राष्ट्रिय ५ दलबाहेक यी ८ दलले पाए प्रदेशसभामा सिट

263

काठमाडौं– प्रदेशसभामा समानुपातिकतर्फ कुल २ सय २० सिटमध्ये ठूला दलबाहेक ५ वटा दलले १-१ सिट एउटा दलले २ सिट र २ वटा दलले ३ सिट प्राप्त गरेका छन्। नयाँ पार्टीका रुपमा उदाएको विवेकशील साझा र कमल थापा नेतृत्वको राप्रपाले प्रदेशसभामा समानुपातिकतर्फ ३-३ सिट पाएका हुन्।

विवेकशील साझाले प्रदेश ३ मा मात्र ३ सिट पाएको हो भने राप्रपाले प्रदेश १, ३ र ६ मा १-१ सिट प्राप्त गरेको हो।

यसैगरी, राष्ट्रिय जनमोर्चाले प्रदेश ४ र ५ मा १-१ सिट गरी प्रदेशसभामा २ जना सांसद पाएको छ।

कमल थापासँगै विभाजन भई अलग बनेको राप्रपा प्रजातान्त्रिकले ६ वटा प्रदेशमा कुनै पनि सिट प्राप्त गर्न सकेन। उसले ३ नम्वर प्रदेशमा मात्र १ सिट पायो।

यस्तै, प्रत्यक्षतर्फ १ सिट जितेको नेपाल मजदुर किसान पार्टीले पनि समानुपातिक तर्फ १ सिटमा पाएको छ। ३ नम्बर प्रदेशमा उसले एक सिट पाएको हो। प्रत्यक्षतर्फ प्रदेशसभामा २ सिट जितेको नयाँ शक्तिले समानुपातिक तर्फ १ सिट मात्र पाएको हो। प्रदेश ४ मा  नयाँ शक्तिले १ सिट प्राप्त गरेको हो।

कुमार लिङदेनको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेश १ मा १ सिट प्राप्त गरेको छ भने उपेन्द्र यादवसँग अलग भएका रिजवान अन्सारीको पार्टी नेपाल संघीय समाजवादी पार्टीले प्रदेश २ मा १ सिट प्राप्त गरेको छ।