मतपरिणाम आइनसक्दै दलहरुले सरकार गठनका विषयमा छलफल सुरु गरेका छन् । राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त दलका नेतालाई सोझै प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्थाका कारण आयोगले राष्ट्रपतिसमक्ष अन्तिम परिणाम बुझाएलगत्तै नयाँ सरकार गठनको ढोका खुल्ने छ ।
संविधानको धारा ७६ को उपधारा १ मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने व्यवस्था छ । बहुमत प्राप्त एमालेले गर्ने भएकाले अबको सरकार एमालेको नेतृत्वमा हुने देखिन्छ ।
संविधानको धारा ७६ को उपधारा २ मा प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गर्ने व्यवस्था छ । तर त्यो धारा प्रयोग गर्न नपर्ने देखिएको छ ।
झन्डै १२ वर्ष लामो संक्रमणकाल अन्त्यपछिको पहिलो सरकार सम्भवतः संविधानको यसै प्रावधानअनुसार गठन हुनेछ । अब एमालेको नेतृत्वमा सरकार गठन हुने र एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने दावी नेताहरुले गरेका छन् । एमाले नेता खरेलले अब एमालेको नेतृत्वमा सरकार गठन हुने दावी गरे । उनले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने बताए ।








































