काठमाडौं । प्राय : राजधानीका हुन या राजधानी बाहिरका निजी विद्यालयले वर्षमा एकपटक प्यारेन्ट्स डे अर्थात अभिभावक दिवस मनाउँछन, अभिभावकलाई खुसी पार्दै आफुकहाँ पढेको विद्यार्थी अरु स्कुलमा नसारुन भनेर ।
तर ट्रिटन इन्टरनेशन सेकेण्डरी स्कुल सुविधानगर, तिनकुनेले भने त्यहाँ अध्ययनरत विद्यार्थीका बाजेबज्यै अर्थात हजुरबुबा, हजुरआमाको लागि छुट्टै दिवस मनाएर नयाँ परम्पराको शुरुवात गरेको छ । अभिभावकलाई खुसी पार्न भन्दा पनि विद्यार्थीलाई नयाँ संस्कार सिकाउन भनेर ।
आफुलाई जन्म दिने बाबुआमालाई जस्तै बाबुआमालाई जन्म दिने हजुरबुबा हजुरआमालाई पनि उत्तिकै आदर, सम्मान र माया गर्नुपर्छ भन्ने संस्कार विद्यार्थीलाई सिकाउन विद्यालयले पहिलोपटक यो दिवस मनाएको हो ।
‘विद्यार्थीका बाबुआमाको लागि भनेर प्यारेन्ट्स डे त प्रायः सबै स्कुलले मनाउँछन तर हामीले नयाँ परम्परा शुरु गरेका हौं’—ट्रिटन इन्टरनेशन सेकेण्डरी स्कुलकी भाइस प्रिन्सपल ममता शाहले भनीन् ‘यसलाई भविष्यमा पनि निरन्तरता दिन्छौं ।’
हजुरबुबा, हजुरआमा दिवसमा सानो कक्षाका विद्यार्थीदेखि ९ सम्मका विद्यार्थीहरुले विद्यालयमै शुभकामना कार्ड बनाएर विद्यालयमा आएका आफ्ना हजुरबुबा हजुरआमालाई उपहार दिएका थिए । उनीहरुले विभिन्न गीतमा नृत्य गरेर होस या आफैं गीत गाएर आफ्ना हजुरबुबा हजुरआमालाई खुसी पारेका थिए ।
विद्यालयले पहिलोपटक आयोजना गरेको सो कार्यक्रममा विद्यार्थीका एकसय भन्दा बढी हजुरबुबा हजुरआमा सहभागी भएका थिए भने एकसयकै हाराहारीमा बाबुआमा ।
‘बाबुआमाको लागि भने हामी आगामी फागुनमा प्यारेन्ट्स डे मनाउँदैछौं ’ भाइस प्रिन्सिपल शाहले भनीन ।
विद्यार्थीका बाबुआमा शहरमा अलग बस्ने गर्नाले केटाकेटीले आफ्ना हजुरबुबा रहजुरआमालाई भटेटन दशैं नै कुर्न पर्ने देखियो । कति केटाकेटीले त वर्षमा एकपटक पन आफ्ना हजुरबुबा हजुरआमा पनि देख्न नपाउने भएभने हामीले कम्तिमाएकपटक वद्यालयमै यो अवसर जुटाउने प्रयासगरेका हौं, विद्यालयका निर्देशक राजन सुवेदीले भने ।
ट्रिटन इन्टरनेशन सेकेण्डरी स्कुल\कलेजका अध्यक्ष विश्वनाथ प्रसाद शाहको सभापतित्वमा सञ्चालन भएको सो कार्यक्रममा त्यस क्षेत्रका समाजसेवी एवम् हजुरबुबा शशिविक्रम राणाले यस्तो दिवसमा आफु पहिलोपटक सहभागी भएकामा खुसी व्यक्त गर्दैै यस्ता कार्यक्रालाई निरन्तरता दिनुपर्ने बताए ।
कक्षा ९ का विद्यार्थीले सम्पूर्ण जिम्मेवारी लिएर सञ्चालन गरेको सो कार्यक्रममा एकिकृत उपभोक्ता संघका अध्यक्ष मदन सिवाकोटी, ट्रिटन कलेजका प्रिन्सिपल विनोद विहारी पोखरेल, विद्यालयका निर्देशक राजन सुवेदी तथा भाइस प्रिन्सिपल ममता शाहले बोलेका थिए । कार्यक्रम करीव ५ घण्टासम्म चलेको थियो ।