छिमेकीबाट बालिका असुरक्षित

449

काठमाडौँ । नेपालमा बलात्कृत बालिकामध्ये ४५ प्रतिशत छिमेकीबाट बलात्कार हुने गरेको एक अध्ययनले जनाएको छ । केन्द्रीय बालकल्याण समितिले २०७३ को साउनदेखि २०७४ असार मसान्तसम्मका विभिन्न सञ्चारमाध्यममा प्रकाशित बाल संरक्षणसँग सम्बन्धित घटना समावेश गरी तयार पारेको प्रतिवेदनमा ४५ प्रतिशत बालिका छिमेकीबाट बलात्कृत हुने गरेको तथ्य सार्वजनिक गरेको हो ।

समितिले एक वर्षको अवधिमा सञ्चारमाध्यममा ९६ जना बालिका बलात्कार भएका घटना सार्वजनिक भएको जनाएको छ । समितिको प्रतिवेदनमा सबैभन्दा बढी छिमेकीबाट ४५ प्रतिशत (४३ जना), चिनजानको व्यक्तिबाट २९ प्रतिशत (२८ जना), आफ्नै बुवाबाट १३ प्रतिशत (१२ जना), शिक्षकबाट सात प्रतिशत (सात जना) र घरेलु श्रमिक बालिका मालिकबाट छ प्रतिशत (छ जना) बालिका बलात्कार भएको उल्लेख गरिएको छ ।
प्रतिवेदनअनुसार ९६ बालिका बलात्कृतका घटनामा पीडकको रूपमा १२१ जना व्यक्ति प्रत्यक्ष संलग्न देखिएको छ । त्यसमा १८ वर्ष मुनिका ३४.७ प्रतिशत छन् । प्रतिवेदनमा मोबाइलमार्फत अश्लील सामग्री देखाएरसमेत बलात्कार गर्ने गरेको पाइएको छ ।
बलात्कृत हुने बालिकामा सबैभन्दा बढी १० देखि १७ वर्ष उमेरका रहेको समितिको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । एक वर्षको अवधिमा १० देखि १७ वर्षका ५५ प्रतिशत (५२ जना), ५ देखि १० वर्ष उमेरका ३३ प्रतिशत (३३ जना) तथा ५ वर्षभन्दा मुनिका १२ प्रतिशत (११ जना) बालिका बलात्कृत भएका छन् । उमेर नखुलेका छ प्रतिशत रहेको छ ।
प्रतिवेदनका अनुसार चैतदेखि साउन महिनामा बालिका बढी बलात्कृत भएको बताएको छ । चैतदेखि साउन महिना अर्थात् चार महिनामा ५० प्रतिशत (४८ जना) बालिका बलात्कार भएका छन् । मङ्सिरदेखि फागुनसम्ममा ३० प्रतिशत (२८ जना) र साउनदेखि कात्तिकमा २० प्रतिशत (२० जना) बालिका बलात्कार भएका छन् । यस अवधिमा २४ प्रतिशत (२२ जना) सामूहिक बलात्कारमा परेका छन् ।