वाम सहमतिका खेलाडी को ? यसरी जुट्यो सहमति

475

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको सम्बन्ध विगतमा खासै राम्रो थिएन । माओवादीले सुरु गरेको सशस्त्र संघर्षको प्रखर विरोधी, शान्ति प्रक्रियामा आइसकेपछि पनि माओवादीको भूमिकाका आलोचक ओलीको सरकारमा सँगै रहँदा होस् वा बाहिरिँदा दाहालसँग सम्बन्ध कहिल्यै सुमधुर भएन । तर, एमाले अध्यक्ष ओलीले असोज १५ गते आफ्नै निवास बालकोटमा बसेको बैठकमा स्थायी कमिटी बैठकको एजेन्डा बीचैमा अन्तै मोडेर माओवादी केन्द्रसँग चुनावी तालमेलदेखि एकीकरणसम्म सँगै जाने तहमा सहमति भएको सुनाएपछि वातावरणै अर्कै बनेको थियो ।

ओलीले माओवादीसँगको एकता प्रक्रिया र तालमेल अघि बढाउन एमाले नेताहरू वामदेव गौतम, झलनाथ खनाल, माधव नेपाल, ईश्वर पोखरेल, सुवास नेम्वाङलगायतलाई वार्तामा खटाएका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा पहिलो पृष्ठमा प्रकाशित छ ।

शेखर अधिकारीले लेखेको समाचारमा भनिएको छ – स्थानीय तहको चुनावमा नै माओवादी र एमालेबीच आधाआधा तह बाँड्नेबारे कुराकानी भएको थियो तर ओलीले माओवादीलाई आधा दिन नसकिने बताएका थिए । चुनाव चलिरहँदा ओलीले गौतम र उपमहासचिव विष्णु पौडेललाई चुनावी छलफल चलाउन निर्देशन दिएका थिए । ओलीको सन्देश लिएर गौतम वैशाखको पहिलो साता नै दाहालको सम्पर्कमा पुगेका थिए । सुरुमा दाहाल यो प्रस्तावमा हच्किएपनि गौतमले यो प्रयासलाई निरन्तर कायम राखे ।

प्रदेश नम्बर दुईको चुनाव सकिएपछि गौतम फेरि उही प्रस्ताव लिएर दाहालकहाँ पुगे । दाहालले माओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई खटाए ।

सुरुमा तालमेलका लागि वार्तामा बसेकाहरुबीच नै तालमेल मात्रै होइन एकीकरणसम्मको कुरा उठेपछि यो प्रक्रिया सम्भव भएको कान्तिपुरको समाचारमा उल्लेख छ ।
आज बाह्रखरी समीक्षित सबैजसो पत्रिकामा वामपन्थी दलबीच हुन लागेको तालमेल र एकता प्रक्रिया सम्बन्धी समाचार प्रकाशित छ ।

कान्तिपुर दैनिकले ‘वाम एकता अभियानको घोषणा’ शीर्षकमा समाचार व्यानर समाचार लेखेको छ । तर सोही समाचारको बीचमा दाहालले देउवालाई भने–सत्ता गठबन्धन टुट्दैन ’ शीर्षकमा अर्को समाचार पनि प्रकाशित छ । समाचारमा दाहालले देउवालाई भेटेर चुनावसम्म यही सरकारमा सहभागी हुने जानकारी गराएका थिए ।
अन्नपूर्ण पोष्टले पनि ब्यानर समाचार शीर्षक राखेको छ – वाम राजनीतिमा नयाँ फड्को ’

त्यसैको बक्समा कांग्रेस बृहत् प्रजातान्त्रिक मोर्चाको तयारीमा शीर्षकमा अर्को समाचार प्रकाशित छ । कांग्रेसले यसका लागि गैरवामपन्थी दलहरुसँग छलफल अघि बढाएको उल्लेख छ । नयाँ पत्रिका दैनिकले सात कोलममा ‘ठूला वाम ः एक ठाम’ शीर्षक दिएर समाचार प्रकाशित गरेको छ ।

 ।

नागरिक दैनिकले चुनावमा तालमेल लगत्तै एकीकरण शीर्षक दिएर ब्यानर समाचार प्रकाशित गरेको छ । सोही समाचारको बक्समा ‘लोकतन्त्रका लागि अनीष्ट’ शीर्षकमा कांग्रेसको बैठकसम्बन्धी समाचार प्रकाशित गरिएको छ ।

आजको गोरखापत्र दैनिकले पनि ‘वाम एकताका लागि तीन दलबीच सहमति’ शीर्षकमा तस्बिरसहितको समाचार प्रकाशित गरेको छ । गोरखापत्र दैनिकले पहिलो पृष्ठमा मतदाता १ करोड ५४ लाख शीर्षकमा अर्को समाचार पनि प्रकाशित गरेको छ ।

देवनारायण भारतीय जेलमा 

आजका सबैजसो पत्रिकाले दसगजामा सीमा बचाउ अभियानका अभियन्ता देवनारायण यादवलाई भारतले विनाकारण पक्राउ गरेकोबारेमा समाचार प्रकाशित गरेका छन् । यो समाचारलाई आजको नागरिक दैनिकले दोस्रो पृष्ठमा प्रकाशित गरेको छ । उनको फाइल तस्बिरसहितको समाचार शीर्षक रहेको छ – ‘सीमारक्षा आन्दोलनका अभियन्ता देवनारायण भारतीय जेलमा’ । नयाँ पत्रिका दैनिकले पहिलो पृष्ठमै ‘देवनारायण छुट्ने अझै टुंगो छैन’ शीर्षकमा समाचार प्रकाशित गरेको छ ।

सम्पादकीय 
‘रिसइबी साध्ने नियत’ शीर्षकमा आजको कान्तिपुर दैनिकले सम्पादकीय लेख्दै भनेको छ – भारतीय प्रहरीले आइतबार पक्राउ गरेका देवनारायण र उनका छोरा अजयलाई अपहरण तथा शरीर बन्धक मुद्दामा सोमबार जेल चलान गरिएको छ । भारतीय प्रहरीले जेजस्ता आरोप÷बहानामा देवनारायण र अजयलाई पक्राउ गरे पनि गत वर्षको घटनाकै बदला लिन खोजेको देखिन्छ ।’

नयाँ पत्रिका दैनिकले ‘डम्पिङसाइटको पिरलो’ शीर्षकमा सम्पादकीय लेखेको छ । नगरपालिकाहरूले व्यवस्थित डम्पिङसाइट निर्माण गरी फोहोर संकलन तथा व्यवस्थापन गर्न नसक्दा अधिकांश नगरक्षेत्र दुर्गन्धित हुने गरेका छन ्– सम्पादकीयमा भनिएको छ ।

आजको नागरिक दैनिकले सम्पादकीय शीर्षक ‘गठबन्धनको सन्देश’ राख्दै भनेको छ– गठबन्धनका तर्फबाट मुलुकको विकासको खाका सार्वजनिक गर्न सक्नुपर्छ ।’

अन्नपूर्ण पोष्टमा ‘वाम ध्रुवीकरणको सन्देश’ शीर्षकको सम्पादकीयमा भनिएको छ – यो धु्रवीकरणबाट अहिले निश्चय पनि वामपन्थी रुझान भएका नेता कार्यकर्ता उत्साहित होलान्, आम जनता र नयाँ पुस्ता उत्साहित हुन ध्रुवीकरणपछि मुलुकको समृद्धि सपनाले आकार लिनुपर्छ ।’

गोरखापत्र दैनिकमा ‘चुनावतर्फ अग्रसर राजनीति’ शीर्षकमा सम्पादकीय लेखिएको छ । बाह्रखरी