‘दलित युवा सम्मेलन’ शुरु

367

काठमाडौं । ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलनका लागि दलित युवाको सहभागिता’ भन्ने मूल नाराका साथ दलित युवा सम्मेलन शुरु भएको छ ।

दुई दिनसम्म चल्ने सो सम्मेलनमा ‘जातीय भेदभाव उन्मूलनका लागि युवा राजनीतिज्ञको भूमिका’, ‘सामाजिक आन्दोलन र दलित अधिकार’, ‘संवैधानिक अधिकार र कानून कार्यान्वयनमा दलित युवा’ तथा ‘दलित अधिकार प्राप्तिका लागि आम सञ्चारको भूमिका’ लगायतका विषयमा छलफल गरिनेछ ।

दलित युवा एलायन्सद्वारा आयोजित उक्त सम्मेलनमा देशैभरिबाट करिब सयजना दलित युवाको सहभागीता रहेको आयोजकले जनाएको छ । सम्मेलनले काठमाडौँ घोषणापत्रसमेत जारी गर्नेछ ।

सम्मेलनको उद्घाटन गर्दै वाणिज्यमन्त्री मीन विश्वकर्माले अधिकार प्राप्तिका लागि दलित युवाहरूले संविधान कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।
दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूतको समस्या मात्रै भन्दा पनि उनीहरूको आर्थिक, सामाजिक र सांस्कृतिक समस्यालाई एकमुष्ट रूपमा समाधान खोजिनुपर्ने उल्लेख गर्दै उनले सिमित स्रोतसाधन प्रयोग गरी नेपालमै रोजगारीको सिर्जना गरी विदेशिएका युवालाई स्वदेशमै रोजगारीको व्यवस्थ गर्नेतर्फ सरकार लागिपरेको बताउए ।
नेपाल युवा परिषद्का अध्यक्ष सरोज बाँनिया, राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष कमल सुवेदी र युथ एड्भोकेशी नेपालका अध्यक्ष नरेन खतिवडा लगायतले दलित समुदायका समस्या समाधानकान लागि गैरदलितसँगै अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे ।
दलित युवा एलायन्सका अध्यक्ष चेतनारायण रसाइलीले दलित समुदायका युवाहरूको क्षमता अभिवृद्धिका लागि पनि सम्मेलनको आयोजना गरिएको बताए ।