अनुहार नदेखाउने अमेरिकी डिजे द्वारिकाजमा सुतेपछि डेजाभुको करोड क्षति ६ जना समातिए, क्लब सञ्चालक फरार

494

काठमाडौं । अमेरिकी डिजे मार्समेलो ल्याएको भन्दै ग्राहकसँग महँगो रकम असुल्ने तर डिजे नदेखाउने राजु महर्जन र रितेस मारवाडीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महर्जन र मारवाडीले अमेरिकन डिजे मार्समेलो ल्याएर क्लबमा विशेष कार्यक्रम गर्ने भन्दै एउटा टिकटको २५ सयदेखि ५ हजारमा बेचेका थिए । तर, डिजे नआएपछि आक्रोशित ग्राहकले क्लब तोडफोड गरेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रविन्द्र धानुकका अनुसार दरबारमार्गमा रहेको क्लव डेजाभु भाडामा लिएर राजु र रितेसले अमेरिकी डिजे ल्याउने भन्दै ७ हजार टिकट बिक्री गरेका थिए । तर, अन्तिम समयमा डीजे अनाएपछि आक्रोशित ग्राहकले क्लब तोडफोड गरे ।

एक हजारभन्दा बढी नअट्ने क्लबमा ७ हजारभन्दा बढीलाई आयोजकले टिकट बेचेको प्रहरीले जनाएको छ । प्रहरीले आयोजक राजु र रितेशसहित क्लब डेजाभुका ६ जनालाई पक्राउ गरी अनुसन्धान थालेको एसएसपी धानुकले बताए ।

धानुकले भने, “१ हजार क्षमता भएको क्लबमा ७ हजारलाई टिकट बेचेको भेटियो । सुरुमा २५ सयको टिकट पछि ५ हजारसम्ममा बेचेको रहेछ । डिजे बिरामी भएको भन्दै नआएपछि महँगोमा टिकट किनेकाहरुले तोडफोड गरे ।”

क्लब डेजाभुमा आउने भनिएका डिजे मार्समेलो भने काठमाडौंको होटल द्वारिकाजमा बसेका थिए । आफू अस्वस्थ भएका कारण क्लबमा नआएको भन्दै उनले ट्वीटरबाट माफी मागेका थिए । डिजे मार्समेलोले आफ्नो अनुहार छोपेर म्युजिक बजाउने गरेकाले उनी सहभागी हुने स्थानको टिकट महँगो असुल्ने गरेको प्रहरीले बताएको छ ।

प्रहरीले क्लब डेजाभुका सञ्चालक राम गिरीको पनि खोजी गरिरहेको छ । बुधबार राति भएको घटनामा उनको मुख्य भूमिका रहेको भन्दै प्रहरीले उनलाई खोजेको हो । प्रहरीका अनुसार क्लबको एक करोड रुपैयाँबराबरको क्षति भएको छ । स्रोतका अनुसार गिरीले सञ्चालन गरेको क्लब डेजाभुमा केही प्रहरी अधिकारीको पनि लगानी छ ।