वर्षीय किरणकुमार चौधरी रहेका छन् ।

त्यस्तै भोजपुर देवानटार गाउँपालिका–२ घर भई हाल सिनामंगल बस्ने ४५ वर्षीया सानु राई, सप्तरी राजविराज नगरपालिका–२ घर भई हाल सिनामंगल बस्ने ३२ वर्षीया रुबी ठाकुर, ओखलढुंगा सिद्धिचरण नगरपालिका–४ घर भई हाल सिनामंगल बस्ने ३० वर्षीया कविता राई, उदयपुर कटारी नगरपालिका–१ घर भई हाल सिनामंगल बस्ने २७ वर्षीय कुमार राउत तथा मकवानपुर गढी गाउँपालिका–३ घर भई हाल सिनामंगल बस्ने ३४ वर्षीया रश्मी वाइबा घाइते भएका छन् ।

प्रहरीका अनुसार ट्याक्टर चालक सर्लाही हरिवन नगरपालिका–६ घर भई हाल काठमाडौं सिनामंगल बस्ने २४ वर्षीय विरेन्द्रकुमार महत्तो सामान्य अवस्थामा रहेका छन् । उनलाई प्रहरी वृत्त जगातीको नियन्त्रणमा राखिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार ब्रेक फेल भएपछि ट्याक्टर दुर्घटनामा परेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।