अस्पताल भ्रमणमा करियरका विद्यार्थी

527

काठमाडौं । नाम चलेका विद्यालयमा माथिल्लो कक्षामा पढीरहेका विद्यार्थी आफैं विरामी भएमा या घरका अरु सदस्य विरामी परेमा कसरी एम्बुलेन्स बोलाउने ? ट्याक्सीमै या अरु साधनमै भए पनि विरामीलाई कसरी उपचारको लागि नजिकको अस्पतालमा पुरयाउने भन्ने ज्ञान पटक्कै छैन भन्दा फरक पर्दैन ।

त्यतिमात्रै होइन, केही गरि विरामीलाई अस्पतालमा पुरयाई हालेछन भनेपनि कता विरामी जाँच्ने, कता एक्सरे गर्ने, कता रगत, दिसा पिसाव जाँच्ने, कता विरामी भर्ना गर्ने केही थाहा हुँदैन । यस्तो अवस्थामा उनीहरु आत्तिन सक्छन ।
विरामी पर्दा जानैपर्ने अस्पतालको बारेमा विस्तृत जानकारी दिन, अस्पताल जाँदा अपनाउनु पर्ने सावधानी लगायतका विषयमा सिकाउनका लागि पहिलोपटक विद्यार्थीहरुलाई अस्पताल भ्रमण गराउनुका साथै अस्पताल भित्रका सबै विभाग र कक्षबारे जानकारी गराइएको छ ।

करियर बिल्डिङ्ग इन्टरनेशनल एकेडेमी पेप्सीकोला टाउनप्लानिङ्गका ९ कक्षाका २२ विद्यार्थीले मध्यपुर ठिमीको मेचडाँडामा रहेको नेपाल कोरिया मैत्री अस्पतालको अध्ययन भ्रमण गरेकाहुन् । स्काउट शिक्षक बलराम प्यासीको संयोजकत्वमा विद्यालयका एकेडेमिक हेड दिपेन्द्र श्रेष्ठको नेतृत्वमा ती विद्यार्थी अस्पताल भ्रमणमा गएकाथिए ।
विद्यार्थीहरुलाई अस्पतालको बारेमा त्यस अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा.दिपेन्द्रकुमार रौशनले बताएका थिए । उनले सो अस्पतालले विरामीहरुलाई दिइराखेको उपचार सेवाबारे पनि बताएका थिए । विद्यार्थीहरुले अस्पतालका सबै कक्षको अवलोकन गरेका थिए ।

मध्यपुर ठिमी नगरपालिकाद्धारा सञ्चालित सो अस्पताल ५० शैय्याको छ । नेपालमा रहेका धेरै अस्पताल र स्वास्थ्य संस्था स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेतापनि सो अस्पताल भने संघीय मामिला तथा स्थानिय विकास मन्त्रालय अन्तर्गत सञ्चालित रहेको छ । अस्पताल सञ्चालनको लागि आवश्यक पर्ने वार्षिक वजेट सो नगरपालिका मार्फत मन्त्रालयले उपलब्ध गराउँदै आएको छ ।

विशेष गरि छारेरोग अर्थात एपिलेप्सीका विरामीहरुको उपचारको लागि केन्द्रीत त्यस अस्पतालमा सबै प्रकारका रोगको उपचार गरिन्छ । साथै शल्यक्रिया गर्नुपर्ने खालका सबै रोगको शल्यक्रिया पनि गरिन्छ ।

त्यस अस्पतालमा छातीरोग, आँखा, नाक, कान, घाँटी, पेट,स्त्री तथा प्रसुती, मुटु, छारेरोग, क्षयरोग, मिर्गाैला सम्वन्धी सबै उपचार दिँदै आएको छ भने ५० जना विरामीलाई भर्ना गरेर उपचार गर्न सकिने गरि अन्तरंग विभागपनि छ ।
सो अस्पतालमा दैनिक बहिरंग विभाग अर्थात ओपिडिमा २ सय विरामी उपचारको लागिआउने गरेका छन । अस्पतालका आफ्नै एम्बुलेन्स छ भने अस्पतालले २४ सै घण्टा इमर्जेन्सी उपचार सेवा दिईराखेको छ ।