एजेन्सी- फ्रान्सको आर्किटेक्चर कम्पनी ‘मल्टिपोड स्टुडियो’ ले ४ दिनमै नयाँ घर निमार्ण गर्न थालेको छ। केवल एउटा स्क्रुडाइभर प्रयोग गरेको भरमा यो घर फिट गर्न सकिन्छ।
सन् २०१४ मै ‘पपअप हाउस’ को डिजाईन यस कम्पनीले सार्वजनिक गरेको थियो। ‘पपअप हाउस’ प्रोटोटाइप १ हजार ६ सय १४ स्क्वायर फूटको संरचना हो। यसमा लिभिङ रुम, किचेन, डाइनिङ एरिया र बरन्डा जोडिएको हुन्छ। दुई वाथरुम, एक अफिस, मास्टर बेडरुम र अन्य दुई साना बेडरुम समेत हुन्छ। पुराना घरभन्दा फरक नदेखिए पनि यसको निमार्ण समय भने आश्चर्य लाग्दो छ।
४ दिनमै एउटा ‘इलेक्ट्रिक स्क्रुड्राइभर’ को भरमा घर तयार हुन्छ। प्रतिस्क्वायर मिटर बराबर १ हजार २ सयदेखी १९ सय अमेरिकी डलर तिरेपछि कम्पनीले जुनसुकै ठाउँमा पनि घर फिट गरिदिने बताएको छ।
‘यो घरको विशेषता भनेकै जस्तोसुकै जग्गामा पनि यसको निमार्ण गर्न सकिने हो,’ मल्टिपोड स्टुडियोले जनाएको छ। कम्पनीले हाल फ्रान्समा मात्र यस्तो घरको निमार्ण गरेको छ। तर कम्पनीले छिट्टै अमेरिका र बेलायतमा पनि यस किसिमको घर बनाउने योजना रहेको बताएको छ। सस्तोमा बनाउन सकिने यस्तो घर वातावरणमैत्री तथा दिगो हुने कम्पनीको दावी छ।