नेपालमा पनि बिट क्वाइनको कारोबार, कारोबारमा संलग्न गिरोह पक्राउ

632

काठमाडौं । नेपाल राष्ट्र बैंकले अवैध घोषणा गरेको बिट क्वाइन (क्रिप्टो करेन्सी)को कारोबारमा सक्रिय गिरोहलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले पक्राउ गरेको छ ।
राष्ट्र बैंकले रोक लगाएको अवैध बिट क्वाइन कारोबारीमा सक्रिय सिन्धुलीका ज्ञानप्रसाद पौडेल, अर्घाखाँचीका माधव खनाल, काठमाडौंका प्रशान्त प्रताप शाह, नुवाकोट बेलकोटकी बिन्दा ढकाल, सिन्धुपाल्चोक हेलम्बुका मिग्मार तामाङ र रुपन्देहीका मनिष कुमार गिरीलाई ब्युरोले विभिन्न मितिमा विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ परेकालाई शुत्रबार सार्वजनिक गर्दै ब्युरो प्रमुख डीआईजी पुस्कर कार्कीले भने, “क्रिप्टो करेन्सीको कारोबार अवैध मानिन्छ, अवैध भएको थाहा हुँदाहुँदै कारोबार गर्ने गिरोहलाई हामीले नियन्त्रणमा लिएका छौं, अनुसन्धान जारी छ ।” उनका अनुसार पक्राउ परेका ७ जनाले अन्य धेरै जनालाई क्वाइन बेचेको खुलेको छ, तर प्रहरीले ती व्यक्तिको बारेमा सार्जजनिक नगरी अनुसन्धान थालेको छ ।\

डिजिटल मनि भनिने बिट र क्यास क्वाइनको कारोबार गर्दा राजश्व छली मात्र हैन, बैंकको कुनै पनि प्रक्रिया नचाहिने भएकाले कालोधन लुकाउन तथा आतंककारी गतिविधिमा लगानी गर्न सहज हुने भएका कारण धेरै देशले बिट क्वाइनलाई अवधै ठान्दै आएका छन् ।

इन्टरनेटको माध्यमबाट वालेट निर्माण गरी अमेरिकी डलरको हिसाबमा पैसाको कारोबार गर्दै आएका विट क्वाइनको कारोबार हुने गरेको डीआईजी कार्कीले बताए । उनका अनुसार यो कारोबार नेपालमा सन् २०१३ देखि भित्रिएको हो । पक्राउ परेको गिरोहले नेपालमा करिब १० लाख अमेरिकी डलर बराबरको बिट क्वाइनको कारोबार गरेको देखिएको डीआईजी कार्कीले बताए ।

सन् २००९ देखि जापानबाट सुरु भएको बिट क्वाइनको कारोबार भारत, चीन, बंगलादेश, पाकिस्तान, सिरिया, आइसल्याण्डलगायत देशमा अवैध मानिने गरेको छ । यसको माध्यमबाट रकम पठाउँदा कुनै पनि स्रोत खुलाउन नपर्ने भएका कारण कालोधन लुकाउन यो विधी प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको ब्युरोका प्रवक्ता एसपी जीवन श्रेष्ठले बताए ।

यसरी कारोबार गर्दा राष्ट्र बैंकको कुनै पनि माध्यममा पस्न नपर्ने भएका कारण देशलाई राजश्व नोक्सानीसँगै कसले कति रकम कता लिने भन्ने जानकारी नहुने भएका कारण यसलाई राष्ट्र बैंकले अवैध ठानेको प्रवक्ता श्रेष्ठले जनाए । सन् २००९ को सेप्टेम्बर १० मा इन्टरनेटबाट सुरु भएको क्रिप्टो करेन्सीको १ क्वाइन बराबर ४ हजार ३९३ अमेरिकी डलर पर्छ ।

यसरी खरिद हुन्छ विट क्वाइन
पक्राउ परेका बयानका आधारमा अनुसन्धान अधिकारीले भनेअनुसार बिट क्वाइन खरिद गर्न पहिला बिट क्वाइनको कारोबार गर्ने एजेण्टलाई भेट्नुपर्छ । एजेण्टलाई भेटेर आफूले कति रकमको बिट क्वाइन किन्ने हो, अमेरिकी डलरमा रहेको रेटलाई नेपालीमा कन्भर्ट गरी रकम दिनुपर्छ । त्यसपछि एजेण्टले रकम बराबरको क्वाइनलाई इन्टरनेटमा हाल्छ । त्यसरी जम्मा भएको क्वाइनलाई बैधानिक भएको देशमा प्रयोग गर्न मिल्छ ।