शान्ति र सम्वृद्विका लागि नेपाली काँग्रेस : प्रकाशमान

312

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पुर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले नेपाली जनताको शान्ति सुरक्षा, आर्थिक सम्वृद्वि र मुलुकको दिगो विकासका लागि नेपाली कांग्रेस २००७ सालदेखि अनवरत लडिरहेको बताउँदै जनताले त्यसको कदर गर्दै आगामी निर्वाचनमा मत दिने बताएका छन् ।

नेपाली कांग्रेस सहितको लोकतान्त्रिक गठवन्धनद्वारा शनिबार काठमाडौं—२ अन्तर्गत पर्ने कोटेश्वरमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै नेता सिंहले मुलुकबाट राणाशासन र पञ्चायती व्यवस्थाको अन्त्य गर्न नेपाली कांग्रेसले गरेको आन्दोलन जनताले नबिर्सेको बताए ।

पछि उदाएको वामपन्थी शक्ति जनताको चाहनाविपरित साम्यवादतर्फ उन्मुख भएको उल्लेख गर्दै उनीहरुले जितेमा मुलुक अधिनायकवाद तिर उन्मुख हुने पनि दावी गरे । नेपाली कांग्रेसले वामशक्तिलाई लोकतान्त्रिक धारमा ल्याएको उल्लेख गर्दै नेता सिंहले भने ‘तर उनीहरु जनताको चाहना विपरित अहिलैदेखि नै अधिनायकवादतिर उन्मुख भईरहेका छन ।’

त्यसैले २१ मंसीरको निर्वाचनमा ‘अधिनायकवाद रोज्ने कि लोकतन्त्र रोज्ने विवेकशील जनताको हातमा छ’ सिंहले भने ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले काठमाडौं २ विगतमा लालकिल्ला भएतापनि २०७१ को उपनिर्वाचनदेखि लोकतानिन्त्रक किल्ला हुँदै गएको उल्लेख गर्दै २०४८ सालदेखि २०७० सम्म पटकपटक जितेका एमाले नेता माधन नेपालले त्यस क्षेत्रका लागि केही नगरेको आरोप लगाए । ‘उनले चाहेको भए तिनकुनेको जग्गा, एयरपोर्टको जग्गा, मनोहरा जग्गा एकिकरण , करिडोर खानेपानी लगायतका समस्या उहिलयै समाधान हुन्थे’ केन्द्रीय सदस्य पाण्डेले भने ।
चुनावी आमसभामा लोकतानित्रक गठवन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार दिपकप्रसाद कुइंकेल, प्रदेश सभाका उम्मेदवारद्वय लोकेश ढकाल र मनहरि खडका, नेतृ प्रतिमा गौतम, क्षेत्रीय सभापति सबुज बानियाँ, काठमाडौं महानगरको ९ र ३२ वडाका संयोजक तथा २ नं क्षेत्रका चुनाव प्रचारप्रसार समितिका संयोजक शिक्षित पराजुली, नेपाली काग्रेस इकाई सभापति उपेन्द्र कार्की, वडा नं ९ का इकाई सभापति भिमार्जुन आचार्य, ३२ नं इकाई सभापति सुवाश पराजुलीलगायतले बोलेका थिए ।
शुक्रबार साँझ राजधानीका विभिन्न ठाउँमा बम विष्फोटको घटनापछि महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रमुख, प्रहरी निरीक्षक राजु लामाको नेतृत्वमा रहेको प्रहरी टोलीले चुनावी आमसभामा सहभागी नेताहरुको सुरक्षा दिएको थियो ।