महिनावारी झोला (फ्रीडम कीट ब्याग) बनाउने तालिम नेपालगन्जमा सुरु

7

नेपालगन्ज । महिलाहरूका लागि महिनावारी झोला (फ्रीडम कीट ब्याग) बनाउने तालिम नेपालगन्जमा आजदेखि सुरु भएको छ ।

सामाजिक विकास डिभिजन बाँकेको सहयोग तथा दिदीबहिनी समाज बाँकेको आयोजनामा सञ्चालन भएको तालिम नेपालगन्ज उपमहानगरपालिका–१० का किशोरी तथा महिलाहरूलाई लक्षित गरी आयोजना गरिएको हो ।

संस्थाका अनुसार सेनेटरी प्याडको विकल्पका रूपमा प्रयोग गर्न सकिने कपडाको प्याड तथा महिनावारी झोला निर्माणसम्बन्धी सीप विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।

संस्थाकी अध्यक्ष रमादेवी शाहको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका नगर कार्यपालिका सदस्य तथा वडा नं. १० की सदस्य बिना थापा मगरको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा संस्थाकी सहसचिव शोभा थापा मगरले सञ्चालन गर्नुभएको थियो भने कोषाध्यक्ष कमला वलीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि थापा मगरले सीपमूलक तालिमले महिलाहरूको क्षमता विकास तथा आत्मनिर्भरता अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ नेपालका केन्द्रीय सचिव नमस्कार शाहलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सात दिनसम्म सञ्चालन हुने तालिममा प्रशिक्षक अनिता न्यौपाने र पार्वती कडायतले सहजीकरण गर्नेछन् । तालिममा २० जना किशोरी तथा महिलाको सहभागिता रहने आयोजकले जनाएको छ ।