काठमाडौ ।१० मंसीरमा पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सकिएतापनि २१ मंसीरमा हुन लागेको दोस्रो चरणको निर्वाचनमा मत माग्न विभिन्न राजनैतिक दलका उम्मेदवारहरुले आआफ्नो रणनीति उपयोग गर्न छोडेका छैनन ।
जसरी हुन्छ मतदातालाई प्रभाव पारेर उनीहरुको मत आफुतिर तान्न सबै उम्मेदवारहरु तँछाडमछाड गरिरहेको पाइन्छ । कोही उम्मेदवार मतदाताको खेतको धान काट्न पुगिरेहका छन त कोही उम्मेदवार खेतमा दाँई गर्न । कोही खेत गोड्न त कोही के गर्न ।
यसैगरि काठमाडौंको २ नं निर्वाचन क्षेत्रको गाउँगाउमा गएर लोकतान्त्रिक गठवन्धनको तर्फबाट प्रतिनिधि सभाका लागि नेपाली काग्रेसका उम्मेदवार दिपकप्रसाद कुइँकेल, प्रदेश सभा क) का उम्मेदवार लोकेश ढकाल र ख) का उम्मेवार मनहरि खड्का मतदाताहरुसंगै नाच्दै मत मागिरहेको भेटिन थालेका छन् ।
कागेश्वरी मनहरा नगरपालिका र शंकरापुर नगरपालिकाअन्र्तगत पर्ने थली, डाँछी, लप्सीफेदी लगायतका ठाउँका जनता माझ उम्मेदवारहरु नाचेर मत मागेको दृष्य यतिखेर उम्मेदवारका फेसबुकवालमा देख्न सकिन्छ ।
२०७० सालमा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा जितेका नेपाली काग्रेसका नेता तथा निर्वतमान सांसद कुइकेल र नेकपा एमालेका वरिष्ठ नेता एवम् पुर्व प्रधानमन्त्री माधवकुमार नेपालबीच काठमाडौं २ मा रोचक प्रतिष्पर्धा हुन लागेकोले दुवै उम्मेदवार आफ्नो पक्षमा मत तान्न मंसीरको पहिलो हप्तादेखि नै आआफ्नो निर्वाचन क्षेत्रअन्तर्गतका मतदाताको घरदैलोमा पुगिरहेका छन् ।
काठमाडौं महानगरका ९ र ३२ वडामा ३० हजार २ सय १० तथा शंकरापुर नगरपालिकाका सबै वडाका १९ हजार ९ सय १ र कागेश्वरी मनहरा नगरपालिकाका ४ देखि ९ वडाका गरि २४ हजार ५ सय ३७ गरि ७४ हजार ७ सय ५६ मतदाता रहेका छन् ।
एकअर्कामा प्रतिष्पिर्धि रहेका वाम गठवन्धनका नेपाल र लोकतान्त्रिक गठवन्धनका कुईकेल दुवैले आआफ्नो जीत सुनिश्चित भईसकेको दावी गरेका छन् ।
तर तेस्रो प्रतिष्पर्धिको रुपमा रहेका विवेकशील साझा पार्टीका उम्मेदवार डा.सुर्यराज आचार्यले पनि स्थानीय मतदातालाई आफ्ना विचारहरु राखेका हुनाले उनले पनि आफ्नो पक्षमा मतदाता रहेको दावी गर्दै आएका छन् ।