कांग्रेसले समानुपातिक उमेदवार नदोहोर्‍याउने, बागीका प्रस्तावक र समर्थकलाई पनि टिकट नदिने

496

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय कार्य सम्पादन समितिको निर्णयहरु अनुमोदन गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बेलुकी बसेको कार्यसमिति बैठक केन्द्रीय कार्य सम्पादन समितिको निर्णयहरु अनुमोदन गरेको हो ।

‘‘आज (शुक्रबार) दुई पटक गरी बसेको बैठकले बृहत रुपमा छलफल गरेर कार्य सम्पादन समितिको निर्णय अनुमोदन गरेको छ,’’ बैठकमा सहभागि कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेयले जानकारी दिए । पार्टीका महामन्त्री शशांक कोइरालाले शुक्रबार बिहान बसेको केन्द्रीय कार्य समिति बैठकमा कार्य सम्पादन समितिको निर्णय पेश गरेका थिए ।

केन्द्रीय सदस्य पाण्डेयका अनुसार आगामी मंसिर १० र २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा अहिले समानुपातिक तर्फबाट सभासद रहेका नेताहरुलाई समानुपातिक मै नदोहोर्याउने कार्यसम्पादन समितिको निर्णय अनुमोदन भएको छ ।

बैठकले स्थानीय तहको निर्वाचनमा कुनै पनि तहमा उमेदवार बनेका नेता तथा कार्यकर्ताको नाम तल्लो तहबाट सिफारिस भएपनि खारेज गर्ने र स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध बागी उमेदवारी दिएका व्यक्ति र उनका प्रस्तावक र समर्थकलाइ उम्मेदवार नबनाउने कार्य सम्पादन समितिको निर्णय अनुमोदन गरेको छ ।

बैठकले ठूलो भूगोल भएका जिल्लाहरुमा असोज २५ गतेभित्रै उम्मेदवार टुंग्याउने निर्णय गरेको पाण्डेयले बताए । ‘‘आगामी २५ गतेभित्रै ठूलो भूगोल भएका जिल्लामा उम्मेदवारी टुंग्याउने निर्णय भएको छ’’ उनले भने, ‘‘टिकट बाँडफाँड र उमेदवारको क्राइटेरिया निर्माणका लागि संसदीय बोर्ड गठन गर्ने भन्ने निर्णय भएको छ।’’

राष्ट्रिय एकता र लोकतान्त्रिक प्रकृयालाई अवरुद्ध गर्ने गरी प्रतिपक्षी नेकपा एमालेको नेतृत्वमा बामपन्थी गठबन्धन बनेको भन्दै कांग्रेसले त्यसका विरुद्ध जुध्नका लागि लोकतान्त्रिक गठबन्धन निर्माण गर्ने प्रस्ताव पनि बैठकमा पारित भएको छ ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक वस्तुस्थितिका बारेमा समिक्षा र पार्टीले आगामी दिनमा अपनाउने रणनीतिका बारेमा छलफल भएको केन्द्रीय सदस्य अर्जुननरसिँह केसीले बताए । बैठकमा आन्तरिक रुपमा पार्टीभित्र देखिएको गुटगत विवादलाई व्यवस्थापन गरेर लैजानुपर्नेमा अधिकांश केन्द्रीय सदस्यहरु एकमत देखिएको उनले जानकारी दिए ।

केन्द्रीय कार्यसमिति बैठकमा आगामी निर्वाचनका लागि लोकतान्त्रिक दलहरुसँगको तालमेल र तालमेल निर्माणमा देखिएका चुनौतिबारे पनि छलफल भएको बताइएको छ । बैठकले संविधान कार्यान्वयनलाई निष्कर्षमा पुर्याउन सहमति, सहकार्य र मेलमिलाप नीतिमा दृढतापूर्वक अघि बढ्ने निष्कर्षसमेत निकालेको केन्द्रीय सदस्य पाण्डेयले जानकारी दिए ।

यसैबीच आशन्न निर्वाचनका लागि चुनावी तालमेल गर्न नेपाली काँग्रेस सहितका छ दलले गठन गरेको कार्यदलको बैठक बालुवाटारमा बसेको छ ।

शुक्रबार बिहान पहिलो पटक बसेको कार्यदलको बैठकले कांग्रेस नेता विमलेन्द्र निधिलाई संयोजक चयन गरेको थियो । कार्यदलको बैठकमा छ वटै दलका प्रतिनिधिहरुले आ–आफ्ना धारणाहरु राखिरहेका छन् । बैठकले शान्ति प्रक्रिया र संविधान कार्यान्वयनको काम निष्कर्षमा नपुग्दै शान्ति प्रक्रियाको एउटा मुख्य हिस्सेदार दल नेकपा माओवादी केन्द्रको पछिल्लो गतिविधिलाई लिएर चिन्ता व्यक्त गरेको कार्यदल सदस्य कांग्रेस नेता डा. मिनेन्द्र रिजालले जानकारी दिए । ‘‘माओवादी र एमालेको पछिल्लो कदमका कारण राजनीति सहज रुपमा अघि बढ्दैन् । यसले संविधान कार्यान्वयनमा कठिनाई उत्पन्न गर्छ भन्ने कार्यदलको निष्कर्ष छ,’’ उनले भने ।

गत बुधबार गठित छ दलीय कार्यदलमा काँग्रेसबाट नेताहरु विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र डा मीनेन्द्र रिजाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बुद्धिमान तामाङ, राप्रपा (प्रजातान्त्रिक) बाट विक्रम पाण्डे, संघीय समाजवादी फोरम नेपालबाट रामसहाय यादव, राष्ट्रिय जनता पार्टी नेपालबाट सर्वेन्द्रनाथ शुक्ल र नेपाल लोकतान्त्रिक फोरमबाट रामजनम चौधरी रहेका छन् । नेता चौधरी राजधानी बाहिर रहेका कारण कार्यदलको बैठकमा लोकतान्त्रिक फोरमबाट गोपाल दहितले सहभागिता जनाएका छन् ।