काठमाडौं । उत्तर कोरियाले आफ्नो ब्यालेस्टिक मिसाइलमा लगाउन उपयुक्त हुने अति उन्नत परमाणु बम विकसित गरेको जनाएको छ । बीबीसीका अनुसार उत्तर कोरियाको सरकारी समाचार संस्थाले राष्ट्रका सर्वोच्च नेता किम जोङ उनले उक्त बमको निरीक्षण गर्दै गरेको तस्बिर सार्वजनिक गरेको छ । एजेन्सीका अनुसार उक्त बम हाइड्रोजन बम हो ।
तर बीबीसीले उत्तर कोरियाको उक्त दाबीको स्वतन्त्र पुष्टि भने हुन नसकेको जनाएको छ । उत्तर कोरियाको सरकारी सञ्चार संस्था केसीएनएले सर्वोच्च नेता किम जोङ उनले परमाणु हतियारसम्बन्धी निकायका वैज्ञानिकहरूसँग भेटघाट गरेको र हतियारहरूको विकासमा भएको प्रगतिबारे जिज्ञासा राखेको समाचार प्रसारण गरेको थियो ।
उक्त समाचारमा उत्तर कोरियाको परमाणु इन्स्टिच्युटले हालै अधिक उन्नत परमाणु बम बनाएको विवरण दिएको थियो । समाचारमा भनिएको थियो, ‘‘किम जोन उनले सो बमलाई अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलमाथि जडान गर्न लागिएको कुराको निरीक्षण गरे । यो एउटा बहुउद्देश्यीय थर्मोन्युक्लियर परमाणु बम हो, जुन महान् विनाशक शक्तिले सम्पन्न छ र जसलाई आकाशमै विस्फोटन गर्न सकिन्छ ।’’
उक्त रिपोर्टसँगै किम जोङ उनले उक्त बमको निरीक्षण गरिरहेको तस्बिर पनि प्रसारित थियो ।