अल्ट्रासाउन्डको अँध्यारो पक्ष,लोभी चिकित्सकको आर्थिक स्वार्थले गर्भमा छोरा नै भए पनि छोरी छ भनेर गर्भपतन गराउने

966

डा. सुमनराज ताम्राकार
स्कुले जीवनमा ‘विज्ञान वरदान हो कि अभिशाप’ भन्ने शीर्षकमा वादविवाद गरिन्थ्यो । त्यस बेलाको सानो दिमागमा लाग्थ्यो, विज्ञान कसरी अभिशाप हुनसक्छ र ? तर समयक्रमसँगै विश्वयुद्धताका भएका अति भयानक ध्वंशको अवगतपछि भने सोच्न बाध्य भइयो ।
प्रसूति क्षेत्रमा काम गर्न थालेको धेरै समय भएका कारण पनि विज्ञान वरदान हो कि अभिशापको प्रसंग उठ्यो । आज अल्ट्रासाउण्डको विकाससँगै गर्भावस्थाको करिब तीन महिनाको हाराहारीमै छोराछोरी निक्र्यौल गर्न सकिने भएको छ । यसअघि पेटमा अर्थात् गर्भावस्थाको पाठेघर भित्रको पानी सियोले तानेर वा भ्रूण वरिपरिको सानो कोष निकालेर छोराछोरी हो भनेर छुट्याउनु पर्ने बाध्यता थियो । कतिपय वंशाणुगत रोग छोरा वा छोरीको लागि मात्र हुने भएकाले त्यसको परीक्षणका लागि छोराछोरी छुट्याउने गरिन्थ्यो । र, यसका लागि विशेष दखल भएको चिकित्सक चाहिन्थ्यो । त्यसबेला सियो हाल्ने विधिको जटिलताका कारण गर्भभित्र छोरा नै भए पनि कहिलेकाहीँ तुहिन सक्थ्यो ।
तर अल्ट्रासाउन्डले धेरै सजिलो बनाइदिएको छ । गर्भेशिशु र आमालाई खासै जटिलता हुँदैन । अर्कोतिर नेपालमा संक्रमित खालको अवैध गर्भपतनका कारण नेपाली महिलाहरुको अकालमा ज्यान जाने गरेकाले त्यसलाई घटाउन नेपाल सरकारले १२ हप्तासम्मको गर्भपतनलाई कानुनी मान्यता दिएको हो । तर त्यसको पनि गलत प्रयोग भइरहेको छ । अर्थात्, परिवार नियोजनको साधन अपनाउँदैनन् । सुरक्षित यौन सम्बन्ध राख्दैनन् अनि अनिच्छित गर्भ आए पनि गर्भपतन गराउँछन् । नेपाल सरकारले त्यस उद्देश्यमा सोचेको हैन ।
समयक्रमसँगै अल्ट्रासाउन्डको सुविधा जताततै पाइन थालेको छ । यस्तो परिस्थितिमा सम्बन्धित चिकित्सक वा प्राविधिकले थोरै आर्थिक लोभका कारण आफ्नो पेशागत आचारसंहिता एवं धर्म छाडेको खण्डमा अनाहकमा गर्भभित्रै छोरी शिशु (भ्रूण) को हत्या भैरहेको छ । यो एउटा क्यान्सर जस्तै, भुसको आगोजस्तै पैmलिरहेको छ । कसैको ध्यान गएको छैन । त्यसैले पनि विज्ञान अभिशाप हो कि भन्ने दुविधामा हुन्छु ।
अचेल हजारौं शिशुहरुको गर्भभित्रै हत्या भैरहेको छ । हवाई दुर्घटनामा एकाध वा बढीमा सयौँको मृत्यु हुँदा सारा विश्वको ध्यान आकृष्ट हुन्छ । तर त्योभन्दा बढी हत्या भइरहेको छ, भू्रणका रुपमा । छोराछोरी छुट्याउने अनि छोरी भएमा गर्भपतन गराउने हो भने अल्ट्रासाउन्डको विकास पनि हाम्रो लागि अभिशाप मान्नुप¥यो नि ! होइन र ?
अल्ट्रासाउन्ड गराई छोराछोरी छुट्याउने दम्पतिले बुझ्नुपर्ने कुरा के हो भने यो सय प्रतिशत नै सही हुन्छ भन्ने छैन । अनुभवी चिकित्सकले मात्र सही निक्र्यौल गर्न सक्छ । अनि जति चाँडै लिंग छुट्यायो, त्यति बढी गलत विश्लेषण हुने सम्भावना हुन्छ । यस्तो परिस्थितिमा छोराको अत्यधिक चाहना गरेका दम्पतिका गर्भे छोरा पनि गल्तीले गर्भपतन गराइरहेको हुन्छ । छोराछोरी छुट्याउने, गर्भपतन गराउने लोभी चिकित्सकको आर्थिक स्वार्थले गर्भमा छोरा नै भए पनि छोरी छ भनेर गर्भपतन गराउन बेर लाग्दैन । साधारण मानिस वा दम्पतिले थाहा पाउन सक्ने कुरा भएन । त्यसैले कानुनी तवरमा पनि छोराछोरी छुट्याउन लगाउनु अवैध हो । यस कार्यलाई निरुत्साहित पार्नु राम्रो हुन्छ । छिमेकी देश भारतका कतिपय राज्यमा यस्तै अवैध कार्यका कारण सबैले छोराको मात्र चाहना गरेर, गर्भे छोरी तुहाएर आज बुहारी पाउन हम्मेहम्मे परिरहेको अवस्था छ ।
केही समय अगाडि म मोफसलको अस्पतालमा आकस्मिक सिजेरियन अपरेसन गरिरहेको थिएँ । यो अपरेसनको क्रममा धेरैजसो कम्मरमुनि मात्र लठ्याए पुग्छ । पेट चिरेर शिशु निकालेपछि अपरेसन कोठाभित्रै बालरोग विशेषज्ञलाई स्याहारसुसार गर्न दिएँ । पुछपाछ अनि सबै कुरा स्थिर भएपछि छोराछोरी, तौल कति छ भनेर ती भर्खरै आमा बनेकी महिलालाई देखाउने भन्ने चलन छ । यसरी बालरोग विशेषज्ञले नवजात शिशुलाई देखाउने क्रममा ती महिलाले काठमाडौँको क्लिनिकमा अल्ट्रासाउण्ड गराउँदा त छोरा छ भनेको थिइन् भनेर उल्का गरिन् । हामीले बेलैमा अपरेसन गरिदियौँ, स्वस्थ शिशु जन्माउन सहयोग गर्यौँ भन्ने त कहाँ हो कहाँ, उल्टो आरोप पो बेहोर्नु प¥यो ! नेपालको चिकित्सा क्षेत्रमा यस्ता लोभी अनि आफ्नो पेशागत आचारसंहिता नमान्ने चिकित्सक धेरै छैनन् । तर यी एकाध जनाले पूरै चिकित्सा क्षेत्रलाई बदनाम गराइरहेका छन् अनि एक किसिमको पाप पनि गरिरहेका छन् । जागरुक एवं सचेत नागरिकले एक दुई क्लिनिक, अस्पतालमा ग्राहकको रुपमा यसो हल्का बुझेको खण्डमा यी चिकित्सकलाई सजिलै ठम्याउन सक्नुहुन्छ । हामी सबै मिली यस्तो कार्यलाई निरुत्साहित गर्नु राम्रो हुन्छ ।nagariknews