‘अंगालो मार्दा विद्यालयबाट निष्कासित’

337

केरलाको सेन्ट टोमस सेन्ट्रल स्कुलमा भएको प्रतियोगितामा १५ वर्षीया किशोरीले गीत गाएपछि उनले कस्तो लाग्यो भनेर १६ वर्षीय किशोरलाई सोधेकी थिइन्।

त्यसको जवाफमा ती किशोरले उनलाई अंगालो मारेर उनको प्रस्तुति निकै राम्रो भएको भन्दै बधाइ दिएका थिए।

आफ्नो तस्वीर खिच्न नचाहेकी ती किशोरीले बीबीसीसँग बोल्दै भनिन्, “हामीले १/२ सेकेन्डका लागि मात्रै अंगालो मारेका थियौं।”

“त्यहाँ वरिपरि धेरै विद्यार्थी र शिक्षकहरु थिए र मलाई केही गल्ती भयो जस्तो महसुस पनि भएन।”

तर खबरहरुका अनुसार एकजना शिक्षकले त्यसबारे प्रधानाध्यापकलाई उजुरी गरेको बताइएको छ।

ती किशोरीको भनाईमा सबै विवाद त्यहीँबाट शुरु भयो।

त्यसको अर्को दिन जुलाई २२ तारिखमा ती दुई जना नै अनिश्चित समयका लागि विद्यालयबाट निलम्बनमा परे।

त्यसको चार महिनापछि गत नोभेम्बर २२ तारिखमा ती किशोरलाई विद्यालयबाट निष्कासित गरियो।

तर दुवैको नाम सञ्चारमाध्यममा आएका छैनन्।

विद्यालयका प्रधानाध्यापक सेबास्टियन टि जोसेफले बीबीसीसँग बोल्दै भने, “विद्यालय भनेको बालबालिका सुधार गर्ने ठाउँ पनि हो।”

“हामीले ती किशोरलाई क्षमा माग्ने मौका दिएका थियौं तर उनी र उनको बुवाआमामा कुनै पश्चाताप देखिएन।”

ती किशोरले भने आफूले तत्कालै माफी मागेको बताएका छन्।

किशोरी भने फेरि विद्यालयमा आइनन् किनभने विद्यालयको रेकर्ड अनुसार उनी त्यहाँ पुन: भर्ना हुन आएको देखिँदैन।

उनी विद्यालयमा प्रतियोगिता भएको जुन महिनामा भर्खरै दुबाईबाट आएर भर्ना भएकी थिइन्।

उनको भर्नासम्बन्धी कागजातहरु अंगालो मारेको उक्त घटना हुँदासम्म अझै अपुरो रहेको थियो।

विद्यालय

अनुशासनसम्बन्धी छानबिन गर्न समिति बन्नुअघि नै दुवै विद्यार्थीलाई उपस्थित हुन भनिएको थियो।

विद्यालयले तयार पारेको भनिएको अभियोगपत्रको मस्यौदा बीबीसीसँग छ जसमा ती दुई विद्यार्थीले आफ्ना शिक्षक र अन्य विद्यार्थीहरुको अगाडि अनैतिक, अभद्र र अनुशासनविहीन क्रियाकलाप देखाएको उल्लेख छ।

उक्त अभियोगपत्रमा यी दुई विद्यार्थीहरुको व्यक्तिगत ब्लग र इन्स्टाग्राममा पनि एकदमै अन्तरंग, अश्लील र आपत्तिजनक तस्वीर तथा संवादहरु भएको उल्लेख छ।

तर किशोरले भने त्यस्तो अभियोगलाई अस्वीकार गरेका छन्।

उनले भनेका छन्, “मेरो इन्स्टाग्राम निजी हो र मलाई फलो गर्नेले मात्रै मैले प्रेषित गरेका सामग्रीहरु हेर्नसक्छन्।”

“अभियोगपत्रमा उल्लेख भएजस्तो त्यसमा अश्लील र आपत्तिजनक केही पनि छैन।”