चालकले अब सफारी सुट लगाउनैपर्ने ! पोशाक अनिवार्य

351

काठमाडौं । काठमाडौं उपत्यकामा स्कुल तथा सार्वजनिक सवारी चालकले अनिवार्य पोशाक लगाउनुपर्ने भएको छ । चालकलाई पेशाप्रति मर्यादित र अनुशासित बनाउन ट्राफिक प्रहरीले यस्तो प्रस्ताव गरेको हो ।

ट्राफिकको प्रस्तावमा काठमाडौं महानगरपालिका र यातायात व्यवस्था विभाग सकारात्मक देखिएका छन् । आगामी सोमबार फेरि यातायात व्यवस्था विभाग, ट्राफिक र महानगरपालिकाको संयुक्त बैठक बसेर निर्णय गर्ने तयारी गरिएको छ ।

“चालकहरुलाई आफ्नो पेशाप्रति बफादार रही मर्यादित र अनुशासित बनाउन यो नियम कार्यान्वयन गर्न लागेका हौं,” महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकारले भने ।

पहिला स्कुल त्यसपछि सार्वजनिक 

उपत्यकाका ३ वटै जिल्लाका सवारी चालकहरुमा लागु हुने यो नियम पहिलो चरणमा स्कुलका बस चालकहरुबाट सुरु गरिनेछ ।

महाशाखाका अनुसार कात्तिक मसान्तभित्र स्कुलका बस चालकहरुमा पोशाक अनिवार्य गरिने र त्यसको कार्यान्वयनलगत्तै सार्वजनिक सवारी चालकहरुमा पोशाक अनिवार्य गरिने सरकारको तयारी छ ।

पोशाकका लागि आवश्यक सम्पूर्ण प्रक्रिया साथै खर्च सम्बन्धित स्कुल वा सवारीधनी आफैले व्यहोर्नुपर्नेछ ।

कस्तो हुन्छ चालकको पोशाक ?

ट्राफिक प्रहरी महाशाखाको प्रारम्भिक छलफलले चालकको पोशाकका लागि खरानी रङको ‘सफारी सुट’ तय गरेको छ ।  अन्य पोशाकभन्दा ‘सुट’ महङ्गो हुनसक्ने केही यातायात व्यवसायीको सुझावलाई ध्यान दिँदै आउँदो सोमबार ट्राफिक प्रहरी महाशाखा प्रमुखसहित यातायात व्यवस्था विभाग र काठमाडौं महानगरपालिका प्रमुखसँग छलफल गरेर पोशाक तथा यसको रङ टुङ्गो लगाइने प्रवक्ता रञ्जितकारले बताए ।

“हाम्रो प्रारम्भिक छलफलले चालकको पोशाकका रुपमा ‘सफारी सुट’लाई अघि सारेको छ,” रञ्जितकारले भने, “ तर यो नै अन्तिम भन्ने होइन, आगामी सोमबार सरोकारवालाहरुसँगको छलफलबाट यसको टुङ्गो लगाइने छ ।”

आर्थिक रुपमा सम्पन्न र विपन्न सम्पूर्ण चालक तथा व्यवसायीले सहज रुपमा खरिद गर्न सक्ने किसिमको पोशाकलाई जोड दिइने पनि रञ्जितकारले बताए ।

स्कूलबसको मनपरीमा रोक लगाइने 

काठमाडौंका निजी स्कूलहरुले विद्यार्थी ओसार्न सार्वजनिक बस प्रयोग गरेकोप्रति महाशाखाले कडाइ गरेको छ ।

“भाडाका गाडीहरु निजी प्रयोजनका लागि सञ्चालन गर्नु कानुनविपरित भए पनि केही स्कूलले भाडाका गाडी प्रयोग गरेको पाइएको छ,” रञ्जितकाले बाह्रखरीसँग भने, “पोशाकको कार्यान्वनसँगै यस्तो गतिविधिलाई पनि रोक्नेछौं ।”

रञ्जितकारका अनुसार सबै स्कुलबसले देखिनेगरी अनिवार्य रुपमा पहेंलो रङ लगाउनुपर्ने वा ‘स्कुल बस’ लेखिएको पहेंलो प्लेट टाँस्नुपर्नेछ ।